काठमाडौं । ‘जात्रा’ र ‘महापुरुष’जस्ता चर्चित फिल्मको निर्माता कम्पनी षट्कोण आर्ट्स यस वर्ष दुई फिल्म निर्माण गर्दैछ । ‘जात्रा’को श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् भने अर्को फिल्म ‘द्रव्यम ’लाई मनोज पण्डितले निर्देशन गर्नेछन् । कुन फिल्मको छायांकन पहिले हुनेछ भन्ने तय आगामी सातासम्म हुने निर्माता म्याक्स दीपेश खत्रीले जनाए ।
सम्भवतः पण्डितले निर्देशन गर्ने ‘द्रव्यम’को छायांकन पहिले हुन सक्छ । मानवीय संवेदनाको कथावस्तुमा बन्न लागेको यो फिल्मको शीर्ष भूमिकामा अनुप बराल हुने लगभग पक्का छ । दशैंभित्र छायांकन सक्ने गरि ‘द्रव्यम’को निर्माणको तयारी भएको जनाइएको छ ।
षट्कोणले यस वर्ष दुई फिल्म बनाउने जानकारी दिंदै निर्माता खत्रीले भने, ‘महाजात्रा र द्रव्यममध्ये कुन पहिला फ्लोरमा जान्छ भन्ने टुंगो छैन । एक सातामा यसबारे टुंगो लाग्छ ।’ कलाकारको सेड्युल नमिलेकाले महाजात्राको छायांकन दशैंपछि पनि हुन सक्ने सम्भावना रहेको खत्रीले जनाए ।
‘महाजात्रा’मा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका हुनेछ । अभिनेता झाको सेड्युल नमिलेकाले ‘महाजात्रा’को छायांकन मेसो मिलाउन सकस भइरहेको छ । ‘जुन प्रोजेक्ट अघिपछि भए पनि यस वर्ष हाम्रो ब्यानरबाट बन्ने भनेका यी दुई फिल्म हुन्,’ खत्रीले अनलाइनखबरसँग भने ।
षट्कोण आर्ट्सले निर्माण गरेको पछिल्लो फिल्म ‘डाकिनी’ हालै रिलिज भएको थियो । त्यसअघिको ‘महापुरुष’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । ब्यानरबाट बनेको जात्राका दुई अघिल्ला दुई श्रृंखलाले बक्स अफिसमा राम्रो कमाइ गरेका थिए ।
प्रतिक्रिया 4