+
+

मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा आयोगले गरायो फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:५६

३१ असार, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले काम सुरु गरेको डेढ महिनामा मिटरब्याजीले हडपेको करिब ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीलाई फिर्ता गराएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार एक विज्ञप्ति जारी गरी हालसम्म साहुबाट ऋणीलाई सो जग्गा फिर्ता गराइएको बताएका हुन् । ‘विभिन्न जिल्लामा साहुहरुबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धकीलगायत जग्गा पीडित ऋणीलाई फिर्ता गराइयो’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो । त्यसपछि मेलमिलापबाट समस्या समाधानको पहल गरेको अध्यक्ष कार्कीले बताएका छन् ।

मिटरब्याजबाट पीडित भएको भनी आयोगमा हाल करिब २४ हजार उजुरी परेको छ । तीमध्ये मधेशका ८ जिल्लाका मात्र १८ हजार भन्दा धेरै उजुरी रहेका छन् । उजुरीमध्ये डेढ महिनामा एक हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको कार्कीले बताएका छन् ।

ती उजुरीमा मिटरब्याज पीडितले ८९ करोड ८० लाख १४ हजार ४७३ रुपैयाँको खास लेनदेन भएको दाबी गरेका थिए । साहुहरुले भने १ अर्ब ७१ करोड २८ लाख ८२ हजार ७९६ रुपैयाँ साँवाब्याज असुल हुनुपर्ने माग गरेका थिए । तर ऋणीले ५६ करोड ७४ लाख ४७ हजार ४७० रुपैयाँ तिर्ने गरी दुबै पक्षबीच सहमति भएको अध्यक्ष कार्कीले बताएका छन् ।

‘यसरी मिलापत्र गराउँदा साहुहरुको असुल हुन नसकेको रकम पनि असुल हुन सक्यो । केही साहुहरुले साँवा असुल हुँदा ब्याजसमेत माफी दिए । यो मिलापत्रको कामबाट साहु र आसामी दुबै पक्षको जितजितको अवस्था भयो । कुनै पक्षले पनि हार्नुपरेन । मेलमिलापबाट सामाजिक सौहाद्र्धता बढ्न गयो’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?