+
+

यसै हप्ता मन्त्रिपरिषदलाई पूर्णता दिने मधेशका मुख्यमन्त्रीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते २०:४९

९ साउन, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् । ११ जेठमा पाँचौं पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि मधेशमा गृह, संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छ ।

मुख्यमन्त्रीकै दल जनता समाजवादी पार्टीका मन्त्री सुरिता साह र राज्यमन्त्री शेख अब्दुल कलाम आजाद विना विभागीय छन् । त्यस्तै जनमत पार्टीका मन्त्री बसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादव विना विभागीय छन् ।

मधेश सरकारमा मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय छ । थप ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद १४ सदस्यीय छ । सरकारमा जसपाबाट मुख्यमन्त्रीसहित तीन, कांग्रेसका दुई, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका एक–एक जना मन्त्री छन् ।

दुई मन्त्रालय खाली रहेको र दुई जना विना विभागीय मन्त्री रहेको अवस्थामा मुख्ख्यमन्त्री यादवसँग कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक वटा मन्त्रालय मागेका छन् ।

तर, मुख्यमन्त्री यादव भने अब लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई थप मन्त्रालय नदिने पक्षमा छन् । आफूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग थप मन्त्रालय दिन नसक्ने बताइसकेको यादवले अनलाइनखबरलाई बताए ।

‘प्रधानमन्त्री प्रचण्डजीले पनि माओवादीलाई थप एउटा मन्त्रालय दिनुपर्छ भन्नुभयो । मैले भने उसो भए मन्त्रालयको संख्या बढाउनुपर्छ । त्यसपछि उहाँले भन्नुभयो त्यसो नगर्नुस्’, मुख्यमन्त्री यादवले अनलाइनखबरसंग सुनाए ।

मुख्यमन्त्री यादवले अब मन्त्रालयको संख्या थप्ने पक्षमा आफू नरहेको भन्दै अब बाँकी दुईवटा मन्त्रालयमै व्यवस्थापन गरिने बताए ।

मधेशमा सत्ता गठबन्धनमा धेरै दल भएकाले पद भागवण्डामा समस्या छ । कांग्रेसले शक्ति बाँडफाँटमा सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको यादवले बताए ।

मधेशमा सभामुख नेकपा एमालेबाट निर्वाचित रामचन्द्र मण्डल छन् । तर आफू सभामुख हटाउने पक्षमा नरहेको मुख्यमन्त्री यादव बताउँछन् । ‘सही र निष्पक्ष काम गर्नेलाई बहुमतको बलमा हटाएर अर्को नियुक्ति गर्न उचित होइन’ मुख्यमन्त्री यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?