+
+

नाला अतिक्रमण गरी बनाइएका संरचनामाथि वीरगञ्ज महानगरले आज पनि चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १९:५५

३ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले मुख्य नाला अतिक्रमण गरी बनाइएका भौतिक संरचनामाथि बुधबार पनि डोजर चलाएको छ । महानगरले बुधबार साँझ क्लासिक होटल र कर्पोरेट बैंक रहेको भवनमाथि डोजर चलाएको हो ।

वीरगञ्ज शहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालनमा रहेको क्लासिक होटल मंलगबारदेखि हटाउन सुरु गरिएको र बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको महानगरले जनाएको छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन डोजर लगाइएको महानगरले जनाएको छ ।

पटक-पटक सूचना दिँदा पनि अटेर गरि अवैध रुपमा निर्माण गरिएको संरचना नहटाएकाले बाध्य भएर सार्वजनिक नालामाथिका संरचना हटाउन डोजर लगाउनु परेको मेयर राजेशमान सिंहले बताए ।

महानगरले अहिले मुख्य नाला सफाइलाई तीब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।

४० फिट चौडाइको मुख्य नालामाथि बनेको संरचनाका कारण वर्षातको पानी बग्न नसकी पूरा महानगर नै डुबानमा पर्न जाँदा ठूलो क्षति भोग्दै आउनु परेपछि महानगरले ती सबै अतिक्रमित संरचना हटाउन अभियान नै चलाएको उनले बताए हो । यसअघि मुख्य नालामा पर्ने एक दर्जन भौतिक संरचना हटाइ सकेको महानगरले जनाएको छ ।

अवैध संरचना खाली गराउन महानगरबाट गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवम् वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन भएको छ । टोलीमा नगर प्रहरीका साथै नेपाल प्रहरी, ससस्त्र प्रहरी तैनाथ रहेको छ ।

अतिक्रमित भवन हटाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै बारुण यन्त्र, एम्बुलेन्स, विद्युत लगायतको टोली समेत सँगै तैनाथ गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?