+
+

‘ओपेनहेइमर’लाई शताब्दीकै सर्वश्रेष्ठ फिल्म भएको प्रतिक्रिया, भारतमा उच्च मूल्यमा टिकट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १२:३८

काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहेइमर’को लागि लगाइएको आधिकारिक ‘समीक्षा प्रतिबन्ध’लाई बुधबारसम्म हटाइएको छैन । तर लेखक-निर्देशक पल श्राडरले दोस्रो विश्वयुद्धको कथावस्तुबारे बोलेका केही टिप्पणीले भने विश्व फिल्म एकाएक तरंगित बनेको छ ।

ट्याक्सी ड्राइभर, रेजिङ बुल र लास्ट टेम्पटेसन अफ क्राइस्टजस्ता महान् फिल्मका पटकथा लेखक समेत रहेका श्राडरले ओपेनहाइमरबारे फेसबुकमा लेखेका छन्, ‘यस शताब्दीको सबैभन्दा राम्रो, सबैभन्दा महत्वपूर्ण फिल्म । यदि तपाईंले यो वर्ष सिनेमाघरमा एउटा मात्र फिल्म हेर्नुभयो भने त्यो ओपेनहाइमर हुनुपर्छ । म नोलानको समूहको मान्छे होइन, तर यसले ढोका खोल्छ ।’

‘ओपेनहाइमर’मा अभिनेता सिलियन मर्फीले जे रोबर्ट ओपेनहाइमरको भूमिका निर्वाह गरेका छन्, जसले दोस्रो विश्वयुद्धको दौरान परमाणु बमको निर्माणका लागि सञ्चालित म्यानहटन परियोजनाको नेतृत्व गरेका थिए । यस महिनाको सुरुमा पेरिसमा आयोजित विश्व प्रिमियरबाट सार्वजनिक भएको प्रारम्भिक प्रतिक्रिया पनि निकै सकारात्मक थिए ।

टेलिग्राफका फिल्म समालोचक रोबी कोलिन्सले ट्वीटरमा लेख्छन्, ‘ओपेनहाइमरबारे सुनेका लज्जास्पद र रहस्यमय कुराको बीचमा म फसेको छु, जसले मेरो दिमागलाई प्लुटोनियम न्युक्लियस जस्तै टुक्राटुक्रा बनाइएको छ । म फिल्मको अन्तिम क्रेडिट दृश्यमा रोइरहें । अरु के के हो सम्झना पनि छैन ।’

टोटल फिल्मका म्याट मायटमले ट्वीट गर्छन्, ‘ओपेनहाइमरले मलाई स्तब्ध बनायो । सिलियन मर्फीको उत्कृष्ट केन्द्रीय अभिनयका साथ सबैभन्दा ठूलो स्केलमा चरित्र अध्ययन । एक महाकाव्यजस्तो ऐतिहासिक नाटक, नोलनको विशिष्ट संवेदनशीलतासँगै तनाव, संरचना, मापनको भावना, चकित पार्ने ध्वनि डिजाइन र उल्लेखनीय दृश्यहरु । वाह ।’

एपीका फिल्म लेखक लिन्डसे बहरले ट्वीटरमा लेखेका छन्, ‘क्रिस्टोफर नोलनको ओपेनहाइमर वास्तवमै एक शानदार उपलब्धि हो । यसको सत्यतापूर्ण, संक्षिप्त रूपान्तरण, आविष्कारत्मक कथा कथन र सिलियन मर्फी, एमिली ब्लन्ट, रोबर्ट डाउनी जुनियर, म्याट डेमन र धेरैको प्रस्तुतिमा म आकर्षित बनें । ट्वीट वा थ्रेड जस्तो मूर्ख कुरामा यो जस्तो घना कुराको बारेमा कुरा गर्न गाह्रो छ तर ओपेनहाइमर वास्तवमा एक गम्भीर, दार्शनिक, वयस्क नाटक हो, जुन डन्कर्क जस्तै तनावपूर्ण र रोमाञ्चक छ ।’

भारतमा २ हजार ४५० भारुसम्ममा फिल्मको टिकट बिक्री

यो फिल्म विश्वभर शुक्रबारदेखि प्रदर्शन हुँदैछ । भारतमा यो फिल्मको पहिलो शोको टिकट २ हजार ४५० भारुसम्म बिक्री भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईको एक मल्टिप्लेक्समा उक्त रकमसम्म फिल्मको टिकट बिक्री भएको जनाइएको छ । तर टिकटको यो मूल्यमा कर सामेल छैन ।

रिपोर्टका अनुसार भारतमा ‘ओपेनहाइमर’का लागि अहिलेसम्म तीन लाख टिकट अग्रिम बुकिङ भइसकेको छ । कुनै पनि फिल्मको टिकट दर सहरअनुसार फरक हुन सक्छ । अहिलेसम्मको रिपोर्ट अनुसार यस फिल्मको सबैभन्दा महंगो टिकट मुम्बईको पीभीआर आइनक्स हलमा बिक्री भएको हो ।

यो हलको आईम्याक्स स्क्रिनमा बेलुका ७ बजे र राति १० बजेको शोको टिकट मूल्य २ हजार ४५० भारु तय छ । चेन्नई, बैंग्लोर, मुम्बई र दिल्लीमा पनि फिल्मको पहिलो दिनको पहिलो शोको टिकटको मूल्य १ हजार ५०० देखि २ हजार ५०० भारुसम्म छ । दर्शकले टिकट बुकिङ प्लेटफर्म बुक माइ शोमा मध्यराति १२ बजे र बिहान ४ बजेको शोका लागि टिकट बुकिङ गरेका छन् । फिल्मको टुडी शोको टिकट पनि दुई हजार रुपैयाँमा बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?