+
+

गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

रासस रासस
२०८० साउन ६ गते १८:०२

६ साउन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उनले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको बताए । विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने पनि बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ ।’

नेकपा (माओवादी केन्द्र)का नेतृ पम्फा भुसालले नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको बताइन् । उनले मुलुकको अभिभारा र माग रहेकाले एउटै बलियो कम्युनिस्ट पार्टी बनाएर समाजवाद हासिल गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने आवश्यकता भएको धारणा राखिन् ।

‘समाजवाद अहिले रक्षात्मकरूपमा रहेको छ, सबै दलको कार्यदिशा समाजवाद नै बनेर अघि बढिरहेको छ । एउटै बलियो कम्युनिस्ट पार्टी नभई समाजवाद हासिल गर्न सकिन्न’ उनले भनिन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?