+
+

भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक छ : अर्थमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ११:५९

११ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभइ समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए ।

त्यससँगै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।

‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ,’ मन्त्री महतले भने, ‘कुनै बहानामा हामीले उदासिनता देखाउने या आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।’

अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

‘आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास उहाँहरुले गर्नुहुन्छ, भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी गराए । स्वतन्त्र रुपमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको भन्दै उनले त्यसमा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?