+
+

शिक्षक अभावको असर : एसईईमा ३३ प्रतिशतको गणितमा ‘ई’ ग्रेड

‘सामुदायिक विद्यालयमा विषयगत शिक्षकहरु नभएकाले पनि नतिजा कमजोर आएको बुझिन्छ । गणित विषयको शिक्षक अभावले नतिजालाई प्रभाव पारेको छ ।’

नुनुता राई नुनुता राई
२०८० साउन ५ गते ८:०८
सांकेतिक फोटो

५ साउन, काठमाडौं । शिक्षक दरबन्दी अभाव र भएका दरबन्दी पनि रिक्त हुँदा विद्यार्थीको सिकाइ प्रभावित भइरहेको पालिका तथा शिक्षकहरु बताउँछन् । भर्खरै सार्वजनिक भएको एसईईको नतिजामा गणित विषयमा विद्यार्थीहरु सबैभन्दा कमजोर देखिनुको कारण विषय शिक्षक अभाव भएको सरोकारवालहरुको भनाइ छ ।

गत असार २१ गते सार्वजनिक भएको एसईईको नतिजामा १ लाख ५५ हजार ४५८ (३२.८६ प्रतिशत) परीक्षार्थीले गणितमा ई ग्रेड ल्याएका छन् । त्यसमध्ये पनि सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर देखिएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले विस्तृत रुपमा विश्लेषण गर्न बाँकी रहेपनि शिक्षक अभावका कारण पठनपाठनमा असर पुगिरहेको र गणित विषय सबैभन्दा कमजोर देखिनुमा शिक्षक अभावको कारण पनि देखिएको बताए ।

उनी भन्छन्, ‘सामुदायिक विद्यालयमा विषयगत शिक्षकहरु नभएकोले पनि नतिजा कमजोर आएको बुझिन्छ । गणित विषयको शिक्षक अभावले नतिजालाई प्रभाव पारेको छ ।’

शिक्षक सेवा आयोगले गत वर्ष मावि तहको गणित विषयमा २८९ रिक्त शिक्षक पदको लागि सञ्चालन गरेको परीक्षामा १४१ जना मात्रै उत्तीर्ण भएका थिए । यो वर्ष गणित विषय शिक्षकको २०८ रिक्त दरबन्दीका लागि असार ९ गते सञ्चालित विषयगत परीक्षाको नतिजा सार्वजनिक हुन बाँकी छ ।

परीक्षाको नतिजा शिक्षण सिकाइसँग जोडिने र शिक्षण सिकाइ कक्षा कोठामा शिक्षकको उपस्थितिसँग जोडिने बोर्ड अध्यक्ष शर्मा बताउँछन् । उनी भन्छन्, ‘नतिजा राम्रो आउनु भनेको शिक्षक सिकाइ प्रभावकारी हुनु हो । सिकाइ प्रभावकारी हुन कक्षा कोठामा विषयगत शिक्षकको उपस्थिति आवश्यक छ । तर कतिपय विद्यार्थीले विषयगत शिक्षक नपाएको भन्ने छ ।’ शिक्षक सिकाइ समयसँगै परीक्षा प्रणालीमा पनि प्रभाव पार्ने भएकाले सुधार गर्ने प्रयास गरिरहेको अध्यक्ष शर्माले बताए ।

परीक्षा प्रणाली सुधारका लागि बोर्डले यो वर्ष गणित, विज्ञान र अंग्रेजीमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको थियो । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म नदोहोरिने हुन्छ ।

गत वर्षको तुलनामा यो वर्ष नियमित पठनपाठन भएको र स्तरीकृत परीक्षा प्रणाली पनि लागू गरिएकाले नतिजामा सुधार हुने आशा गरिए पनि अपेक्षाकृत नतिजा नआएको बोर्डले जनाएको छ । ‘गत वर्षको तुलनामा यो वर्ष भौतिक कक्षा नियमित रुपमा सञ्चालन भएको थियो । मुख्य तीन विषयमा स्तरीकृत परीक्षा प्रणाली पनि लागू गरिएकाले अलि बढी आशा थियो,’ अध्यक्ष शर्माले भने, ‘तर कतिपय विद्यार्थीले शिक्षक अभावको समस्या भोगेकाले अपेक्षाकृत नतिजा नआएको बुझेका छौं ।’

त्यसैले शिक्षण सिकाइ राम्रो हुन योग्य तथा दक्ष विषय शिक्षकको व्यवस्था हुनुपर्ने, तालिम दिनुपर्ने, शिक्षण पेशामा टिकाउन प्रोत्साहन दिएर योग्य एवं दक्ष शिक्षकको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

गत बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले एसईईमा गणित, विज्ञान र अंग्रेजीमा नतिजा कमजोर भएको कारण सोधेपछि शिक्षा मन्त्री तथा सचिवले पर्याप्त विषयगत शिक्षक दिन नसक्दा त्यसको असर माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा देखिएको स्वीकार गरेका थिए ।

शिक्षक अभाव खेपिरहेका पालिका तथा विद्यालयहरु

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ढिलुङ माविले करिव ७ महिनादेखि गणित विषयको शिक्षक पाउन सकेको छैन । पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी रिउला कार्कीले लामो समयदेखि गणित विषय शिक्षक पद रिक्त रहेको बताए ।

उनको भनाइमा पालिकाले विज्ञापन गर्दा जम्मा एक जनाको निवेदन परेको थियो तर पालिकाले लिने परीक्षामा उनी फेल भए । त्यसपछि फेरि आवेदन खुलाउँदा पनि पर्ने सम्भावना नभएपछि आयोगको नतिजा नआएसम्म कसरी काम चलाउने भन्नेमा छलफल भइरहेको छ । उनले भने, ‘आयोगबाट परिपूर्ति हुन्छ कि भन्ने आशा छ । आयोगको नतिजा आएपछि निस्केर जानुपर्ने भएकाले पनि आवेदन नपरेको हाम्रो बुझाइ छ ।’

खोटाङका अन्य पालिकाका विद्यालयमा पनि विज्ञान, अंग्रेजी विषय शिक्षक अभावको समस्या रहेको शिक्षा समन्वय इकाइ प्रमुख नरबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘गणित, विज्ञान, अंग्रेजी विषय शिक्षक पाउनै मुश्किल छ । त्यसले विद्यार्थीको समग्र सिकाइमा नै प्रभाव पारिरहेको छ ।’

म्याग्दीको मंगला गाउँपालिकाको राष्ट्रिय जनजागृति माविले गणित विषय शिक्षक पद रिक्त भएपछि दशौं पटक विज्ञापन गरिसकेको छ तर अहिलेसम्म शिक्षक पाउन सकेको छैन । विद्यालयलाई सरकारले निमावि तथा मावि तहको दरबन्दी दिएको छैन । विद्यालयले अनुदान, सहयोगबाट १५ वर्षदेखि मावि तह चलाउँदै आइरहेको प्रधानाध्यापक टेकबहादुर रामजालीले बताए ।

अनुदानमा कार्यरत शिक्षक शिक्षक सेवा आयोगको परीक्षा पास भएर स्थायी भएर गएपछि विद्यालयमा गणित विषय शिक्षक रिक्त भएको हो । शिक्षक लाइसेन्स नभएकालाई शिक्षक नियुक्ति गर्न नमिल्ने र लाइसेन्स भएका जनशक्ति गाउँमा नभएकाले पटक–पटक विज्ञापन गर्दा पनि विद्यालयले शिक्षक पाउन नसकेको प्रधानाध्यापक रामजालीले बताए ।

‘कक्षा शुरु भएको चार महिना लाग्न लाग्दा पनि शिक्षक पाइएको छैन । त्यसैले पालिकासँग सहजीकरण गरिदिन भनेका छौं,’ उनी भन्छन्, ‘मूल्याङ्कन गर्नेबेला सबै दरबन्दी भएको विद्यालयसँग तुलना गर्छ सरकारले ।।’

शिक्षक नै नपाएपछि पठनपाठनमा प्रभाव परिरहेको भन्दै विद्यालयले मापदण्ड खुकुलो बनाइदिन पालिकामा अनुरोध गरेको छ । विद्यालयको माग अनुसार पालिकाले कार्यविधि बनाउन मिल्ने नमिल्नेबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग सुझाव लिने तयारी गरिरहेको पालिकाका शिक्षा शाखाका कर्मचारी डिल्लीरमण सुवेदीले वताए ।

म्याग्दीको बेनी नगरपालिकामा पनि अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभावका कारण समस्या भइरहेको पालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकाका धेरै वटा विद्यालयले विषयगत शिक्षकको अभाव झेलिरहेका छन् । पाँच वटा जति दरबन्दी रिक्त छन् ।’ आवश्यकता अनुसार विषयगत शिक्षकको दरबन्दी नै कम भएको र भएका दरबन्दी पनि रिक्त हुँदा धेरै समस्या भइरहेको उनले बताए ।

लाइसेन्स भएको जनशक्ति नै नहुँदा शिक्षक नपाइरहेको निष्कर्ष निकाल्दै पालिकाले गतवर्षदेखि छात्रवृत्ति दिँदै आएको छ । पालिकाले अंग्रेजी, गणित र विज्ञान विषय लिएर शिक्षा संकाय पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिएको पालिकाका शिक्षा अधिकृत ढकालले बताए । उनले भने, ‘पालिकाले विषयगत शिक्षक अभावको समस्या समाधान हुने अवस्था देखिएपछि जनशक्ति उत्पादन गर्नुपर्छ भनेर करिब ३२ जनालाई छात्रवृत्ति दिएका छौं ।’ छात्रवृत्तिमा पढेका विद्यार्थीले लाइसेन्स लिएपछि पालिकाको सामुदायिक शिक्षण संस्थामा काम गर्नुपर्नेछ ।

म्याग्दीकै धौलागिरि गाउँपालिकाका विद्यालयले पनि विषयगत रिक्त शिक्षक दरबन्दी तथा करार, अनुदान स्रोतका लागि विज्ञापन गर्दा आवेदन नै नपर्ने समस्या भोग्यो । त्यसपछि विषयगत शिक्षक विहीन हुन सक्ने अवस्था आएपछि पालिकाले स्थानीय कार्यविधि बनाएको छ ।

सरकारले मावि तथा निमावि चलाउन स्वीकृति दिने तर दरबन्दी नदिने भएकाले शिक्षक अभाव चरम रुपमा देखिएको सिन्धुपाल्चोक शिक्षा समन्वय इकाइ प्रमुख कृष्णप्रसाद सुवेदी बताउँछन् ।

पालिकाले पहिलो चोटी विज्ञापन गर्दा शिक्षा संकाय पढेको र लाइसेन्स भएका व्यक्तिको आवेदन नपरे दोस्रो पटकमा सम्बन्धित विषयमा अध्ययन गरेकालाई पनि छनोट गर्न सकिने गरी कार्यविधि बनाएको छ । पालिकाका शिक्षा शाखाका कर्मचारी ख्यामराज सुवेदीले भने, ‘अनिवार्य शिक्षा संकाय पढेको तथा लाइसेन्स भएको मापदण्ड राख्दा शिक्षक नै नपाउने अवस्था आएपछि यस्तो कार्यविधि बनाएका हौं ।’

अनुदानमा नियुक्ति लिएका कतिपय शिक्षकहरुले बीचमा जागिर छोड्ने भएकाले एउटै विषयको एकै वर्षमा पटक–पटक विज्ञापन गर्नुपर्ने अवस्था झेलिरहेको सुवेदीको भनाइ छ ।

इलाम नगरपालिकाको साङरुम्बा मावि र विडापाँडी माविमा चार वर्षदेखि गणित र विज्ञान शिक्षकको दरबन्दी रिक्त रहेको पालिकाकी शिक्षा अधिकृत राधिका घिमिरेले बताइन् । शिक्षक सेवा आयोगबाट पनि पूर्ति हुन नसकेपछि पालिकाले पटक–पटक विज्ञापन गर्दै आएको छ तर अहिलेसम्म पदपूर्ति हुन सकेको छैन ।

निमावि तहको गणित र विज्ञान विषय पढाउन १० महिने तालिम अथवा शिक्षा संकाय तथा विज्ञान संकाय पढेको हुनुपर्ने भएकाले करारका लागि समेत शिक्षक नपाएको उनी बताउँछिन् । घिमिरेले भनिन्, ‘पर्याप्त विषयगत शिक्षकको दरबन्दी छैन, भएकामा पनि पूर्ति हुन नसक्दा पठनपाठनमा समेत प्रभाव परेको छ ।’ पर्याप्त विषयगत शिक्षक नहुँदा एसईईमा समेत गणित, अंग्रेजी, विज्ञानको नतिजा कमजोर देखिएको उनले बताइन् ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा पनि शिक्षक अभावको कारण समस्या भइरहेको शिक्षा अधिकृत प्रकाश पौडेल बताउँछन् । उनी भन्छन्, ‘कतिपय विद्यालयमा शिक्षक दरबन्दी नै छैन । करार अथवा अनुदानमा राख्यो । कोही ६ महिनामै अन्त नाम निकालेर जान्छन् । कोही तीन महिनामा नै यहाँभन्दा राम्रो सुविधा पाएको भन्दै जान्छन्, समस्या छ ।’ करार तथा अनुदानमा शिक्षक टिकाउनै मुश्किल पर्ने उनको भनाइ छ ।

सरकारले मावि तथा निमावि चलाउन स्वीकृति दिने तर दरबन्दी नदिने भएकाले शिक्षक अभाव चरम रुपमा देखिएको सिन्धुपाल्चोक शिक्षा समन्वय इकाइ प्रमुख कृष्णप्रसाद सुवेदी बताउँछन् । तर, शिक्षक अभावको कारण सिकाइ गुणस्तर कमजोर भएको भने भन्न नमिल्ने उनको तर्क छ । उनी भन्छन्, ‘दरबन्दी नै नदिएको पक्कै हो, तर त्यसैले नतिजा कमजोर भएको भन्न मिल्दैन । किनभने निजीमा हाम्रो भन्दा थोरै शिक्षक छन्, तालिम प्राप्त नभएकाले राम्रो नतिजा ल्याउने हामी चाहिँ शिक्षक अभावले नतिजा खस्कियो भन्ने मिल्दैन ।’

सरकारले दरबन्दी नदिए पनि संघीय अनुदान, राहत अनुदान, प्रदेश अनुदान, स्थानीय अनुदान आउने भएकाले केही विद्यालयमा बाहेक शिक्षक विहीन नै हुनुपर्ने अवस्था नभएको उनको बुझाइ छ । उनी भन्छन्, ‘शिक्षक नपढेर, शिक्षकले नपढाएर नतिजा कमजोर भएको हो । विद्यालय र स्थानीय तहले भएका शिक्षकलाई काम लगाउन सक्नुपर्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?