+
+

कोशीमा सभामुखलाई राजीनामा गराउन कांग्रेस-माओवादी सहमति नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १५:१०
फाइल तस्वीर ।

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । ‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् । सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पुर्‍याउनु पर्छ भन्ने भएको छ,’ बालुवाटार स्रोतले जानकारी दियो ।

सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेन ।

कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन । ‘उद्धव थापालाई नै बनाउने कि अर्को व्यक्ति बनाउने टुंगो लाग्न सकेन,’ बालुवाटार स्रोतले भन्यो ।

मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको स्रोतको भनाइ छ । मुख्यमन्त्रीको सन्दर्भमा पुन छलफल गर्ने सहमति बनेको छ । साथै, बैठकमा राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको छ ।

थप छलफलका लागि आज पुन: वा भोलि बैठक बस्ने नेताहरूबीच सहमति बनेको छ । आज भोलि नै राप्रपासँग पनि छलफल गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?