+
+

कास्कीमा सालीको छोरीलाई बाबुआमा बनेर दिलाइएको नागरिकता रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते २०:०८

१२ साउन, पोखरा । पोखरा-२१ कृस्तिमा आफन्तको छोरीलाई नक्कली बाबुआमा बनेर दिलाइएको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीले रद्ध गरेको छ ।

जनप्रतिनिधिदेखि परिवारसम्मले जालसाँजीपूर्वक दिलाएको भन्दै जिल्ला प्रशासनले रश्मी रानाभाटको नाममा दर्ता भएको नागरिकता रद्द गरेको हो ।

पोखरा-२१ का ज्ञानबहादुर रानाभाट र श्रीमती ताराको छोरी भएको विवरण पेश गरेर जनप्रतिनिधिको सिफारिसमा गत पुस २१ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता जारी भएको थियो ।

यो परिवारमा छोरी नै नजन्मिएको तर छोरीको नाममा नागरिकता जारी भएको घटना बाहिर सार्वजनिक भएपछि प्रशासनले अनुसन्धान थालेको हो ।

प्रारम्भिक अनुसन्धानमै छोरी होइन भन्ने देखिएकाकले र परिवारले पनि स्वीकारेकाले नागरिकता रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

पोखरा-२१ कृस्तिका ज्ञानबहादुर र श्रीमती ताराले आफ्नो छोरी दावी गर्दै सालीको छोरी रश्मी रानाभाटको नाममा नागरिकता दिलाएका हुन् ।

उनीहरुले ज्ञानबहादुरकी श्रीमती ताराकी बहिनीको छोरी भारतमा अनाथ भएपछि ६ कक्षा पढ्दादेखि नै ल्याएर हुर्काएको र उनलाई बचाउनकै लागि नागरिकता दिलाएको स्वीकारेका छन् ।

नागरिकता पाएकी रश्मी अहिले क्यान्सरको चौथो चरणबाट गुज्रिरहेको र उनलाई बचाउनकै लागि सरकारबाट राहत पाइन्छ कि भनेर नागरिकता दिलाएको प्रशासनमा बयान दिएका छन् ।

पोखरा-२१ को वडा सदस्य तथा त्यो बेलाकी कार्यबहाक अध्यक्ष विमला केसी चालिसेको सिफारिसमा रश्मीले गत पुस २१ गते नागरिकता प्राप्त भएको थियो ।

दाबी गरिएको बाबुआमा, रोहबरमा बसेका दाजुको बयान लिएपछि नागरिकता रद्ध गरिएको र थप अनुसनधान जारी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । अनुसन्धानपछि दोषी ठहर भए कानुन बमोजिम कारबाही हुने घिमिरेको भनाइ छ ।

नागरिकता पाएकी रश्मी क्यान्सरसँग जुधिरहेको, परिवार आर्थिक संकटमा रहेको देखिएको तर कानुनबिपरीत भए कसैले छुट नपाएको घिमिरेले बताए ।

‘नागरिकता रद्ध गरेर अनुसन्धान अगाडि बढाएका छौं । दोषी देखिए कानुनले नै दण्ड सजायँको व्यवस्था गरेको छ,’ सिडिओ घिमिरेले भने ।

उनीहरुले कागजी प्रक्रिया भने सबै पूरा गरेको पाइएको छ । २०७५ साल चैत ७ठ गते अनलाइनमार्फत ज्ञानबहादुर रानाभाट बुबा र तारा रानाभाट आमा भएको उल्लेख गर्दै रश्मीको जन्मदर्ता भएको थियो ।

प्रवेशिका पास गरेकी रश्मीको शैक्षिक प्रमाणपत्रमा पनि सोही ब्यहोरा उल्लेख छ । उनीहरुका अनुसार अहिले नागरिक प्राप्त गर्ने रश्मीको बाबुआमा दुबै बितिसकेका छन् ।

पारिवारिक अवस्था पनि विपन्न रहेका, नागरिकता लिने रश्मी पनि क्यान्सर पीडित रहेको एकातिरको पाटो भए पनि नक्कली बाबुआमा बनेर नागरिकता दिलाउनुलाई नेपालको कानुनले अपराध नै ठान्छ ।

कीर्ते नागरिकताका लागि सिफारिस गर्ने जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका अधिकारीसम्मलाई यो विषयले अहिले तनाव सिर्जना गराएको छ ।

वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीले सबै प्रक्रिया र कागजात पूरा गरेर आएकाले शंका गर्ने आधारै नभेटेको बताए ।

डिएनए गरेर नागरिकता सिफारिस गर्न नसकिने उनको जवाफ थियो । तर, आफ्नै गाउँठाउँमा घटनाबारे जनप्रतिनिधिलाई थाहा हुने र यसबारे लुकाउन खोजेको आरोप छिमेकीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?