+
+

पाठेघरको उपचार गर्न अस्पताल भर्ना भएकी महिलाको मृत्यु, रकम लेनदेनमा मिलापत्र

२०७८ सालमा प्रदेश स्वास्थ्य निर्देशनालयमा दर्ता भएको २५ शय्याको यो अस्पताल नवीकरण भने नभएको पाइएको स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्तिनारायण साहले जानकारी दिए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन १२ गते १५:०९

१२ साउन, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको घटना पैसा लेनदेन गरी मिलाइएको खुलेको छ । यस घटनामा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले स्पष्टीकरण सोध्दा २०७८ सालमा दर्ता भएको यो अस्पताल नवीकरण नभएको पाइएको छ ।

पाठेघरको उपचारको लागि गत साउन ३ गते अस्पताल भर्ना भएकी जनकपुरधाम–१६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुई दिनपछि मृत्यु भएको थियो । वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियारको समन्वयमा मृतक परिवार र अस्पतालबीच रकम लेनदेन गरी मिल्ने निर्णय भएको हो ।

अस्पतालविरुद्ध मुद्दा मामिला गर्नेतर्फ नगई मिल्ने निर्णय भएको वडाध्यक्ष पंजियारले बताए । ‘घटनापछि मृतकको घर छेउकै महादेव मन्दिरमा गाउँ समाजको भेला बसेको थियो । त्यहाँ आपसमै मिल्ने कुरा भयो । विवादमा अगाडि नबढौं । गरिब मान्छे छन् । कहाँ मुद्दा बोकेर हिँड्ने काम गर्छन् भनेर,’ उनले भने ।

मृतकको परिवार स्रोतका अनुसार घटनामा अस्पतालले मृतक परिवारलाई क्षतिपूर्ति वापत ११ लाख रुपैयाँ नगद दिने सहमति भएको छ । ११ लाख रुपैयाँको चेक वडाध्यक्ष पंजियारको नाममा अस्पतालले दिएको स्रोतले बतायो ।

अस्पतालमा महिलाको मृत्युपछि चिकित्सक र अस्पताललाई कारबाहीको माग गर्दै परिवारका सदस्यहरुले प्रदर्शन गरेका थिए । तर मृतक परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेको छैन । घटनाको भोलिपल्ट जाहेरी दिने कुरा भए पनि हालसम्म मृतक परिवार नआएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । आपसमा रकम लेनदेन गरी मिलेको कारण मृतक परिवार जाहेरी दिन नआएको हुन सक्ने प्रहरीको अनुमान छ । उनले अस्पतालविरुद्ध जाहेरी दर्ता नभए कारबाही प्रक्रिया अघि बढाउन कठिन हुने बताउँछन् ।

अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयमा बुझाएको स्पष्टीकरणमा पाठेघरको अप्रेशन गर्न खोजे पनि असफल भएको उल्लेख छ ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पताललाई कारबाही गर्ने ग्यारेन्टी नभएसम्म शव नउठाउने अडानमा परिवारका आफन्तहरु थिए । घटना भएको भोलिपल्ट दुबै पक्षबीच जिल्ला प्रहरी कार्यालयमै छलफल भएको थियो । छलफलपछि मृतक परिवारले शव बुझेका थिए । निष्पक्ष अनुसन्धान गरी कारबाही गर्ने स्थानीय प्रशासनको मौखिक आश्वासनपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको थियो ।

मृतकका आफन्त रमेश साहले यो घटनामा के कसो गर्ने भन्ने जिम्मा वडाध्यक्ष पंजियारलाई नै दिएको बताउँदै थप केही बोल्न मानेनन् । तर उनका एक छिमेकीले भने घटना मिलिसकेको बताए । ‘मुद्दा मामिलामा गएर के हुन्छ ? घटना मिलिसक्यो,’ उनले भने ।

कसरी गयो सोनियाको ज्यान ?

गणेश साह र सोनियाबीच १२ वर्षअघि बिहे भएको थियो । सोनिया निःसन्तान थिइन् । उपचारको क्रममा डाक्टरहरुले उनको पाठेघरमा घाउ भएको जानकारी गराए । उनका आफन्तहरुका अनुसार डाक्टरहरुले पाठेघरको उपचार गरे सन्तान हुन सक्ने बताएका थिए । त्यही भएर उनी उपचारका लागि गत जेठ ३ गते अस्पताल भर्ना भइन् । डाक्टरहरुले अप्रेशन गर्नुपर्ने बताए ।

मृतक सोनियाकी भाउजू नगिना साहको भनाइ अनुसार डाक्टरहरुले पाठेघरको घाउको अवस्था राम्रोसँग पत्ता नलगाई अप्रेशन गरे तर उपचार नगरी पेट सिइदिए । अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयमा बुझाएको स्पष्टीकरणमा पनि पाठेघरको अप्रेशन गर्न खोजे पनि असफल भएको उल्लेख छ ।

‘बचदानीमा घाउ थियो । डाक्टरले राम्रोसँग जाँचविनै अप्रेशन गरिदिए,’ नगिना भन्छिन्, ‘पेट चिरेपछि डाक्टरको हिम्मतले काम गरेन । केही नगरी तुरुन्तै फेरि सिइदिए । मैले भनेको पनि थिएँ यहाँ उपचार हुँदैन भने बाहिर अर्को हस्पिटलमा लग्छु । तर डाक्टरले ठीक भइहाल्छ भनेर रोके ।’

नगिना भन्छिन्, ‘शल्यक्रिया गर्न खोजेको २ दिनपछि जेठ ५ गते दिउँसो २ बजेतिर मैले समातेर शौचालय लगेको थिएँ । त्यहीँ बेहोस हुनुभयो । उठाएर बेडमा लग्यौं । अनि हिचकी (बाडुल्की) आउन थाल्यो । डाक्टर र नर्सले छातीमा थिच्न थाले । हामीलाई केही जवाफ दिएनन् ।’

मृतकका भाइ उदयका अनुसार डाक्टरहरुले त्यहाँ उपचार नहुने ठानेर आफैं बोकेर एम्बुलेन्समा राखेर बिराटनगर पठाउँदै थिए । बिरामीको अवस्थाबारे आफूलाई जानकारी नगराई अन्यत्रै पठाउन थाल्दा आफूहरुले रोकेको उदय बताउँछन् । ‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दैछौं भने । हामीले मान्छे बोलाएर रोकायौं । हेर्दा दिदीको मृत्यु भइसकेको थियो,’ भाइ उदयले सुनाए । डाक्टरहरुले लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले सोनियाको शव अस्पतालको मूल गेटमा राखेर पाँच घण्टा लगातार प्रदर्शन गरेका थिए ।

अस्पताल सञ्चालक एवम् स्त्री तथा प्रसूति रोगका डा. सरोज ठाकुरले भने उपचारमा कुनै प्रकारको लापरबाही नभएको दावी गरे । ‘पूर्व चेकजाँच गरेर नै शल्यक्रिया गरेका थियौं । तर अप्रेशन थालेपछि भित्र आन्द्रामा पाठेघर टाँसिएको मासु बढेको थियो । पाठेघरमा बढेको मासु हटाउन खोजे आन्द्रा च्यातिन सक्थ्यो । पुरै पाठेघर नै हटाउनु पर्ने अवस्था थियो । तर बिरामीबाट पाठेघर हटाउने पूर्व स्वीकृति लिएका थिएनौं,’ डा. ठाकुरले भने, ‘यो विषयमा अप्रेशन थिएटरमा एकजना आफन्तलाई बोलाएर देखायौं । र उनलाई सम्झाएर पुनः तुरुन्तै टाँका लगायौं’

डा. ठाकुरले आफूले दुईदिनसम्म बिरामीको अवस्था ठिकै रहेको र पछि कसैले अप्रेशन सफल नभएको सुनाएपछि हृदयघात भएको हुन सक्ने बताए । तुरुन्तै आफन्तलाई भनेर गंगालाल हृदय केन्द्र जनकपुरमा पुर्याउन खोज्दा मान्छेको हुलले घेरेर हुलदंगा गरेपछि आफूहरु सुरक्षित त्यहाँबाट निस्केको उनको तर्क छ ।

 अस्पतालसँग स्पष्टीकरण माग

घटना पश्चात मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । अस्पतालका प्रतिनिधिहरुले अस्पताल दर्ताको कागजातसहित स्पष्टीकरण दिएका छन् ।

तर २०७८ सालमा प्रदेश स्वास्थ्य निर्देशनालयमा दर्ता भएको २५ शय्याको यो अस्पताल नवीकरण भने नभएको पाइएको स्वास्थ्य महाशाखाका प्रमुख डा. मुक्तिनारायण साहले जानकारी दिए ।

अस्पतालले दिएको स्पष्टीकरणमा पाठेघरको अप्रेशन गर्न खोजे पनि असफल भएको उल्लेख छ । हृदयघातले बिरामीको मृत्यु भएको, शल्यक्रिया गर्नु अघि गरेको बिरामीको चेकजाँचको रिपोर्ट अस्पतालमा होहल्ला गर्दै कसैले लिएर भागेको व्यहोरा पनि स्पष्टीकरण पत्रमा उल्लेख गरेको महाशाखा प्रमुख साहले बताए ।

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको थप कुरा खुल्ने प्रमुख साहको भनाइ छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?