+
+

जनार्दन र वर्षमानका फरक गुट, समान बाध्यता

पार्टीभित्र लामो समययता स्थायी प्रतिस्पर्धी बन्न पुगेका जनार्दन र वर्षमानबीच सम्बन्धको उतारचढाव देखेका प्रचण्ड मात्रै होइन, पार्टीभित्रकै ठूलो पंक्ति चिन्तित छ । अचेल प्रचण्ड त उनीहरूलाई लक्षित गर्दै असन्तोष दर्शाउन नै थालेका छन् ।

दिपेश शाही दिपेश शाही
२०८० साउन ६ गते १९:०७

६ साउन, काठमाडौं । एउटै दलका प्रभावशाली नेता हुन् जनार्दन शर्मा र वर्षमान पुन । उनीहरूबीच पोहोर १८ वैशाख २०७९ मा सिंहदरबार छेउको होटल बसेरामा भेट हुनु पार्टी पंक्तिका लागि ठूलै चर्चाको विषय बन्न पुगेको थियो ।

त्यसको चार महिनाअघि १२ माघ २०७८ मा पुन चीनबाट उपचार गरेर फर्किएपछि शर्मा उनको घरमै पुगेर गरेको भेट । त्यो भेटले पनि त्यत्तिकै चर्चा पाएको थियो ।

गत मंसिरमा चुनाव सम्पन्न भएर गठबन्धन फेरबदलका बीच सरकार निर्माण भएपछि पुन फेरि अस्वस्थ भए । त्यसपछि लामो समय चीनमा बसेर उपचार गराएका उनी नेपाल फर्किएको केही दिनमा शर्मालाई भेट्न उनको निवासमा पुगे । त्यसले पनि चर्चा नपाउने कुरै थिएन ।

एउटै पार्टीभित्र समान हैसियतका शर्मा र पुन भेट्दैमा चर्चा हुनुपर्ने त्यस्तो कुनै विशेष कारण थिएन र छैन । नेपाल यस्तो देश हो, जहाँ प्रतिद्वन्द्वी पार्टीका नेता भेट्नु पनि सामान्य मानिन्छ । उसो भए किन शर्मा र पुन एउटै दलभित्र हुँदा पनि हरेक भेट चर्चामा आउने गरेका होलान् ?

पार्टीभित्र शक्ति आर्जनका लागि चलेको प्रतिस्पर्धाका कारण लामो समयदेखि हार्दिक हुन नसकेको उनीहरूबीचको सम्बन्ध नै त्यस्तो कारण हो, जसले गर्दा उनीहरूका सामान्य भेटको पनि चर्चा हुन्छ ।

केही समययता सार्वजनिक मञ्चहरूमा बाहेक व्यक्तिगत तहमा दुई नेताको सामान्य भेटले पनि तरंग पैदा हुनुले स्पष्ट हुन्छ कि उनीहरू बीचको सम्बन्धमा चिसोपन छ ।

पार्टी महासचिवका लागि होस् कि जनवर्गीय संगठनको नेतृत्वमा आफ्नो गुटको वर्चस्व कायम गर्न, पार्टी सरकारमा सहभागी हुने सवालमा होस् कि पार्टीका आन्तरिक जिम्मेवारी प्राप्त गर्ने विषयमा उनीहरू स्थायी प्रतिस्पर्धी जस्तै हुन् ।

पछिल्लो समय उनीहरूबीचको सम्बन्धलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीको ठूलो पंक्ति निराश छ । प्रचण्डले उनीहरू बीचको सम्बन्धलाई लिएर बेलाबेलामा सार्वजनिक मञ्चमा नै असन्तुष्टि पोख्ने गरेका छन् ।

एउटा उदाहरण छ, २०७४ सालमा एमालेसँग चुनावी तालमेलपछि पार्टी एकताको घोषणा गर्ने समयको । २०६९ मा भएको पार्टी विभाजन र २०७० को चुनावमा पार्टीको पराजयले संविधानसभाबाट अपेक्षित एजेन्डा स्थापित गर्न चुकेपछि प्रचण्ड हतास मनस्थितिमा थिए ।

पार्टी विभाजन गरेर मोहन वैद्य, रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङ, नेत्रविक्रम चन्द र खड्ग विश्वकर्मा लगायत नेताहरू बाहिरिए । त्यसपछि शर्मा र पुनको उदय भयो । त्यससँगै उनीहरूबीच प्रचण्डपछि को शक्तिशाली बन्ने भनेर सुरु भएको प्रतिस्पर्धाले सबै खेलमा सामेल हुने स्थितिमा पुगे ।

अर्कोतिर पार्टी कमजोर बन्दै गएपछि प्रचण्डलाई एक्लै चुनाव जित्न सकिन्न भन्ने लाग्यो । त्यो बुझेरै उनले एमालेसँग एकताको प्रस्ताव गरेका थिए । जो उनी आफैंले पटक-पटक खुलाउने गरेका छन् ।

एमालेसँगको एकतापूर्व उनले माओवादी धारका विभिन्न एक दर्जन पार्टीसँग एकता गरेर एकीकृत माआवादी पार्टीलाई माओवादी केन्द्र बनाएका थिए । जसमा ४ हजारभन्दा बढी केन्द्रीय सदस्य बनाइएका थिए भने ३०० को आसपासमा पोलिटब्यूरो सदस्य बनाइएका थिए ।

एमालेसँगको पार्टी घोषणाको पूर्वार्द्धमा माओवादी केन्द्रले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा तिनै पोलिटब्यूरो सदस्यलाई प्रशिक्षण कार्यक्रम राखेको थियो । एमालेसँगको एकतालाई अनपेक्षित भावमा बुझिरहेका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा शर्मा र पुनको सन्दर्भ झिकेर प्रचण्डले चुनौती पेश गरेका थिए ।

‘घरको सानो आँगनमा झगडा गरेर नेता बनिंदैन । अब ठूलो मैदानमा जाँदैछौं, साथीहरू ! तपाईं केही नेताहरूको खास परीक्षा अब हुनेछ’ मञ्चमा आसीन वर्षमान र जनार्दनतर्फ हेर्दै प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टीले विभाजन, टुटफुट र आरोह-अवरोहहरू धेरै नै भोग्यो । नेता साथीहरूले चेत्नुभयो होला, अब पार्टी बनाउन लाग्नुहुन्छ होला भन्ने लागेको थियो । तर त्यसो हुन सकेन । उल्टै गुट, उपगुटहरू बन्न थाले भन्ने सुनेको छु । अब भेलमा हाम फालौं । जे पर्छ त्यहीं गएर लडौं ।’

शर्मा र पुनको गुटमा नअटेका धेरै नेता, कार्यकर्तालाई विप्लवसँगको पार्टी एकताको विषय विकल्प बन्ने आशा सिर्जना गराएको छ । अहिलेसम्म एकताको विषयमा संवाद भइरहेको भए पनि टुंगो भने लागिसकेको छैन । तर त्यसले शर्मा र पुनलाई एकैठाउँमा उभ्याइदिएको छ

उनको स्पष्टोक्ति थियो, शर्मा र पुनमा पलाएको शक्ति आकांक्षाले केही फाइदा हुन सकेन ।
राजनीतिमा नयाँ-नयाँ प्रयोग गरिरहने स्वभावका कारण प्रचण्ड आलोचित छन् । उनी आफैं पनि बारम्बार दोहोर्‍याइरहन्छन्, ‘घिसीपिटी जिन्दगी होइन, मलाई आँधीबेहरी सहितको जिन्दगी मन पर्छ । मलाई उथलपुथलपूर्ण राजनीति चाहिन्छ ।’

उनकै शब्दमा राजनीतिमा उथलपुथल खोजिरहने प्रचण्डले यसपटक नयाँ कदम चालेका छन्, ११ वर्षअघि पार्टी विभाजन गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने । त्यसका लागि उनले नेकपा सहित एकीकृत समाजवादी र जनता समाजवादीसँग समाजवादी मोर्चा समेत घोषणा गरेका छन् ।

शर्मा र पुनबीचको महासचिव बन्ने प्रतिस्पर्धाका कारण पार्टीले महाधिवेशनबाट पदाधिकारी समेत चयन गर्न सकेन । बिरामी भएर उपचार गर्न चीन गएका पुन र काठमाडौंमा रहेका शर्माबीच मिलाउने अनेक कोसिस गर्दा पनि महासचिवको विषयमा कुरा नमिलेपछि प्रचण्डले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक कुर्नु परेको थियो ।

त्यसको ६ महिनासम्म पार्टीमा पदाधिकारी चयन गर्न नसकेका प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । शर्मा र पुन अन्तिम समयमा पार्टी विभाजन गरेर पुनः फर्किएका गुरुङलाई महासचिव दिनुभन्दा एकअर्कालाई स्वीकार गरेर जाने मनस्थितिमा पुगिसकेका थिए । शर्मा र पुनले सँगै प्रचण्डलाई भेटेर जसलाई महासचिव बनाए पनि स्वीकार हुने बताएको दुवै नेताले अनलाइनखबरसँग बताए ।

तर प्रचण्डले भने अनपेक्षित ढंगबाट गुरुङलाई महासचिव बनाउँदै दुवै नेतालाई उपमहासचिवमा राखे । अहिले पार्टीभित्र आफ्नो उत्तराधिकारी खोजिरहेका प्रचण्ड शर्मा र पुनसँग भन्दा बढी विप्लवसँग नजिकिंदै छन् ।

यसले उनीहरूलाई नराम्रोसँग झस्काएको छ । माओवादी केन्द्रभित्र को शक्तिशाली बन्ने भनेर चलेको प्रतिस्पर्धामा एकाएक शान्ति छाएको छ । एकले अर्कोलाई नरोकी आफू सफल हुन नसकिने बुझाइ राखेका उनीहरू दुवैलाई अध्यक्ष प्रचण्डले ‘साइज’मा राख्दै आएका छन् । प्रचण्डको विप्लवसँग एकता गर्ने पछिल्लो राजनीतिक कदमले उनीहरूलाई शक्ति सम्बन्धमा दरार हुँदाहुँदै पनि समान स्वार्थले हार्दिकतामा पुर्‍याएको छ ।

प्रचण्डले विकल्प खोजेपछि छटपटी

एमालेसँगको एकता असफल भएपछि प्रचण्डले कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडे र सरकारको नेतृत्वमा पुगे । अधिकांश विकल्प परीक्षण गरिसकेका प्रचण्ड अब भने पुरानै फर्मूलाले काम गर्दैन भन्नेमा पुगिसकेका छन् । त्यसका लागि उनले दुईवटा विकल्पमा काम गरिरहेका छन्ः पहिलो, एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने । त्यो सम्भव नभए माओवादी धारका पार्टीसँग एकता गर्ने ।

त्यसैको प्रारम्भिक संकेत उनले समाजवादी मोर्चा गठनमा देखाएका छन् । संसदमा रहेका दलहरूसँग मोर्चाबन्दी गरेर सरकार जोगाउने अस्त्र निर्माण गर्न खोजेका उनले पार्टी एकताको योजना सहित संसद बाहिर रहेको विप्लव नेतृत्वको नेकपालाई पनि सामेल गराएका छन् । यसअघि पटक-पटक पार्टी एकताको प्रयास भइरहे पनि विप्लव र प्रचण्डले पार्टी एकताको निर्णय गर्न सकेका छैनन् ।

प्रचण्डको यो निर्णय शर्मा र पुन दुवैलाई चित्त बुझेको छैन । उसो त प्रचण्डलाई पनि उनीहरूको गतिविधि मन परिरहेको छैन ।

बरु विप्लव र प्रचण्डले एकअर्काको सार्वजनिक मञ्चबाटै खुलेर प्रशंसा गर्न थालेका छन् ।

केही समयअघि कीर्तिपुरमा सम्पन्न विद्यार्थी संगठनको क्रान्तिकारी स्ववियु काउन्सिल राष्ट्रिय भेलामा घोचपेच भएपछि त्यो सतहमा आयो ।

अघिल्लो दिन स्ववियु काउन्सिलको भेला उद्घाटन पुगेका प्रचण्डले नाम नलिइकनै शर्मा र पुनलाई लक्षित गरेर विप्लवको प्रशंसा गरे ।

‘आफूलाई रैथाने माओवादी ठान्छौं, तर पार्टी र नेतृत्वको पक्षमा कस्सिएर बोल्न डराएका छौं’ प्रचण्डले भनेका थिए, ‘तर विप्लवजीहरू नेतृत्वको पक्षमा कस्सिएर बोल्न थाल्नुभएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।’ उनले विप्लवसँगको एकताका लागि संयोजन समिति बनाएर अघि बढ्ने तयारी भइरहेको समेत बताए ।

त्यसको भोलिपल्टै उक्त कार्यक्रमलाई सम्बोधन गर्न अर्का उपमहासचिव शक्ति बस्नेतसँगै शर्मा र पुन कीर्तिपुर पुगे । जहाँ उनीहरूले आफूहरू एक रहेको सन्देश मात्रै दिएनन्, विप्लवसँगको एकताले केही नहुने भनेर प्रचण्डलाई सचेत समेत गराए ।

‘प्रचण्ड कमरेडलाई लामो समयदेखि हामीले नै साथ दिएका छौं, भोलि पनि हामीले नै साथ दिने हो’ शर्माले भनेका थिए, ‘तर हामीप्रति नै भरोसा छैन ।’

अहिले आफ्नै पार्टीका उपमहासचिवहरू शर्मा र पुन भन्दा प्रचण्डको केमेस्ट्री विप्लवसँग धेरै मिलिरहेको छ । केही समयअघि प्रज्ञा प्रतिष्ठानमा आयोजित शहीद सन्तति फाउन्डेसनको कार्यक्रममा एउटै मञ्चबाट उनीहरूले एकअर्काको प्रशंसा गरेका थिए ।

अनलाइनखबरसँगको कुराकानीमा पनि नेकपाका महासचिव विप्लवले प्रचण्ड नेतृत्वको सरकारका कामको बचाउ समेत गरेका थिए । ‘प्रचण्डले अहिले सरकारको नेतृत्व गरेर केही सकारात्मक काम गर्नुभएको छ । राम्रो गरेको कुरामा हामीले साथ दिन्छौं भनेका छौं । गणतन्त्र दिवस, शहीद दिवस, बहिर्गमित भनिएका जनमुक्ति सेनाका योद्धा र किसानको हकमा गर्न खोजेका काम राम्रा छन्’, उनको भनाइ थियो ।

तर उपमहासचिव शर्माले भने प्रचण्डप्रति परोक्ष ढंगले असन्तुष्टि पोखे । ‘हाम्रो पार्टी बहुपदीय भए पनि एकपदीय कार्यकारी छ । रूपमा बहुपदीय छ, तर सारमा एकपदीय छ’ उनले भने, ‘त्यो भनेको प्रचण्ड नै हो, उहाँले नै त्यो निर्णय गर्नुहुन्छ ।’

पार्टी एकतापश्चात् विप्लवको भूमिकाको विषयमा पनि उनले प्रचण्डकै चाहनाले काम गर्ने बताए ।

‘विप्लवलाई ल्याउँदा जे पद दिए पनि भयो । अध्यक्षले दिंदा त महासचिव दिनुहुन्छ कि अध्यक्ष दिनुहुन्छ कि के दिनुहुन्छ, त्यो उहाँको कुरा हो । उहाँले दिनुहोला । त्यसमा केही प्रश्न छैन’ शर्माको भनाइ छ, ‘प्रश्न के हो भन्दा पहिला त उहाँले परित्याग गरेर लिएको बाटो गल्ती थियो, पार्टी फुटाउनु गल्ती भयो भनेर महसुस र आत्मसमीक्षा त गर्नुपर्ला नि !’

खरो शैलीका शर्माले आफूलाई लागेको विषयमा स्पष्ट धारणा अनलाइनखबरसँग राखे । तर मिजासिलो शैलीका पुनले भने फरक ढंगले जवाफ दिए ।

‘अहिले विप्लवजीसँग एकता गरिसकेको चरण होइन । कार्यदिशामा अहिले फरक छ नि !’ पुनको भनाइ छ, ‘उहाँ संसद बाहिर हुनुहुन्छ । हामी भित्र छौं । हामी सरकारमा छौं, उहाँ बाहिर हुनुहुन्छ । हामी संविधानको रक्षा, यसको सुदृढीकरणको पक्षमा छौं । उहाँहरू संविधानको विरोधमा हुनुहुन्छ । यी कुराहरूमा छलफल गरेर ल मिल्यो भनिसकेपछि एकता हुने हो ।’

विप्लवसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महरा लामो समयदेखि निरन्तर छलफलमा छन् । सुमधुर सम्बन्ध रहेका महरा र विप्लवबीच प्रतिबन्धको समयमा समेत भेटघाट हुने गरेको थियो । प्रतिबन्ध हटेपछि पनि महराकै पहलमा विप्लव र प्रचण्डबीच कैयौं पटक भेट हुने गरेको नेताहरू बताउँछन् । अहिले महरा आफ्नो कम ब्याक खोजिरहेका छन् भने विप्लवलाई त्यसका लागि हतियार बनाउने मनस्थितिमा छन् ।

शर्मा र पुनको गुटमा नअटेका धेरै नेता, कार्यकर्तालाई विप्लवसँगको पार्टी एकताको विषय विकल्प बन्ने आशा सिर्जना गराएको छ । अहिलेसम्म एकताको विषयमा संवाद भइरहेको भए पनि टुंगो भने लागिसकेको छैन । तर त्यसले शर्मा र पुनलाई एकैठाउँमा उभ्याइदिएको छ ।

मन नमिले पनि स्वार्थ मिल्यो

आजभोलि लामो समयपछि उपमहासचिव शर्मा र पुनबीचको दूरी घटे जस्तो देखिन्छ । प्रतिनिधिसभाका सदस्य शर्मा र पुन संसदमा पनि प्रायः सँगै बस्छन् । बाहिर पनि शर्मा र पुनबीच बाक्लै भेटघाट हुन थालेको छ । उनीहरूबीच जति भेट हुन्छ, त्योभन्दा बढी उनीहरूका सचिवालयबाट प्रचार गरिन्छ ।

जस्तो कि केही समयअघि शर्मा र पुन कतै बगैंचा छेउको पेटीमा सँगै बसेर गफ गरिरहेको तस्वीर सार्वजनिक भयो । उक्त तस्बिरलाई शर्मा र पुन निकट धेरैले सामाजिक सञ्जालमा शेयर गरे । कतिले प्रशंसा गरे, कतिले आलोचना ।

प्रशंसा गर्नेले शर्मा र पुनको एकताले पार्टी पुनर्निर्माण हुने आशा व्यक्त गरे । आलोचना गर्नेले देखावटी हो कि साँच्चिकै भनेर प्रश्न गरे ।

कतिपयले त उक्त तस्बिरलाई रोचक ढंगले तुलना गरे । शर्मा र पुनबीचको सो तस्बिर सार्वजनिक हुनु केही दिनअघि मात्रै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि संसद प्रांगणमा त्यसैगरी बसेको तस्बिर सार्वजनिक भएको थियो । कांग्रेसका महामन्त्री थापा र शर्मा एकअर्काका प्रतिस्पर्धी भए पनि पार्टी सभापति शेरबहादुर देउवा विरुद्धको आन्तरिक लडाइँमा भने एकठाउँमा छन् । एकले गरेको प्रस्तावमा अर्कोले समर्थन जनाउँछन् । सँगै सार्वजनिक मञ्चहरूमा पुग्छन् र एउटै स्वरमा कांग्रेस पुनर्निर्माणको भाषण गर्छन् । सँगै उभिएर तस्बिर खिचाउँछन् अनि सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

तर माओवादी केन्द्रमा शर्मा र पुनका आ-आफ्ना गुट छन् । गुटबाट शक्ति आर्जन गर्न उनीहरू एकअर्काको चर्को आलोचनामा समेत उत्रिन्छन् । त्यसैले होला, दुवै नेताका गुटभन्दा बाहिर रहेका माओवादीका अधिकांश नेता कार्यकर्ताले उपमहासचिव शर्मा र पुनको उक्त तस्बिरलाई कांग्रेसका महामन्त्री थापा र शर्माको नक्कल गरेको भनेर टिप्पणी गरे । खुलेर गफ गर्नुलाई देखावटी भने ।

माओवादी केन्द्रका एक पोलिटब्यूरो सदस्य उनीहरूको एकतालाई लिएर अनलाइनखबरसँगको अनौपचारिक संवादमा व्यंग्य गर्दै थिए । ‘उहाँहरू मिलिरहनुहुन्छ । उहाँहरू मिलेरै त हो आज पार्टी यस्तो अवस्थामा पुगेको’ केही कार्यकर्तासँग गफिरहेका उनी भन्दैथिए, ‘आफू र आफ्नो बाहेक नदेख्ने । स्वार्थले मिलेपछि मिल्दा पनि मिले जस्तो हुँदैन । मन मिलेको छैन, मिले जस्तो देखिन खोजेका छन् । कहिलेसम्म मिल्छन् हेर्दै जाऊँ !’

जहिल्यै शक्ति संघर्ष

पछिल्लो समय सम्पन्न भएका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई वटा राष्ट्रिय सम्मेलनले पनि उनीहरूबीचको संघर्ष सतहमा आयो । २०७४ सालमा सम्पन्न संगठनको २१औं राष्ट्रिय सम्मेलनमा शर्माको गुटबाट उनका भाइ अनिल शर्मा र पुनको गुटबाट रञ्जित तामाङबीच चुनाव नै भयो

२०६९ सालमा माओवादीको विभाजनपछि शक्तिमा उदाएका यी दुई नेता त्यसपछि नै एकअर्काका प्रतिस्पर्धी बन्न थालेका हुन् । त्यसअघि २०५२ सालदेखि सुरु माओवादी युद्धका कमिसारहरू शान्ति प्रक्रिया आसपासबाट प्रचण्ड सुप्रिम कमाण्डर रहेको जनमुक्ति सेनाका डेपुटी कमाण्डर थिए । त्यो बेलामा उनीहरूबीच सधैं हार्दिक सम्बन्ध रहेको माओवादी वृत्तमा चर्चा हुन्छ ।

तर उनीहरू बीचको सम्बन्धका केही यस्ता उदाहरण छन् जसले दुई नेताबीचको शक्ति सम्बन्धलाई स्पष्ट पार्छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल भएपछि सरकारको नेतृत्व गर्ने अवसर पायो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २०६५ सालमा शर्मा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । त्यसको दुई वर्षपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पुन पनि सोही मन्त्रालयको जिम्मेवारीमा पुगे । त्यसपछिलगत्तै बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएपछि पुनले अर्थमन्त्री हुने अवसर पाए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुन मोरङबाट पराजित भए भने शर्मा रुकुमबाट विजयी भए । २०७२ सालमा संविधानसभाबाट संविधान निर्माण भयो । त्यसपछि कांग्रेससँगको गठबन्धनमा बनेको सरकारमा २०७३ सालमा प्रचण्डको पालामा शर्मा ऊर्जामन्त्री बने । उनी ऊर्जामन्त्री हुँदा कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको नेतृत्वमा ल्याएपछि लामो समयदेखि चलिरहेको लोडसेडिङको चंगुलबाट मुलुकलाई मुक्त गराउन सफल भएको भन्दै प्रशंसा बटुले ।

केही नेताहरूका अनुसार त्यो बेला प्रचण्ड सहित पार्टीका नेताहरू त्यसको श्रेय शर्मा एक्लैले लिएको भन्दै असन्तुष्ट बनेका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पालो आयो । शर्मा दोहोरिएर मन्त्री बने, त्यतिबेला भने उनी गृहमन्त्री बने ।

त्यसपछि २०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेपछि पार्टी एकता भयो । ओली नेतृत्वको सरकारमा पुन मन्त्री बने । उनले २०७५ सालमा गठन भएको सरकारको ऊर्जा मन्त्रालय नै रोजे ।

शर्मा र पुनबीच एउटाले चलाएको मन्त्रालय अर्कोले चलाउनै पर्ने अघोषित प्रतिस्पर्धा जस्तो सुरु हुन थाल्यो भन्नलाई यो एउटा महत्वपूर्ण दृष्टान्त थियो । एमालेसँगको पार्टी एकता विघटन हुनेबेलासम्म शर्माले चलाएको गृह मन्त्रालय पुनले चलाउन पाएका थिएनन् भने पुनले चलाएको अर्थ मन्त्रालय शर्माले चलाउने अवसर पाएका थिएनन् ।

यही क्रममा २०७७ सालमा सर्वोच्चको आदेशमा एमाले र माओवादी एकता भंग भयो । कांग्रेससँग माओवादी लगायत दलहरूको गठबन्धन सरकार बनेपछि मन्त्री हुने शर्माको पालो आयो । उनले आफूले चलाउन नपाएको अर्थ मन्त्रालय रोजे । उनी निकट नेताहरूका अनुसार उनी जीवनमा एकपटक जसरी पनि अर्थमन्त्री हुने भनेर त्यसको करिब डेढ वर्षदेखि तयारी गरिरहेका थिए । विज्ञ अर्थशास्त्रीसँग उनी समय छुटयाएर अर्थशास्त्रको अध्ययनमा लागेका थिए ।

विघटित संसद ब्युँतिएसँगै बनेको देउवा नेतृत्वको सरकारमा शर्मा अर्थमन्त्री बने । उनी अर्थमन्त्री हुँदा तमाम विवादमा मुछिए । बजेट निर्माणमा होस् वा गभर्नर बर्खास्तीको विषयमा उनी प्रायः विवादमा तानिए । त्यतिबेला अप्ठेरोमा परेका शर्मालाई पुनले साथ दिएनन् । बरु आलोचना गरे । पुनले भनेका थिए, ‘अर्थतन्त्र संकटमा परेको बेलामा गभर्नर हटाउने विषय व्यक्तिगत होला, पार्टीको होइन ।’

जवाफमा शर्माले भनेका थिए, ‘यो मेरो व्यक्तिगत कुरा होइन, पार्टी अध्यक्षको सहमतिमा लिएको निर्णय हो ।’

त्यस्तै पछिल्लो समय सम्पन्न भएका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई वटा राष्ट्रिय सम्मेलनले पनि उनीहरूबीचको संघर्ष सतहमा आयो । २०७४ सालमा सम्पन्न संगठनको २१औं राष्ट्रिय सम्मेलनमा शर्माको गुटबाट उनका भाइ अनिल शर्मा र पुनको गुटबाट रञ्जित तामाङबीच चुनाव नै भयो । चुनावबाट तामाङ अध्यक्ष बने । त्यो माओवादीभित्रका कुनै पनि भ्रातृ संगठनमा पहिलो पटक भएको मतदान थियो । त्यसरी विद्यार्थी संगठनको नेतृत्व चयन गर्नु परेपछि प्रचण्ड नेताद्वयसँग थप आक्रोशित बनेका थिए ।

यस्तै २०७८ सालमा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनमा त्यसले चर्को रूप लियो । यसबेला भने शर्मा गुटबाट पञ्चा सिंह अध्यक्ष भइन् ।

यसले पनि पार्टीभित्रको अन्तरविरोधलाई सतहमा ल्याइपुर्‍यायो । अहिले विप्लवलाई पार्टीको महासचिव बनाएर एकता गर्ने विषय बाहिर आएपछि उनीहरू आफ्ना अन्तरविरोधलाई बिर्सेर भए पनि उनलाई रोक्ने पक्षमा लागेका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?