+
+

यी हुन् नेपालले गत वर्ष आयात–निर्यात गरेका प्रमुख १० वस्तु (सूचीसहित)

साढे ३ खर्बको पेट्रोलियम पदार्थ आयात हुँदा कार्पेट र पाम तेल निर्यात धेरै  

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १९:०६

८ साउन, काठमाडौं । नेपालले गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र त्यसमा पनि डिजेलको आयात गरेको छ । यस्तै, नेपालबाट हुने सबैभन्दा ठूलो निर्यात भने कार्पेटको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कमा यस्तो देखिएको हो ।

गत वर्ष नेपालले प्रमुख १० वस्तुको आयातमा पेट्रोलियम पदार्थको अलावा स्पञ्ज आइरन, सोयाबिन तेल, कोइला तथा कच्चा पाम तेल छन् ।

आयात भएका प्रमुख १० वस्तुमा मात्रै मुलुकले ४ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै प्रमुख १० वर्षको निर्यातबाट नेपालले ६७ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपालले आयात गरेका प्रमुख १० वस्तु

नेपालले गत वर्ष सबै भन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ । सो आयातमा नेपालले ३ खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको थियो । जसमा एक खर्ब ५३ अर्ब रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोडको रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड रुपैयाँको खाना पकाउने ग्याँस आयात गरेको थियो ।

नेपालको दोस्रो ठूलो आयात सुनको छ । जसमा नेपाललले गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, तेस्रो ठूलो आयात स्पञ्ज आइरनको छ । नेपालका स्टील्स कम्पनीहरुले डण्डी बनाउन ७७ करोड ९७ लाख किलो स्पन्ज आइरन आयात गरेका छन् । जसका लागि ४३ अर्ब ६० करोड खर्च भएको छ ।

चौथो ठूलो आयात सोयाबिन तेलको छ । गत वर्ष नेपालले १७ करोड ७५ लाख लिटर बढी सोयबिन तेल आयातका लागि ३५ अर्ब ५८ करोड रुपैयाँ बढी खर्च गरेको छ ।

यस्तै पाँचौं ठूलो आयात कोइलाको छ । नेपालले एक अर्ब १८ करोड बढी किलो कोइला आयातका लागि २७ अर्ब १२ करोड रुपैयाँ खर्ब गरेको भन्सारको विवरणमा देखिन्छ ।

छैटौं ठूलो आयात पामको कच्चा तेलको छ । सो तेल आयातमा नेपालले २५ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ । यस अवधिमा १६ करोड ९० लाख २२ हजार लिटर बढी यस्तो तेल नेपाल भित्रिएको छ ।

यस्तै सातौं ठूलो आयात औषधिको छ । नेपालले गत वर्ष एक करोड २६ लाख किलो भन्दा धेरै औषधि आयात गरेको छ । जसको लागत २४ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै ८ औं ठूलो आयात स्मार्ट फोनको छ । नेपालले औषधि बाराबरकै स्मार्ट फोन गत वर्ष आयात गरेको छ । यस अवधिमा १५ लाख ६९ हजार ५९६ थान स्मार्ट फोनका लागि नेपालले २४ अर्ब ३९ करोड रुपैयाँ खर्चिएको छ ।

यस्तै ९ औं ठूलो आयात यूरिया मलको छ । नेपालले गत वर्ष २५ करोड २२ लाख किलो युरिया मल आयातका लागि २२ अर्ब ९४ करोड रुपैयाँ खर्चिएको छ ।

१० औं ठूलो आयात फलामको डण्डीको छ । नेपालले स्टील्स बनाउन २ खर्ब ५२ अर्ब किलो फलामको डण्डी २२ अर्ब ९४ करोड मूल्यमा खरिद गरेको थियो ।

निर्यात भएका प्रमुख १० वस्तुहरु

गत वर्ष नेपालको प्रमुख १० वस्तुको कुल निर्यात रकम ६७ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ हाराहारी मात्रैको छ ।

जसमा पहिलो ठूलो निर्यात कार्पेटको छ । भन्सारको विवरणअनुसार नेपालले यस अवधिमा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर कार्पेट बिक्रीबाट ११ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, रिफाइन्ड गरिएको पाम तेलको निर्यात दोस्रो ठूलो निर्यात हो । ५ करोड ६१ लाख लिटर बढी यस्तो तेल निर्यातबाट नेपालले १० अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ ।

तेस्रो ठूलो नेपालको निर्यात सोयबिन तेलको छ । नेपालले ३ करोड १२ लाख किलो बढी सोयबिन तेल बिक्री गरेर ८ अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेको भन्सार विभागले जनाएको छ ।

चौथो ठूलो निर्यात अलैंचीको छ । ८ अर्ब २७ करोडको अलैंची नेपालले निर्यात गरेको छ ।

यस्तै पाँचौं ठूलो निर्यात पाम तेलको छ । नेपालले ६ अर्ब ५६ करोड पाम तेल निर्यात गरेको छ ।

छैटौं ठूलो निर्यात फेल्टको छ । नेपालले उनीको गलैंचा र फेल्ट गत वर्ष ४ अर्ब ८५ करोडको गरेको छ ।

सातौं ठूलो निर्यात जुसको छ । फलफूलको जुस मात्रै नेपालबाट एक वर्षमा ५ करोड ८९ लाख लिटर बढी निर्यात भएको छ । जसको मूल्य ४ अर्ब ७६ करोड रुपैयाँ बढी छ ।

नेपालबाट आठौं ठूलो निर्यात ऊनी धागोको छ । नेपालले गत वर्ष ४ अर्ब ३५ करोडको उनी धागो निर्यात गरेको छ ।

यस्तै नवौं ठूलो निर्यात जस्ताको पाता र रोल्ड आइरनको छ । यसको निर्यातबाट नेपालले ४ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको छ ।

१० औं ठूलो निर्यात भने पोलिष्टर धागोको छ । नेपालले गत वर्ष ३ अर्ब ८७ करोड मूल्यको यस्तो धागो निर्यात गरेको छ । गत वर्षको तुलनामा प्रमुख १० निर्यातको सूचीबाट जुट हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?