+
+

यी पाँच उपहार, जो बच्चाको जन्मदिनमा उत्तम हुनसक्छ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन १२ गते १८:५९

तपाईंले आफ्नो बच्चाको जन्मदिनमा के उपाहार दिनुभयो ? यो प्रश्नले तपाईंलाई केही क्षण त सोचमग्न बनाउँछ । त्यस्तै छिमेक, आफन्तका छोराछोरीको जन्मदिनमा पनि तपाईंलाई निम्तो आएको हुनसक्छ । त्यहाँ जाँदा के उपहार लगिदिने होला ?

कस्तो उपहार बच्चाको लागि उपयोगी हुन्छ र त्यो उपहार पाएर बच्चा कति खुसी हुन्छ भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण भयो ।

खासमा उपहार भनेको हौसला हो । प्रेरणा हो । त्यसैले यस्तो उपहार दिऔं, जो बच्चाका लागि रचनात्मक, अर्थपूर्ण र दीगो होस् । यदि केही पृथक उपहार दिन चाहनुहुन्छ भने यी ५ उपाय उपयोगी हुन सक्छ ।

किताब

बच्चालाई जन्मदिनमा किताब उपहार दिन सकिन्छ । किताब पनि यस्तो दिनुपर्छ कि, जुन उपयोगी र रोचक होस् । घरमा सजाएर राख्नका लागि भन्दा पनि उनीहरूले त्यसबाट केही सिकेर, बुझेर आफ्नो जीवनमा उपयोग गर्ने किसिमको हुनुपर्छ ।

बालबालिकालाई लक्षित गरेर प्रकाशित गरिएको पुस्तक नै उनीहरूको लागि बढी उपयोगी हुन्छ । त्यस्ता पुस्तकबाट मनोरञ्जनसँगै ज्ञान पनि आर्जन गर्छन् । त्यस्तै कतिपय पुस्तक चाहिँ निकै जीवनोपयोगी हुन्छन् । अहिले उनीहरूले नबुझे पनि पछि पढ्न सक्छन् । त्यसलाई उनीहरूले अहिले संग्रह गरेर राख्न सक्छन् । विश्व चर्चित एवं दुर्लभ पुस्तक पनि उपहारमा दिन सकिन्छ ।

खुत्रुके

बच्चालाई बचत गराउने बानीको विकास गराउनु छ भने खुत्रुके पनि उपहारको रूपमा  दिन सकिन्छ । खुत्रुके उपहार दिइयो भने उसमा बिस्तारै बचत गर्ने बानीको विकास हुँदै जान्छ । बचत गर्ने बानीसँगै बच्चामा अनुशासनको पनि विकास हुन्छ ।

बजारमा विभिन्न प्रकारका आकर्षक खुत्रुके उपलब्ध छन् । बच्चाको रुचि अनुसारको रङ्ग र डिजाइनको खुत्रुके उपहार स्वरूप दिन सकिन्छ ।

बोटबिरुवा

खास गरी जन्मदिनको उपहारमा बच्चालाई फूल वा अन्य वनस्पतिको बिरुवा पनि उपहारमा दिन सकिन्छ । जब उनीहरूलाई वनस्पति वा फूलको बिरुवा उपहार दिन्छौँ, त्यसलाई उनीहरूलाई नै रोप्न दिनुपर्छ । अर्थात् रोप्ने व्यवस्था गरिदिनुपर्छ । यसबाट उनीहरूले पर्यावरणको रक्षा गर्नेदेखि प्रकृतिसँग नजिक हुनुपर्छ भन्ने गुणको विकास हुन्छ ।

उनीहरूले रोपेको बोट बिरुवा जति झाँगिँदै र सप्रिँदै जान्छ, उत्ति नै उनीहरूमा खुसी एवं उमङ्ग पनि बढ्दै जान्छ ।

दैनिक प्रयोगमा आउने सामान

बच्चालाई जन्मदिनमा दिने उपहार यस्तो हुनुपर्छ, जसलाई उनीहरूले भरपुर प्रयोग गर्न सकुन् । एक छिनमै रहर पुग्ने वा थन्को लगाउने किसिमको, सजाउने मात्र भन्दा पनि त्यसलाई प्रयोग गर्ने किसिमको हुनुपर्छ । जस्तो, ब्रस, वाटर बोतल, टिफिन, जोमेट्रिबक्स, कलर बक्स  आदि ।

बच्चालाई खानेकुरा पनि उपहारको रूपमा दिन सकिन्छ । बदाम, काजु, पेस्ता र ओखर जस्ता ड्राइफ्रुट उपहारको रूपमा दिन सकियो । यसमा प्रशस्त मात्रामा पोषक तत्त्व हुन्छ र यसको सेवनले बच्चाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्छ ।

बच्चाको रुची अनुसारको उपहार

उपहार खरिद गर्दा मुख्य त बालबालिकाको रुचिलाई ध्यानमा राख्नुपर्छ । उनीहरू के कुरामा रमाउँछन्, कस्तो खेलौना चाहन्छन् ? त्यही अनुसार उपहार खरिद गरिदिनु राम्रो हुन्छ ।

कोही सङ्गीतको रुचि हुने बच्चाको लागि गितार, पियानो, जस्ता बाजाहरू, कोही पढ्न रुचि हुनेहरूको लागि किताबहरू, कोही इलेकट्रोनिक उपकरणमा रुचि राख्नेका लागि ग्याजेटहरू र कोही खेलमा रुचि हुने बच्चाको लागि खेलसँग सम्बन्धित उपहार फुटबल, ब्याट दिन सकिन्छ  ।

 

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?