+
+

एमसीसीबारे डोनाल्ड लुका दुई भ्रमण : पोहोर चेतावनी, अहिले कृतज्ञता

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० असार २९ गते २१:२३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डोनाल्ड लु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२९ असार, काठमाडौं । पोहोर साउनमा नेपाल आउँदा डोनाल्ड लु अहिलेजस्ता थिएनन् । काठमाडौं ओर्लिंदा यी अमेरिकी सहायक विदेशमन्त्री आफ्नो पुरानो प्रेमकथा सुनाउँदै थिए । दार्जिलिङ हुँदै चितवन निकुञ्ज गएको, जंगल सफारी रमाएको, लगत्तै अमेरिका फर्केर बिहे गरेको सुमधुर सम्झना गरेका थिए उनले।

तर काठमाडौंबाट फर्किनेबेला चाहिँ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमससी) कम्प्याक्ट पास गर्न किन ढिलाइ भएको भनी कडिकडाउ प्रश्न सोधेर विमान चढेका थिए । अनि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्न नेपाललाई चिनियाँ दबाब परेको आफ्नै बुझाइ बनाएर उनी फर्केका थिए ।

अझ पोहोर नेपाल आउनुअघि असार ०७९ मा अमेरिकाको ड्यालसमा नेपाली समुदायसँग अन्तक्रियाका क्रममा लुले चिनियाँहरुबारे लामै मन्तव्य दिएका थिए ।

त्यस समारोहमा सहभागी एक नेपालीले अनलाइनखबरसँग बताए अनुसार लुले भनेका थिए, ‘हामीले सम्झौताभन्दा तलमाथि केही गर्दैनौं भन्दा पनि उत्तरको ठूलो छिमेकीले तपाईंको देशका राजनीतिक शक्तिहरुलाई उचाल्यो ।’

अमेरिकाको ड्यालसमा नेपाली समुदायसँगको अन्तक्रियामा लु । तस्वीर सौजन्य : नेपाली सोसाइटी अफ टेक्सस

एसपीपी अर्थात् अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल जान तयार भइरहेको थिएन । लुले नेपालका राजनीतिक शक्तिलाई चिनियाँले उचालिरहेकाले प्रतिकुलता देखिएको भन्दै चुनौती दिएका थिए । उनले भनेका थिए, ‘एमसीसी पास नभए हामी यसलाई नेपालको सार्वभौमिकतामाथि चिनियाँ हस्तक्षेप भएको अर्थमा बुझ्नेछौं ।’

०७८ को माघमा यिनै लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्दै एमसीसीमा ‘अनावश्यक र असान्दर्भिक ढिलाइ हुनुको कारण’ जान्न चाहेका थिए ।

यस्तै क्रममा लुले दोस्रोपल्ट गरेको पोहोर साउनको भ्रमण पनि तिक्ततामै सकिएको थियो । घरघरै पुगेर नेपालका नेता थर्काएको भन्दै लुको त्यसबेला कडै आलोचना पनि भयो नेपाली राजनीतिक क्षेत्रमा ।

आज शुक्रबार एक दिनका लागि नेपाल ओर्लिदै गर्दा अमेरिकाका लागि मध्य तथा दक्षिण एसिया मामिला हेर्ने मन्त्री लुले मूख्य राजनीतिक नेतृत्वलाई उसैगरी भेटेका छन् ।

यसबीचमा नेपालमा प्रधानमन्त्री बदलिएका छन्, जो यतिबेला पत्नीशोकमा छन् । लुले क्रमशः सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, अनि अन्तिममा पत्नीको निधनमा शोक व्यक्त गर्ने गरी प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

सीता दाहालको तस्वीरमा माल्यार्पण गर्दै लु । तस्वीर : प्रचण्डको सचिवालय

नेपालमा रहँदा लुले एमसीसी सम्बन्धी छुट्टै कुनै बैठकमा सहभागी भएनन् । एमसीसी वा एमसीए नेपालसँग सम्बन्धित अधिकारीलाई पनि भेटेनन् । तर, एमसीसीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विषयलाई भने सबै राजनीतिक भेटघाटमा जोड दिए ।

नेपालमा लामो विरोधका बीच संसदबाट गत साल पारित भएको एमसीसी कम्प्याक्टअन्तर्गत परियोजनाहरुको कार्यान्वयन यही अगस्त महिनाबाट सुरु गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)को तयारी छ । एमसीसीले दिने ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारले गर्ने थप १३ करोड डलर लगानीसहित करिब ८३ अर्ब रुपैयाँबराबरको यो परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सम्पन्न हुनै पर्छ ।

यसअन्तर्गत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति गरी दुईवटा परियोजना सञ्चालन हुँदै छन् । ‘यो परियोजनाले नेपालमा अति नै आवश्यक ऊर्जा पूर्वाधार निर्माण गर्छ, सडक मर्मतसम्भारको क्षमता बढाउँछ र हजारौं रोजगारी सृजना गर्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री साउदले अनलाइनखबरलाई बताएअनुसार लुसँग एमसीसी कार्यान्वयनको सेरोफेरोमा धेरैजसो कुराहरु भएका छन् । पहिले सुनिएजस्तो तिक्तता यसपल्ट कतै प्रकट नभएको उनले सुनाए । एकदमै सौहार्द वातावारणमा दुईपक्षीय हित र सहयोगका कुराहरु भएको साउदले बताए ।

‘दुई मुलुकबीचको सौहार्दतालाई भविष्यमा पनि निरन्तरता दिने, नेपालीलाई भिसामा कसरी सहज गराउन सकिन्छ भन्ने कुराहरु पनि भए, अमेरिकाको अर्थतन्त्रमा नेपाली डायस्पोराको योगदानबारे उहाँले प्रशंसा गर्नुभयो,’ साउदले भने, ‘हाम्रो भारतसँगको व्यापार घाटा घटाउन सक्ने, बंगलादेशसँग विद्युत व्यापार लाई व्यवस्थित गर्न सक्ने कुरा उठायौं । उहाँले बंगलादेशका प्रधानमन्त्रीसँग आफूले कुरा गर्दा नेपालसँग बिजुली किन्न बंगलादेश इच्छुक रहेको जवाफ पाएको सुनाउनुभयो ।’

यस्तै देउवासँग भेट्दै एमसीसीको परियोजना अब अगाडि बढ्ने ठाउँमा आइपुगेको भन्दै नेपाली नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले नेपालको राजनीतिक स्थिरता र प्रणालीको निरन्तरताका लागि शुभकामना पनि दिएका थिए ।

एमाले अध्यक्ष ओलीसँग च्यासलमा भेट्दै लुले उच्चस्तरीय नेता आएर एमसीसी परियोजनाको उद्घाटन गर्ने सुनाए । यहाँसम्म ल्याई पुर्‍याउन साथ दिएकामा ओलीलाई धन्यवाद दिए । उनले केही आफ्ना व्यक्तिगत अनुभवहरु पनि सुनाए । ‘३० वर्षअघि नेपाल आउँदा मलाई मलेरिया भएको थियो,’ लुले पुरानो भ्रमणताकाको प्रसंग ओलीलाई सुनाएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा लु । तस्वीर : केपी शर्मा ओलीको सचिवालय

ओलीले लुलाई अमेरिकी स्नेह र सहयोगका लागि धन्यवाद फर्काए । उनले निकै उतारचढाव बेहोर्दै नेपाल एमसीसी कार्यान्वयन गर्ने ठाउँमा आइपुगेकाले अब सफलतापूर्वक समयमा परियोजनाहरु पूरा होउन् भनी आग्रह गरे ।

भेटवार्तामा ओलीको साथमा रहेका एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीलाई उद्धृत गर्दै भने, ‘जुन परिस्थितिमा एमसीसी संसद्बाट पास भयो, त्यो पक्कै सजिलो थिएन । अब परियोजनाहरु समयभित्र अघि बढुन् र पूरा होउन् भन्ने हाम्रो आग्रह छ ।’

प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट्दै लुले पत्नी सीताको निधनप्रति श्रद्धान्जली तथा प्रचण्ड परिवारप्रति समवेदना साझा गरे । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भेटमा कुनै राजनीतिक तथा कूटनीतिक कुरा नभएको, बरु दुःखको बेला हार्दिकता देखाउने काम मात्रै भएको दाबी गरे ।

सबै नेताहरुसँगको भेटमा यो विषयलाई प्राथमिकता दिएकाले यो भ्रमणको उद्देश्य एमसीसी कार्यान्वयनमा राजनीतिक आश्वासन खोज्नु हो त ? भन्ने प्रश्नमा एक कुटनीतिक स्रोतले भन्यो, ‘गत वर्ष संसद्ले कम्प्याक्ट पारित गरेसँगै त्यसको कार्यान्वयनको राजनीतिक प्रतिबद्धता प्राप्त भइसकेको छ । यसलाई थप प्रतिबद्धता आवश्यक छ जस्तो लाग्दैन ।’

तर, एमसीसीले अनुदान दिएको परियोजना सहज रुपमा कार्यान्वयन होस् र निर्धारित समयमा सकियोस् भन्ने चाहना राख्नु स्वाभाविक नै रहेको उनको भनाइ छ ।

बरु अमेरिकी दूतावासले यसलाई नियमित कूटनीतिक आबद्धताका रुपमा परिभाषित गरेको छ । दक्षिण एसिया भ्रमणमा रहेका लुले नेपाल आउनुअघि भारत तथा बंगलादेशसमेत गएका थिए । दक्षिण एसियाको नियमित कुटनीतिक आबद्धताका सिलसिलामा उनले नेपालको भ्रमण गरेको अमेरिकी दूतावासका प्रवक्ताले शुक्रबार जारी गरेको प्रेस नोटमा उल्लेख छ । यस्ता उच्चस्तरीय कुटनीतिक भ्रमणहरुले नेपाल र अमेरिकाको साझेदारीलाई बलियो बनाउने पनि दूतावासले उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी पनि नेपालमा यस किसिमका उच्चस्तरीय भ्रमण भइरहनु मुलुकका लागि लाभदायी भएको बताउँछन् । ‘आफ्नो दक्षिण एसियाको भ्रमणका क्रममा लु केही समयका लागि भए पनि नेपाल आउनुभयो, यहाँ राजनीतिक भेटघाटहरु गर्नुभयो,’ उनले भने, ‘यसले अमेरिकाले नेपाललाई महत्व दिइरहेको सन्देश दिएको छ, विश्वमा हाम्रो मुलुकको पहिचान वृद्धिका लागि पनि यस्तो भ्रमणले योगदान गर्छ ।’

सहायक विदेशमन्त्री लुले एमसीसीका अतिरिक्त समिट फर डेमोक्रेसीमा नेपालले गरेका प्रतिबद्धताको प्रगति तथा पछिल्ला दिनमा नेपालले मानव अधिकार संरक्षणलाई दिएको बढावाका विषयमा पनि छलफल गरेका अमेरिकी दूतावासका प्रवक्ताले उल्लेख गरेका छन् । लु आफू र अमेरिकाको बारेमा नरम छवि कायमै राख्न र अगस्टबाट सुरु हुने एमसीसी परियोजना निर्वाध अघि बढ्नेछ भन्नेमा ढुक्क हुनका लागि काठमाडौं ओर्लेको नेपालका नेताहरुले आकलन गरेका छन् ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?