+
+
Shares

चीनमा सीले फेरि किन रोजे वाङ् यी ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १८:४६

१० साउन, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।  आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ ।

६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ । वृद्ध अवस्थामा उनी जति आकर्षक छन् उत्तिकै आक्रामक पनि छन् । अब उनको आक्रामक शैलीका केही दृष्टान्तबारे चर्चा गरौँ ।

वाङ यी गत वर्ष चीनको विदेशमन्त्रीको हैसियतमा एक सम्मेलनका लागि जापान पुगेका थिए । त्यहाँ दक्षिण कोरियाका उनका समकक्षी समेत उपस्थित थिए । जापान र दक्षिण कोरियाले साउथ चाइना सी मामिलामा पश्चिमाहरुको समर्थन गरेको प्रति चीन निकै नै रुष्ट थियो । पश्चिमासँग मिलेर आफ्नो विरोध गरिरहेको कुरा चीनलाई चित्त बुझिरहेको थिएन । वाङले त्यहाँ समकक्षीहरुलाई भनिदिए, ‘तिमीहरु कपाल रंगाएर जतिसुकै खैरो बनाऊ वा नाक जतिसुकै सिलिक्क पार तिमीहरु युरोपेली, अमेरिकी वा पश्चिमा हुन सक्दैनौँ । आफ्नो अवस्थिति अनुसारको व्यवहार गर नक्कल गरेर कोही पनि पश्चिमा हुँदैन ।

उनको शैली कस्तो छ भने उनी चित्त नबुझेका कुरामा चेतावनीको कडा भाषा बोलिदिन्छन् । सन् २०२२ मा आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई शक्तिको आडम्बरमा चीनसँग व्यवहार नगर्न चेतावनी दिए । यस्तै ताइवान मामिलामा अमेरिकासँग सहमति गर्ने कुनै ठाउँ नै नरहेकाले यस विषयमा कुरै नगर्न उनले ब्लिंकेनलाई भनिदिए । ‘याद रहोस् अमेरिकाले शक्तिको आडम्बर राखेर चीनसँग व्यवहार गर्न बन्द गरोस् । अर्को कुरा ताइवान मामिलामा सम्झौता वा कुनै सहमतिको सम्भावनानै छैन’ उनले भनेका थिए ।

यस्तै गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ इलाकामा जासुसी बेलुन पठाएको भनेर अमेरिकाले निकै नै आलोचना गरेको थियो । त्यस आलोचनाबारे वाङ् यीले भनेका थिए, ‘अमेरिकाको उन्मादपूर्ण र आधारहीन टिप्पणी हामीलाई स्वीकार्य हुनेछैन ।’

चीनको मामिलामा जसले आलोचना गर्छ त्योसँग वाङ निकै नै चिढिन्छन् । चीनका विषयमा नकरात्मक प्रश्न सोध्दा उनी पत्रकारहरुसँग पनि उत्तिकै कड्किन्छन् । सन् २०१६ मा क्यानडाका पत्रकारले उनलाई चीनको मावनअधिकार खस्किएको सम्बन्धमा प्रश्न गरेका थिए । त्यसको जवाफमा वाङले भने, ‘यो प्रश्न चीनप्रति आक्रोश र पूर्वाग्रह राखेर सोधिएको हो । यस्ता कुरा कहाँबाट आए मैले जान्ने कुरा भएन तर यो प्रश्न स्वीकार्य भने छैन ।’

वाङ् सीका विश्वासपात्र हुन् । विदेशमन्त्रीका रुपमा सबैभन्दा लामो कार्यकाल बिताउनेमा उनी तेस्रा व्यक्ति हुन् । इरान र साउदीको सम्बन्ध सुधारको सेतुको काम उनैले गरेका थिए । मध्यपूर्वमा चिनियाँ प्रभाव विस्तारका लागि उनी निकै नै खटिएका व्यक्ति हुन् । गत वर्ष ३० भन्दा बढी मुलुक घुमेर उनले आफ्ना राष्ट्रपति सीको सन्देश प्रवाह गरे । हरेक मुलुक पुगेर उनले भन्ने गर्थे, ‘बेइजिङलाई अमेरिकाले पछाडि धकेल्न सक्दैन ।’

पश्चिमाहरु बेइजिङले मुस्लिम अल्पसंख्यकविरुद्ध दमन गरेको भन्दै जति जति आलोचना बढाउँथे, वाङले त्यतिनै मुस्लिम राष्ट्रहरुसँग बेइजिङको सहकार्य विस्तार गर्ने व्यक्ति उनै वाङ् हुन् ।

वाङ्को गतिविधि यस्तो छ कि उनी एउटा कुनामा चीन र अर्को कुनामा अमेरिकालाई राखेर बेइजिङ एशियाका निम्ति लड्दैछन् । वाङ्सँग कुटनीतिक वार्तामा सहभागी सिंगापुरका पूर्व विदेश सचिव बिलहरी कौशिकन भन्छन्, ‘एशियाको समस्या एशियालेनै समाधान गर्नुपर्ने भन्ने चिनियाँ तर्क छ। एशियाका निम्ति अमेरिका अविश्वासिलो समस्या निर्माता हो भन्ने उसको बुझाइ छ ।’

रुस र युक्रेनबीचको द्वन्द्वको कारण पश्चिमाहरुसँग सम्बन्ध बिग्रिएको अवस्थामा गत फेब्रुअरीमा युरोप पुगेर युरोपेली संघसँग सहकार्यको प्रस्ताव राख्ने व्यक्ति वाङ्नै थिए । त्यहाँ पुगेर उनले भनेका थिए, ‘बेइजिङ युरोपसँग बृहत सहकार्यका लागि खुला छ । हामी जलवायु परिवर्तन र व्यापारका सम्बन्धमा वृहत सहकार्यका लागि युरोपलाई स्वागत र सहयोग गर्छौँ।’

युरोप पुगेर वाङले जारी युद्धमा पश्चिमाको जित नहुने र युरोपलाई अमेरिकाले आफ्नो स्वार्थको शिकार बनाएको सन्देश प्रवाहसमेत गरेका थिए । उनको यरोप भ्रमणबारे टिप्पणी गर्दै चिनिँया मामिला जानकार यु सोनले भनेका छन्, ‘युरोप अमेरिकी रणनीतिको शिकार भएको र यो युद्ध पश्चिमा नजित्ने तर्क वाङ्ले गरेका छन् ।’

धारिलो आइरन लगाएको सुट पहिरिएर धारिलो शैलीमै कुरा राख्ने वाङ सीको सन्देशका वास्तविक प्रचारक हुन् । सीको विश्वकेन्द्रित महत्वाकांक्षा सशक्त प्रचारक र निकै अनुभवी कुटनीतिज्ञ भएकाले सीले वाङलाई फेरि विदेश मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

रोयटर्स, वासिंटन पोस्ट, सिन्ह्वा लगायत सञ्चार माध्यमको सहयोगमा 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?