+
+

नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ मंसिर २१ गते ९:१५
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ ।

भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष तथा कन्स्ट्रक्सन एन्ड हेभी इक्विपमेन्ट कमिटी सभापति मिलनबाबु मल्लका अनुसार नेपालमा पूर्वाधार निर्माण व्यवसाय सुस्ताएपछि सरकारले निर्यातको बाटो खोलिदिएको थियो ।

‘नेपालमा प्रयोग भइसकेका हेभी इक्विपमेन्ट निर्यात गर्ने बाटो सरकारले खोलिदिएको छ,’ मल्लले भने, ‘त्यही भएर यहाँ प्रयोग भइरहेका डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेन्ट अफगानिस्तान जस्ता देशमा निर्यात भएको हो ।’

उनका अनुसार नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गर्छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालबाट अफगानिस्तानमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३११.२३ प्रतिशत धेरै वस्तु निर्यात भएको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट वस्तु निर्यात हुने देशमध्ये अफगानिस्तान १३औं स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भारत छ ।

यस वर्ष कुल ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएकोमा अफगानिस्तानमा मात्र ३३ करोड बराबर निर्यात भएको छ । गत आव यसै अवधिमा अफगानिस्तानमा १ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । यस प्रकार अफगानिस्तानमा नेपालबाट जाने सामान ३३११.२३ प्रतिशतले बढेको देखिएको छ ।

यसबाहेक यस वर्ष औषधि समेत अफगानिस्तानमा निर्यात भएको देखिन्छ । गत वर्ष यी वस्तु अफगानिस्तानमा निर्यात भएको तथ्यांकमा देखिँदैन । गत वर्ष यसै अवधिमा नेपालबाट तीन थान बोरिङ मेसिन निर्यात भएको देखिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?