+
+

मौद्रिक नीतिपछि लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १५:३३

१० साउन, काठमाडौं । मौद्रिक नीति पछिको लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । ७ साउन आइबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो ।

मौद्रिक नीतिको उक्त व्यवस्थासँगै आइतबार नेप्सेमा ६३ अंकको वृद्धि भयो । तर आइतबार बजार बन्द भएपछि राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जमा नभई ५० लाखभन्दा सानो कर्जाको मात्रै जोखिम भार घटेको बताएका थिए । २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाखसम्म १०० प्रतिशत बनाएर ५० लाख भन्दा माथिको कर्जामा १५० प्रतिशत नै रहेको उनले बताएका थिए ।

त्यसपछि सोमबारदेखि नै गिरावट सुरु भएको नेप्से बुधबार लगातार तेस्रो दिन पनि गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा बुधबार कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार पौने ५ अर्बको कारोबार भएको बजारमा मंगलबार पनि २ अर्ब ९१ करोडको कारोबार भएको थियो । तर, बुधबार कारोबार रकम झनै घटेर २ अर्ब ४३ करोड २५ लाखको कारोबार भएको छ । ४२ हजार ७१४ वटा कारोबारमा ४३ लाख ९९ हजार ४७४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बुधबार वित्त कम्पनी म्युचुअल फण्ड र अन्य उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको हो । होटल तथा पर्यटन उपसूचक १.४२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ०.८१ प्रतिशत र बैंकिङ उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको हो ।

वित्त कम्पनी उपसूचक ०.०८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक ०.३७ प्रतिशत र अन्य उपसूचक ०.७० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटिरहेको बजारमा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर सर्वाधिक १५ करोड १२ लाख ५३ हजारको कारोबार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा बैंकको संस्थापक सेयर कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको सेयर ९ करोड ४९ लाखको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ८ करोडको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१७ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १४१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५८ प्रतिशत र बाराही हाइड्रोपावरको सेयरमूल्य ३.४० प्रतिशतले वृद्धि भएको छ ।

जाल्पा सामाुदायिक लघुवित्तको सेयरमूल्य ६.४९ प्रतिशतले गिरावट हुँदा युनिलिभर नेपालको सेयरमूल्य ६.३३ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.३८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?