+
+

मौद्रिक नीतिलाई आईएमएफको समर्थन, आर्थिक वृद्धि लयमा फर्कने विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते २१:०७

११ साउन, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै ल्याएको मौद्रिक नीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले समर्थन गरेको छ ।

आईएमएफको एसिया प्यासिफिक डिभिजनका उपप्रमुख टिडियन किन्डाले नेपाल भ्रमणपछि जारी गरेको वक्तव्यमा मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र यसले मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्न उचित अडान लिएको उल्लेख गरेका छन् ।

‘मौद्रिक नीतिले बैंकहरूको सम्पत्तिको गुणस्तरमा निरन्तर निगरानी गर्ने र पर्यवेक्षकीय प्रयासहरूलाई बढाउनु वित्तीय स्थायित्व जोगाउन महत्वपूर्ण छ’, किन्डाले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

साथै, अघिल्लो वर्ष सुस्त भएको आर्थिक चालु आर्थिक वर्षमा पुरानै लयमा फर्कने (रिबाउन्ड) प्रक्षेपण रहेको पनि आईएमएफले जनाएको छ । ‘त्यस्तै, मुद्रास्फीति घट्ने अपेक्षा गरिएको छ र बाह्य स्थिति सुदृढ हुने क्रम जारी रहनेछ’, वक्तव्यमा उल्लेख छ ।

यद्यपि, वित्तीय स्थायित्व सुनिश्चित गर्न चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको विवेकपूर्ण कार्यान्वयन महत्वपूर्ण हुने पनि आईएमएफले जनाएको छ । ‘आर्थिक वर्ष २०२३–२४ को बजेटमा प्रस्ताव गरिएको सुधारका उपायहरू पूर्ण रुपमा कार्यान्वयन हुँदा पूँजीगत खर्चको दक्षतामा सुधार हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

उनको मिसनले आईएमएफको प्राविधिक सहयोगमा कोषका कार्यक्रमअन्तर्गत प्रमुख प्रतिवद्धताहरू पूरा गर्न नेपाली अधिकारीहरूको निरन्तर प्रयास गरिरहेको र त्यो स्वागतयोग्य रहेको पनि किन्डाले उल्लेख गरेका छन् ।

विस्तारित ऋण सुविधा (ईसीएफ)को तेस्रो समीक्षाका बेला आईएमएफको कार्यक्रमअन्तर्गतका प्रदर्शनको औपचारिक रूपमा मूल्याङ्कन गरिने विज्ञप्तिमा उल्लेख छ ।

किन्डा नेतृत्वको टोलीले साउन ४ देखि १० सम्म नेपालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अन्य सरकारी अधिकारीहरु, निजी क्षेत्र तथा विकास साझेदारहरुसँग भेटघाट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?