+
+

मेन्स ग्रुमिङ : टिपटप देखिन दाह्रीका थरीथरीका स्टाइल

नील डेभिड कट्‍वाल नील डेभिड कट्‍वाल
२०८० असार ३१ गते १४:४५

दाह्रीलाई आकर्षक बनाएर टिपटप देखिन कहिले ढिलो हुँदैन । यो मेन्स ग्रुमिङमा छुटाउन नहुने कुरा हो । दिनहुँ बढिरहने दाह्री र जुँगालाई ट्रिम र थोरै स्टाइल दिन सकियो भने अनुहारको स्वरूप नै बेग्लै हुन्छ । दाह्रीको विशेषता नै यस्तो छ कि कसैलाई डिजाइन दिएको दाह्री सुहाउँछ भने कसैलाई सफाचट पार्दा पनि राम्रो देखिन्छ ।

त्यसो भए कसरी दाह्रीलाई स्टाइलिस लुक दिने त ?

दाह्रीको डिजाइन धेरै बजारमा चलनचल्तीमा छन् । तर ती डिजाइनअनुसारको लुक भने अनुहारको आकारप्रकार अनुसार दिन सकिन्छ ।

वर्गाकार अनुहार भएकालाई

यदि अनुहार वर्गाकार छ भने गालाको  हड्डी नजिकै तीखो रेखाहरुले आकार दिन सकिन्छ । यसले अनुहारलाई मोटो देखाउँदैन । वर्गाकार अनुहारलाई चिउँडोमा दाह्री राखेर अन्य ठाउँमा पातलो बनाएर ट्रिम गरिन्छ । वर्गाकार अनुहारमा सबैभन्दा राम्रो मिल्ने दाह्री शैलीहरू हुन्, रोयल बियर्ड र गोठ बियर्ड ।

रोयल बियर्ड

नाम अनुसार यो दाह्रीले अनुहारको आकर्षक निखारिएर आउँछ । यसमा जुँगा पातलो बनाइन्छ र दाह्रीको लागि तल्लो ओठमुनि पातलो गरेर ट्रिम गर्दै चौडा गर्दै चिउँडोको भागलाई कभर गरिन्छ । यस्तो लुक्स हलिउड, बलिउड र नेपालका धेरै अभिनेताहरुमा पनि देख्न सकिन्छ ।

गोठ बियर्ड

गोठ बियर्डमा दाह्री एकदमै सानो बनाइन्छ । जुँगा राख्नु यसमा अप्सनल हो, राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ। चिउँडोमा भने दाह्रीले ढाकेको हुन्छ र गालाको मोडमा क्लिन सेभ गरिन्छ ।

गोलो अनुहार भएकालाई

गोलो अनुहारका लागि सही दाह्री छनोट गर्दा कहिलेकाहीं अलि गाह्रो हुन सक्छ । दाह्रीको कटाइले अनुहारलाई पातलो बनाउन र व्यक्तित्वलाई निखार्न काम गर्छ । गोलाकार अनुहार भएका पुरुषका लागि दाह्री शैलीहरू भ्यान डाइक बियर्ड, सर्ट बक्स्ड बियर्ड, बाल्बो बियर्ड र एन्कर बियर्ड हुन् ।

भ्यान डाइक

गोलो अनुहारको लागि सुहाउँदो स्टाइल हो, भ्यान डाइक दाह्री । जसमा जुँगा र चिउँडोमा दाह्री राखेर आकार दिइन्छ । यसमा गालामा रहेको सबै दाह्री सफासँग सेभ गरिन्छ ।

शर्ट बक्स

पुरुषले अत्यन्तै रुचाएको दाह्री शैलीमध्ये एक हो, शर्ट बक्स  दाह्री । यसले  सफा र व्यवस्थित लुक दिन्छ । यसमा अति छोटो आकारमा सेभ गरिन्छ। जुन गोलो अनुहारलाई सुहाउँछ ।

बाल्बो

हेर्दा काटिएको जस्तो तर क्लिन सेभ नगरी हल्का ट्रिम गरेर छोटो बनाउने स्टाइललाई बाल्बो वियर्ड भनिन्छ । यसले स्पोर्टी लुक्स दिन्छ । पुरुषका लागि यो आधुनिक दाह्री शैलीले प्रभाव पार्ने कुरामा ढुक्क हुन सकिन्छ । सल्बलाएको जुँगालाई ट्रिम गर्ने र चिउँडोमा हल्का दाह्री राखेर काटिन्छ ।

एंकर

युवकहरुको रोजाइमा पर्ने दाह्री स्टाइल हो एंकर । यसमा गालामा पूरै दाह्री क्लिन सेभमा काटिन्छ । यसले गालाको मोडाबाट राम्रोसँग आकार दिइन्छ ।

अण्डाकार अनुहार भएकालाई

अण्डाकार अनुहारमा लगभग कुनै पनि दाह्री शैली राम्रो देखिन्छ । यसमा सबैभन्दा राम्रो सुहाउने दाह्री स्टाइल हुन् शेभरोन र थ्री डे स्टबल ।

शेभरोन

यस शैलीमा जुँगाले माथिल्लो ओठलाई पूर्ण रूपमा ढाक्छ । दाह्री भने यसमा क्लिन सेभ राख्दा राम्रो देखिन्छ ।

थ्र डे स्टबल

यसमा पलाइरहेको दाह्रीलाई हल्का ट्रिम गरिन्छ । घाँटी र गालाको दाह्रीलाई काट्ने र त्यसपछि ट्रिमरले पनि सानो आकारमा ट्रिम गर्ने, ट्रिम गर्दा तीन एमएममा आकार मिलाउन काट्ने र त्यसपछि एक एमएममा ट्रिम गनुपर्छ । त्यसपछि रेगुलर आकारमा राख्न तीन दिनको बीचमा पलाएको रौंलाई ट्रिम गरिराख्नुपर्छ ।

क्लिन सेभ दाह्री

अनुहारमा हल्का रौं मात्र आउँछ भने त्यस्ता व्यक्तिलाई क्लिन सेभ दाह्रीले स्मार्ट लुक्स दिन्छ । तर  क्लिन सेभ गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।

सेभ गर्नुअघि अनुहारलाई सफा पानीले धुनुपर्छ । दाह्री नरम बनाउन रुमाललाई तातो पानीमा ३० सेकेन्डसम्म भिजाउने, त्यसपछि दाह्रीमा लगाउनुपर्छ । यसले छाला र कपाललाई मुलायम राख्छ । त्यसपछि सेभिङ क्रिम लगाउनुपर्छ ।

सेभिङ क्रिम हत्केलामा लिएर अनुहार र गर्दनमा माथिल्लो गोलाकार गतिमा ब्रसले लगाउने तर आँखामुनि भने क्रिम लगाउनु हुँदैन। त्यसपछि रेजर वा ब्लेडले दार्हीको माथिबाट कञ्चटसम्म पुर्‍याउनुपर्छ । घाँटीमा र चिउँडोमा दाह्री काट्न मुनिबाट माथिको दिशातिर लैजाने गर्नुपर्छ । यसो गर्दा रेजरले छाला काट्दैन र कपाल छुट्दा पनि छुट्दैन ।

माथिल्लो ओठ सेभ गर्दा धेरै सावधानी अपनाउनुपर्छ । किनकि थोरै लापरवाहीले ओठ काट्न सक्छ । यस्तो अवस्थामा ओठलाई अगाडिको दाँतमा फैलाएर कस्ने र त्यसपछि माथिदेखि तलसम्म दाह्री काट्न सुरु गर्नुपर्छ ।

दाह्री काटेपछि के गर्ने ?

कुनै पनि किसिमको दाह्री काटेपछि अनुहारलाई चिसो पानीले धुनुपर्छ । यसले छालालाई संक्रमण वा ब्याक्टेरियाबाट बचाउने मात्र नभई छिद्रहरू बन्द गर्न मद्दत गर्छ । दाह्री काटिसकेपछि आफ्टर सेभ क्रिम लगाउनुपर्छ । यसका लागि निभिया, डेनिम, जिलेट्सका ब्रान्डका क्रिम राम्रो मानिन्छ । दार्हीसँगै नाकमा आउने रौंलाई नोज ट्रिमरले काट्न सकिन्छ ।

(कट्‍वाल चर्चित हेयर डिजाइनर हुन् । उनका नील डेभिड सैलुनको ब्राण्डमा नेपाल र भारतमा आउटलेट सञ्चालित छन् । कट्‍वालसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?