
१० साउन, काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियन गेम्स खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा तयारी गर्ने भएको छ ।
एसिएन गेम्सको तयारी तथा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिताका लागि नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।
खेलाडीहरुमा पुरुषतर्फ ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् । यस्तै महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।
प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।
खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाइ २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहोर्याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।
‘यस पटक बक्सिङसहित तीन खेललाई मुख्य प्राथमिकतामा राखेको र त्यसमा पनि बक्सिङलाई उच्च प्राथमिकतामा राखिएको छ’, सदस्य सचिव घिसिङले भने, ‘त्यसकै तयारी स्वरुप एउटा नयाँ मिसन लिएर नेपाली टोली भारत जाँदैछ । यो महत्वपूर्ण अवसर समेत हो ।’
यस्तै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ खेलमा सदस्य सचिवले देखाएको विश्वासलाई वास्तविकतामा परिणत गर्न प्रयास गर्ने बताए ।
एसियन गेम्स अघि टर्च र्यालीमा दीपक सहभागी हुने
चीनको हाङझावमा हुने १९ औं एसियन गेम्सको उद्घाटनअघि हाङझावमै हुने टर्च र्यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।
सदस्य–सचिव टंकलाल घिसिङले बक्सिङ खेलाडी बिदाई कार्यक्रममा टर्च र्यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।
‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ । १६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो ।
सदस्य–सचिव घिसिङले भने, ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च र्यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसकेको छ ।’
टर्च र्यालीमा एसियन गेम्समा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ देखि २३ गतेसम्म हुँदैछ । दीपक हाल हाङझाव एसियन गेम्समा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षकमध्येका एक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4