+
+

घरपालुवा कुकुरको मिर्गौला खराब हुने जोखिम बढी

निरोज दंंगाल, पशु प्राविधिक निरोज दंंगाल, पशु प्राविधिक
२०८० साउन ११ गते १२:३९

लकडाउनको बेला कुकुर पाल्नेको संख्या ह्वात्तै बढ्यो । घरभित्रै बस्नुपर्ने वा अरुसँग हेलमेल हुन संभव नहुने प्रतिकुल समयमा धेरैको हितैषी बन्यो, कुकुर ।

हुन त मान्छेले कुकुर विभिन्न प्रयोजनले पाल्ने गर्छन् । कसैले सुरक्षाका लागि त कसैले शिकारका लागि पनि कुकुर पाल्ने गर्छन् । तर, पछिल्लो समय भने घर परिवारको माहौल रमाइलो बनाउन कुकुर पाल्ने जमात बढ्दो छ ।

कुकुरसँग हेलमेल भइरहँदा डिप्रेसन, एन्जाइटी जस्ता मनोविकारले सताउदैन भन्ने धेरैको अनुभव छ । यद्यपि कुकुरलाई कसरी पाल्ने, कसरी स्यहारसुसार गर्ने भन्ने कुरामा धेरैको हेक्का नपुग्न सक्छ ।

साथै कुकुरलाई कस्तो खानेकुरा खुवाउने वा कस्तो नखुवाउने भन्ने सचेतना पनि जरुरी छ । यावत् कुरा थाहा नहुँदा घरपालुवा कुकुरलाई विभिन्न रोग लाग्ने जोखिम बढी छ । आफुले स्नेहपूर्वक पालेको कुकुर बिरामी, रोगी भएपछि कहाँ लैजाने, कसरी उपचार गर्ने ? थाहा नहुन सक्छ ।

के-के रोग लाग्छ कुकुरलाई ?

कुकुरमा पार्वो भाइरस, डिस्टेम्पर, केनल कफ, इकाइमिस, रेबिज, लुतो, छालाको एलर्जी, किर्नाबाट हुने विभिन्न रोग र क्यान्सरजस्ता समस्या बढी हुने गर्छ । यसमध्ये पार्वो र डिस्टेम्पर घरपालुमा धेरै देखिएको छ ।

पार्वोले मृत्यु पनि हुनसक्छ

पार्वोको सङ्क्रमण भएका कुकुरमा खाना नखाने, पखाला लाग्ने, वान्ता गर्ने, रगत मासी पर्ने, १ सय ४ देखि १ सय ६ डिग्रीको ज्वरो आउँछ ।

यस्तो भएमा के गर्ने त ? संभव भए त पशु चिकित्सकलाई देखाउनु राम्रो हो । यदि त्यो अनुकुलता नभए  कुकुरलाई आरएल र मेट्रोल सलाइन चलाउने,  एन्टिबायोटिक्स् र भिटामिनहरु चलाउन सकिन्छ । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ ।

पार्वो हुनै नदिन के गर्ने ?

यसको रोगथामको लागि जन्मिएको ४२ दिनमा भ्याक्सिन लगाउने, २८ दिनको फरकमा दुई पटक बुस्टर डोज लगाउने र प्रत्येक बर्षमा खोप दिनुपर्छ । अधिकांश कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ ।

क्यानाइन डिस्टेम्परको डर

त्यस्तै क्यानाइन डिस्टेम्पर डरलाग्दो रोग हो, जुन कुकुरमा देखिन सक्छ । यो मोविर्लि भाइरसको संक्रमणबाट हुने गर्छ । यसमा कुकुरलाई ज्वरो आउने, नाक मुुखबाट ¥याल अत्याधिक काट्ने, खोक्ने, वान्ता गर्ने, खाना नखाने, शरीर पुरै काम्ने, आफ्नो खुट्टामा उभिन वा उठ्नै नसक्ने र दुब्लाउदै जाने लक्षण देखा पर्दछ । यसको प्रभावकारी उपचार छैन । कुकुर बाच्ने सम्भावना एकदमै न्यून हुन्छ ।

केनल कफ

यस्तै कुकुरलाई केनल कफ रोग लाग्ने गर्दछ । यो प्याराइन्फ्लुएन्जा भाइरस र माइकोरलाज्मा प्रजातिको भाइरसबाट लाग्छ । यसमा ज्वरो आउने, खान नखाने, अल्छी भइ बस्ने, हल्का ज्वरो आउने गर्छ । उपचारमा डक्सीसाइक्लिन एन्टिवायोटिक्स र जिट एकिल सुइ चलाउन सकिन्छ । घरपालुका कुकुरलाई बाहिरी कुकुरबाट टाढा राख्ने, लक्षण देखा परेमा चिकित्सकलाई जचाँइहाल्नु पर्छ ।

नाकबाट रगत बग्ने रोग

अर्को इकाइमिस रोग यसमा कुकुरको नाकबाट रगत बग्ने , उच्च ज्वरो आउने, खाना नखाने हुन्छ । यो कुकुरलाई उपियाँ र किर्नाको संक्रमणबाट लाग्ने गर्दछ । एन्टिबायोटिक्स् चलाउने गरिन्छ । त्यस्तै छालाको समस्या र लुतो लागेमा चिकित्सकलाई देखाएर औषधी खुवाउन सकिन्छ । यसबेला शरीर चिलाउने, सानोसानो घाउ आउने, कपाल झर्ने लक्षण देखिन्छ ।

कुकुरको मिर्गौला खराब भइरहेको छ

समान्यताय घरपालुवा तथा उन्नत जातका कुकुरमा मिर्गौलाको समस्या देखिन्छ । खासगरी यो घरपालुवा कुकुरमा प्राय भएको हुने गर्छ ।

शरीरमा पानीको कमी र व्यायामको कमीले हुने यस्तो समस्या हुनसक्छ । साथै आजभोलि घरपालुवा कुकुरलाई दिनहुँ कुखुराको कलेजो खुवाउनाले पनि यस्तो भएको देखिन्छ । किनकी कुखुरा चाडै हुर्काउन तर तौल बढाउन विभिन्न एन्टिबायोटिक तथा अनावश्यक रुपमा विभिन्न औषधि प्रयोग गर्ने गरिन्छ । जुन कुखुरामा प्रयोग गरेको ३ हप्ता पछि मात्र खपत गर्नुपर्छ वा खानुपर्छ तर नेपालमा यस्तो अभ्यास देखिदैन । यसले गर्दा कुखुरामा प्रयोग गरेका औषधिले कुकुरको मिर्गाैला खराब हुने गर्दछ । साथै दैनिक चिल्लो खानेकुरा, मसलेदार मासुको सेवनले पनि हुनसक्छ ।

जब मिगौला खराब हुन्छ

कुकुरको मिर्गौला खराब भएमा विभिन्न लक्षण देखिन्छ । जस्तै ज्वरो आउने, पानी धेरै पिउने वा तिर्खाउने महसुस गर्ने, दुब्लाउने, कमजोर हुँदै जान्छ ।

यसको उपचार के छ ?

यसका लागि वान्ता रोक्ने औषधि चलाउनुपर्छ । डेक्ट्रोज वा आरएल सलाइन दिनुपर्छ ।  ग्याष्ट्रिक हुनबाट जोगाउने, भिटामिन वी कम्प्लेक्स र भिटामिन बी–१२ चलाउन सकिन्छ । सुविधा भएमा मिर्गौला प्रत्यारोपण पनि  गर्न सकिन्छ । तर नेपालमा यसको सुविधा छैन अहिलेसम्म । विदेशमा मिर्गौला प्रत्यारोपण गर्न २२ हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

यसको सामान्य उपचार मात्र छ नेपालमा । समान्यताय स्लाई पानी चढाउने, औषधि दिने र चिकित्सकको निगरानीमा राख्न सकिन्छ ।

त्यसैले मिर्गौला खराब भएमा निको बनाउन कठिन नै छ । बरु मिर्गौला खराब हुनै नदिनका लागि खानपानमा ध्यान दिनुपर्छ । यसका लागि नुन, चिल्लो गुलियो चकलेट नखुवाउने, बोइलर कुखुराको कलेजो नखुवाउने र प्रशस्त मात्रामा पानी खुवाउन सकिन्छ ।

कुकुरलाई क्यान्सरको जोखिम

कुकुरमा पाठेघर, लिम्फोमा र हड्डीको क्यान्सरको जोखिम हुन्छ । तर नेपालमा भने पाठेघर वा गर्भाशयको क्यान्सर बढी देखिन्छ । यो घरपालुका कुकुरमा भन्दा पनि सडकका कुकुरमा अत्याधिक देखिन्छ ।

किनकी उनीहरुमा अनियन्त्रित सहबास हुने गर्दछ । त्यसले बेला संक्रमण भएर हुने गर्दछ । यो घरपालुका कुकुरमा प्राय हुँदैन । यो बाहेकका क्यान्सर नेपालमा खासै देखिन्दैन । किनकी यसको खासै परीक्षण भएको देखिदैन । भजाइनामा सुन्निने, मासु फर्किने, पिप जम्ने, पाक्ने गर्दछ । यसको किमोथेरापी गरेर उपचार गरिन्छ । किमोथेरापी कम्तिमा पनि एक दुई महिना गर्नुपर्ने हुन्छ ।

कुकुरलाई कसरी हुर्काउने ?

कुकुरलाई सुरुमा पूर्ण खोप दिनुपर्छ । सही खानपान गराउनुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । उनीहरुलाई खेल्न, हिँड्न पनि जरुरी हुन्छ ।

जब कुकुरलाई उसको आमाबाट छुटाइन्छ, तब खानपानमा विशेष ध्यान दिनु जरुरी छ । घरमा पाकेको दालभात उनीहरुलाई खुवाउनु हुन्न । कुकुरलाई दूध भात, अण्डा, सागसब्जी, मासु आदि दिनुपर्छ, जुन उसिनेको हुनुपर्छ ।

कुकुरलाई चिल्लो, तारकोको, मसलेदार खानेकुरा दिनै हुन्न । चकलेट त विष समान हो ।

कुकुरलाई नियमित खोप लगाउने, जुकाको औषधि खुवाउने गर्नुपर्छ ।

कस्तो खानेकुरा दिनै हुन्न ?

कुकुरको लागि चिल्लो र चिनीजन्य पदार्थ बन्द गनुपर्छ । त्यसबाहेक उनीहरुलाई मसालेदार, पिरो, चकलेट, केक, जंगफुड दिनै हुन्न । किनकी यी खानुेकुरा उनीहरुका लागि विष जस्तै हुन्छ । त्यस्तै फलफुलमा अंगुर र एभोकाडो खुवाउनु हुँदैन ।

कस्तो खानेकुरा दिने ?

उसिनेको मासुसहितको हड्डी दिने, दही, झोल भएका खानेकुरा खुवाउन सकिन्छ । साथै कुकुरको लागि बजारमा पाइने खानेकुरा दिन सकिन्छ । कुकुरको बच्चालाई ३ देखि ४ र ठूलोलाई २ देखि ३ पटक खुवाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?