+
+

४३ वर्षपछि हलिउडको हड्ताल, जसले  पहिचान गर्दैछ प्रशारण अर्थतन्त्रको समस्या

एजेन्सी एजेन्सी
२०८० असार ३१ गते १३:५८

हलिउडमा कसरी टिक्ने भन्ने किसिमको अस्तित्ववादी तनाव सधैं देखा पर्ने गर्छ । तर यसपटकको संकट वा तनाव अर्कै छ ।

सन् १९८० को दशक, भीसीआरको जमानामा होस् वा महामारीको समयमा फस्टाएको ओटीपी चलचित्र तथा टेलिभिजन व्यवसायीहरूले केही न केही तनाव झेलिरहेका छन् । उनीहरू समस्या पहिल्याउँछन् तर समाधानका लागि कसैसँग कुनै उपाय भने छैन ।

४३ वर्षको इतिहासमा गत शुक्रबार करिब १ लाख ६० हजार संगठित कलाकार हड्तालमा उत्रिए ।  सन् १९६० देखि हलिउडमा कुनै पनि हड्ताल भएको थिएन । हलिउडका बादशाहरुलाई दिइने तलब सुविधा र आफूले पाउने पारिश्रमिकबीचको अन्तर र स्ट्रिमिङ उद्योगबाट उचित रकम नपाइएको भन्दै उनीहरुले ११ हजार ५०० पटकथा लेखकले सुरू गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

पटकथा लेखकहरूले आफूहरूको पेशा यान्त्रिक बौद्धिकता (एआई)  का कारण संकटमा रहेको भन्दै हड्तालमा थिए । हड्तालबारे कलाकार युनियनका अध्यक्ष फ्रान डेस्चर भन्छन्- ‘मैले द न्यानीमा अभिनय गर्दासम्म थोरै काम गर्दा पनि सबैले धेरै पैसा पाउँथे । अहिले त अनिश्चयको स्थिति छ ।’

यही समयमा हलिउडको परम्परागत व्यापारको थलो बक्स अफिस र टेलिभिजन च्यानल दुबै ध्वस्त छन् । महामारीपछि यस वर्ष चलचित्र व्यवसाय फस्टाउने अपेक्षा गरिएको थियो ।

महामारीको समयमा बन्द भएका सिने तथा नाट्यघर विस्तारै जुर्मुराउने अपेक्षा राखिएको थियो । सिनेघरहरूले यसको सांस्कृतिक औचित्यको पुन: पुष्टि गर्ने अपेक्षा लिइएको थियो ।

तर चलचित्रको टिकट बिक्री दर सन् २०१९ को तुलनामा हाल २१ प्रतिशतले कमी आएको बक्स अफिसको तथ्यांक राख्ने संस्था कमस्कोरको भनाइ छ ।

अमेरिका र क्यानडामा यस वर्षको हालसम्मको स्थितिमा ४ अर्ब ९० करोड डलरको टिकट बिक्री भएको छ ।

‘स्पाइडर म्यान : अक्रस द स्पाइडर भर्स’ को टिकट पनि उत्साहजनक रूपमा विक्री नभएपछि महँगा चलचित्रका निर्माता तथा त्यसमा काम गरेका कलाकार निराश छन् । त्यसको सुचीमा पर्ने चलचित्रहरु हुन् ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’, ‘एलिमेन्टल’, ‘द फ्ल्यास’, सजाम! फ्युरी अफ गड’,  ‘द लिटल मेरमेड’ र ‘फास्ट एक्स’।

सन् २०२७ मा विश्वभर हलिउडको टिकट बिक्री ७ अर्ब २० करोड डलर पुग्ने अपेक्षा राखिएको छ । सन् २०१९ मै ७ अर्ब ९० करोडको टिकट बिक्री भएको थियो । टिकट व्यापार विस्तारै खस्किरहेको छ ।

सन् २०२७ मा केबल टेलिभिजन वा भू-उपग्रह  टेलिभिजन घरमा राखेर पैसा तिर्नेको संख्या ५ करोड मात्रै हुने प्रक्षेपण गरिएको छ । सात वर्षअघि यो संख्या १० करोड थियो । हाल यो संख्या ६ करोड ४० लाखमा खुम्चिएको छ ।

‘परम्परागत शैलीमा टेलिभिजन हेर्नेहरूको संख्या हाल निकै खस्किएको छ’, प्रशारण विश्लेषक मिचेल न्याथनसन भन्छन् ।

‘डिज्नी’, ‘एनबीसी युनिभर्सल’, ‘प्यारामाउन्ट ग्लोबल’, डिस्कभरी जस्ता च्यानलहरूले दशकदेखि नै नाफा आर्जन गर्न सकेका छैनन् । यिनीहरूको स्टक मूल्यमा अस्थिरताको परिणामले पनि त्यसको संकेत गर्छ । डिज्नीको शेयर मूल्य ५५ प्रतिशतले कमी आएको छ ।

यता एमटिभी, सिबिएस जस्ता च्यानल चलाउने प्यारामाउन्ट ग्लोबलको शेयर मूल्यमा पनि ८३ प्रतिशतले गिरावट आएको छ । बिहीबार मात्रै डिज्नीका सहायक च्यानलहरू एबीसी एफएक्सलाई बिक्री गर्ने निर्णय प्रमुख कार्यकारी रोबर्ट ए इगरले लिएका छन् ।

‘परम्परागत टिभी च्यानलको खस्कँदो बजारलाई हामीले आत्मसात गर्नैपर्छ । अर्को भाषामा भन्नुपर्दा यसको युगनै अब समाप्त भयो भन्दा हुन्छ’,  उनले भनेका छन् ।

प्रशारणको दुनिँया अहिले फेरिएको छ । अब ग्राहकहरू डिज्नी प्लस, म्याक्स, हुलु, प्यारामाउन्ट र पिककतर्फ अघि बढेका छन् । त्यसैले हलिउडका ठूला कम्पनीले पनि अनलाइन प्रसारणतर्फ लगानी बढाएका छन् । नेटफ्लिक्सले यसको बजार कब्जा गरेको थियो । विस्तारै एमेजन आयो । अहिले एप्पल पनि यसमा जोडिएको छ ।

यदि मनोरञ्जन कम्पनी प्रतिस्पर्धी हुन चाहन्छन् भने अब एकमात्रै उपाय उनीहरुसँग छ ।  मनोरञ्जन दुनियाँ पनि अब प्रविधि कम्पनीको कब्जामा पुगेको छ  । यो वास्तविकता हो यो कुनै अपमान होइन’,  एप्पल र एमेजनलाई लक्षित गर्दै मिडिया भेट्रान ब्यारी ड्रिलर भन्छन् ।

मनोरञ्जन दुनियाँ अब सबैको हिस्सा हुने भएको छ । ‘मनोरञ्जन  दुनियाँको व्यापार प्राथामिकताको नभएपनि अब सबैको हिस्सा हुँदैछ । प्रविधि कम्पनीको प्रभाव र प्रभुत्वको कारण विस्तारै उनीहरूकै कब्जामा पुग्नेछ’, ड्रिलरले भने ।

केही वर्षअघि नेटफ्लिक्सले सब्सक्राइबर खस्किएको प्रतिवेदन निकाल्यो । त्यसपछि वालस्ट्रिटको पनि यसमा मन जान थाल्यो । अहिले उसले सब्सक्राइबरको हिसाबकिताब र नाफाको मुल्यांकन राख्दैन । बक्स अफिस खस्कँदै जाँदा विस्तारै यसको बजार बढ्ने निश्चित नै छ ।

डिज्नी प्लस, प्यारामाउन्ट प्लस र म्याक्सका कम्पनी नाफामै छन् । तर उनीहरूले आफ्नो खर्च कटौती गर्दै १० औँ हजारको जागिर खारेज गरिदिए । तीनका स्टुडियोले पनि नयाँ कार्यक्रम उत्पादन गर्न छोडेका छन् ।

डिस्कभरीका अनुसार म्याक्स सन् २०२३ भित्र नाफामा जानेछ । डिज्नीले  सन् २०२४ भित्र नाफामा पुग्ने बताएको छ । प्यारामाउन्टले भने नाफा घाटाको प्रक्षेपण गरिसकेको छैन ।

हाल कलाकारहरूको युनियनले गरेको मागका कारण अनलाइन प्रशारणको नाफामा केही असर पुग्ने चिन्ता प्रकट भइरहेको छ । ‘छोटो अवधिमा केही दु:ख होला तर कलाकारका सबै माग पूरा हुने स्थितिमा अनलाइन प्रशारण उद्योगमा धेरै दुख आउनेछ’,  हेल बेरी भन्छन् ।

अहिलेको अवस्थाले विनाशकारी र लामो गतिरोध इंगित गर्छ । ४० वर्षदेखि यो उद्योगमा रहेकाहरूले हलिउडमा अनौठो र अहिलेसम्मकै उच्च आक्रोश देखापरेको बताउँछन् । गत शुक्रबार केही कलाकारहरूले अनलाइन प्रसारणको चर्को विरोध गरे । उनीहरूले आफूहरूलाई भनिए अनुसारको र सम्झौता अनुसारको तलब नदिएको भन्दै विरोध जनाए ।

‘हामीलाई सम्झौता अनुसारको सुविधा पनि नदिने अनि हाम्रो माग वास्तविक धरातलमा नरहेको भनेर पनि आलोचना गर्ने कुरा सह्य हुँदैन’, डिज्नरले भनिन् ।

आगामी साताभित्र स्टुडियोहरुले लेखक तथा कलाकारसँगका सम्झौता रद्ध गर्ने तयारी गरेका छन् । उनीहरूसँग गरिएका सम्झौता पुनर्विचार गर्ने पनि तयारी छ । केही अप्रत्यासित स्थिति देखापरेको खण्डमा क्षतिपूर्तिबिनै गरिएका सम्झौता रद्ध हुनेगरी अब सम्झौता बनाउने तयारी स्टुडियोको छ । यसले राइटर्स गिल्ड अफ अमेरिका साग-आफ्त्रा र कलाकार युनियनलाई पनि प्रभाव पार्नेछ । यसले व्यापारलाई झन् ठूलो चुनौती थप्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?