+
+

चारतारे पार्टीमा उदाएका दुई ताराका चुनौती

वस्तुनिष्ठरूपमा विश्लेषण गर्दा यसपटकको बैठकमार्फत नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसमा गगन-विश्व वैकल्पिक नेताका रूपमा स्थापित भएका छन् । अर्थात् चारतारे पार्टी कांग्रेसमा गगन र विश्व दुई ताराका रूपमा उदाएका छन् ।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८० साउन १४ गते १८:४६

एक वर्ष लामो अन्तरालपछि बसेको कांग्रेसको बहुप्रतीक्षित र बहुचर्चित केन्द्रीय समिति बैठक अपेक्षाकृत उपलब्धिमूलक नभए तापनि तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले अर्थपूर्ण मिश्रित राजनीतिक सन्देश प्रवाह गरेको छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका कार्यसूची र कार्ययोजना केन्द्रीय समितिबाट पारित भएपछि सकारात्मक सन्देश सम्प्रेषण भएको छ र कांग्रेसले पुनर्जीवन पाउने आशाको किरण देखिएको छ।

तर महामन्त्रीद्वयद्वारा प्रस्तुत गरिएको कार्यसूचीमा छलफल नगरी अतिरिक्त र विवादित विषयमा गरिएको अनावश्यक आरोप-प्रत्यारोप र चर्चा फेसबुक प्रत्यक्ष प्रसारणमा देखेपछि जनता र कार्यकर्ता भने निराश भएका छन्। इतिहासमा पहिलो पटक महामन्त्रीले नै नोट अफ डिसेन्ट लेख्नुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति सृजना भएपछि कांग्रेसको भविष्य र रूपान्तरणको सम्भावना थप कमजोर भएको हो ? भन्ने आशंका जन्मिएका छन्।

बैठकको प्रत्यक्ष प्रसारण गरेर आफूलाई शक्तिशाली देखाउने र नेतृत्व परिवर्तनको पक्षमा बहस-पैरवी गर्दै आएका महामन्त्रीद्वयलाई ‘हैसियत देखाइदिने’ सभापति शेरबहादुर देउवाको रणनीति थियो। सभापति भर्सेस् महामन्त्री भएको बैठकको परिदृश्यको आधारमा विश्लेषण गर्दा पुरानो र स्थायी गुट विघटन भई सैद्धान्तिक र वैचारिक आधारमा नयाँ ध्रुवीकरण हुने पूर्व संकेत देखिएको छ, जुन कांग्रेसको भविष्यको दृष्टिले सकारात्मक हो।

तर केन्द्रीय समितिको बैठकमा दृढतापूर्वक नेतृत्वलाई चुनौती दिंदै आत्मविश्वासका साथ आफ्ना विचार, दृष्टिकोण र कार्यक्रम प्रस्तुत गरेको प्रत्यक्ष जनताले देखेपछि गगन-विश्वले थप राजनीतिक माइलेज हासिल गरेका छन्। त्यसैले प्रत्यक्ष प्रसारणको राजनीतिक लाभ पनि प्रकारान्तरले गगन-विश्वले हासिल गरेका छन्।

बैठक मार्फत गगन-विश्वले सभापतिलाई विधानमा अनुबन्धन गर्न तथा पुराना पुस्ताका नेतृत्वपंक्तिलाई सकारात्मक दबाब दिन सफल भएका छन्। बैठकमा जतिसुकै अवाञ्छित बहस-विवाद तथा अतिरन्जित आरोप-प्रत्यारोप भए पनि अन्ततः पार्टी सुदृढीकरण, सुधार र रूपान्तरणका दृष्टिले केही महत्वपूर्ण र दूरगामी निर्णय समेत भएका छन्।

वैकल्पिक नीति, वैकल्पिक नेतृत्व

बैठकमा गगन-विश्वले महामन्त्रीको हैसियतले औपचारिकताका लागि मात्रै एजेण्डा पेश गरेनन्, पार्टी सुदृढीकरण, सुधार र रूपान्तरणका लागि समयतालिका सहितको क्यालेन्डर र कार्ययोजना नै प्रस्ताव गरे। यसैगरी गगनले परिवर्तित सन्दर्भमा कांग्रेसले अनुसरण गर्नुपर्ने सिद्धान्त, विचार र नीतिको बारेमा ४१ पृष्ठ लामो ठोस दस्तावेज प्रस्तुत गरेपछि कांग्रेसमा शक्तिशाली तरंग सृजना भएको छ। बैठकमा स्पष्ट दृष्टिकोण, विचार र कार्ययोजना सहित जसरी आत्मविश्वास र दृढतापूर्वक महामन्त्रीद्वय प्रस्तुत भए, उनीहरू लामो यात्राका लागि विश्वासपूर्ण सहकार्यमा रहेको देखिन्छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक खपतका लागि बोल्ने तर पार्टीका आधिकारिक निकायमा आफ्नो कुरा राख्न नसक्ने भनी देउवा समूहबाट लगाइँदै आएको आरोप निराधार भएको गगन-विश्वले बैठक मार्फत पुष्टि गरेका छन्। वस्तुनिष्ठ रूपमा विश्लेषण गर्दा यस पटकको बैठक मार्फत नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसमा गगन-विश्व वैकल्पिक नेताका रूपमा स्थापित भएका छन्। अर्थात् चारतारे पार्टी कांग्रेसमा गगन र विश्व दुई ताराका रूपमा उदाएका छन्।

१४औं महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा निर्वाचित भएपछि नै ‘भावी नेता गगन-विश्व’ भन्ने न्यारेटिभ बनिसकेको सन्दर्भमा यो बैठक मार्फत थप पुष्टि भएको छ।

सिन्डिकेट प्रणालीको आधारमा बनेको पार्टी संरचनामा अहिले गगन-विश्वको पकड नभए पनि जनता र कार्यकर्ता तथा सदस्य पङ्क्तिमा लोकप्रिय छन्। त्यसैले लोकप्रिय मतका साथ दुवै जना महामन्त्रीमा निर्वाचित भएका थिए। गगनले लोकप्रिय मतका साथ तीनपटक चुनाव जितिसकेका छन् भने परम्परागत रूपमा वामपन्थीहरूको पकड भएको झापाबाट यसपटक विश्वप्रकाशले करिब १५ हजार मतान्तर सहित विजय भएका छन्। यो उनीहरूको केवल प्राविधिक विजय मात्रै होइन, जनता र कार्यकर्ताको उनीहरूप्रतिको आशा, भरोसा र विश्वास निर्वाचन मार्फत व्यक्त भएको हो।

समुन्नत नेपाल, आर्थिक विकास, डेलिभरी, सुशासन, सामाजिक न्याय, जनताप्रति उत्तरदायी सरकार तथा पार्टी सञ्चालन गगन-विश्वका संकल्प र प्रतिबद्धता हुन्। अहिले कांग्रेसजन र जनताले खोजिरहेको नेतृत्व पनि यस्तै हो।

पार्टीको महामन्त्री भएको तथा संसदीय दलको निर्वाचनमा देउवासँग प्रतिस्पर्धा गरेको कारणले मात्रै होइन, सैद्धान्तिक-वैचारिक दृष्टिले पनि गगनले वैकल्पिक नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। त्यसैले गगनले प्रस्ताव गरेको सामाजिक लोकतन्त्र र समुन्नत नेपालको उद्देश्य, अवधारणा र एजेन्डाको बारेमा छलफल गर्नु सान्दर्भिक हुनेछ।

सामाजिक लोकतन्त्र, समुन्नत नेपाल

राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन्। विगत महाधिवेशनमा महामन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गरेको सामाजिक लोकतन्त्र सम्बन्धी दस्तावेजलाई थप व्याख्या र परिमार्जन गर्दै यसपटक गगनले केन्द्रीय समितिमा प्रस्तुत गरेका छन्। सामाजिक लोकतन्त्र सम्बन्धी गगनको दस्तावेजको केन्द्रमा छन्- जनता र लोकतन्त्र।

सामाजिक लोकतन्त्रबारे गगनले सैद्धान्तिक प्रस्ताव मात्रै गरेका छैनन्, समुन्नत नेपाल निर्माण गर्ने विस्तृत नीति, योजना र कार्यक्रम प्रस्ताव गरेका छन्। अवधारणापत्रमा गगनले स्पष्ट दृष्टिकोण सहित उल्लेख गरेका छन्— ‘समुन्नत नेपाल अब हाम्रो पार्टीको कार्यसूची हो, राष्ट्रिय संकल्प हो। समुन्नत नेपालको परिकल्पना साकार पार्नका लागि सामाजिक लोकतन्त्र हाम्रो सिद्धान्त हो।’

सामाजिक लोकतन्त्रलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने आत्मविश्वास र संकल्पका साथ जसरी बैठकमा प्रस्तुत गरे, त्यसको आधारमा विश्लेषण गर्दा गगनले लामो राजनीतिक यात्राका लागि स्पष्ट सैद्धान्तिक, वैचारिक तथा नीतिगत मार्गचित्र तय गरेको देखिन्छ। सैद्धान्तिक, वैचारिक तथा नेतृत्व सबै दृष्टिले अहिले कांग्रेसलाई ‘डिपार्चर’ चाहिएको थियो। गगनले उपयुक्त समयमा बहुप्रतीक्षित बहसको प्रारम्भ गरेका छन्। त्यसैले गगनको प्रस्तावप्रति पार्टीमा गम्भीर अध्ययन-अनुसन्धान, बहस-विमर्श र छलफल-परामर्श गरी निष्कर्षमा पुग्ने उपयुक्त घडी आएको छ।

 

हालसम्म गगनको लोकप्रिय, कुशल वक्ता, विद्रोही, संघर्षशील, पार्टीभित्रका स्थायी प्रतिपक्षी नेताको पहिचान र बिम्ब बनेको थियो। तर केन्द्रीय समिति बैठकमा आत्मविश्वासपूर्वक आफ्ना दृष्टिकोण, विचार र एजेण्डा राखेपछि अब भिजनरी नेताको रूपमा स्थापित भएका छन्

यसैगरी सामाजिक लोकतन्त्रको सिद्धान्त र समुन्नत नेपालको कार्यसूची कार्यान्वयन यथास्थितिको कांग्रेसबाट सम्भव नभएको निष्कर्ष निकाल्दै रूपान्तरणका ठोस नीति, रणनीति र कार्ययोजना समेत पेश गरेका छन्। यदि गगनको प्रस्ताव अनुसार कांग्रेसलाई सुधार र रूपान्तरण गरियो भने नयाँ कांग्रेसको जन्म हुनेछ र नयाँ भनिएका पार्टीहरू असान्दर्भिक हुनेछन्।

यो दस्तावेजलाई अब गगनले महासमितिको बैठकमा लैजानुपर्छ। किनभने निकट भविष्यमा महाधिवेशन र नीति महाधिवेशन नहुने भएकाले सैद्धान्तिक-वैचारिक तथा नीतिगत विषयमा बहस गरी निष्कर्षमा पुर्‍याउन महासमिति नै उपयुक्त मञ्च हो।

यद्यपि कांग्रेस जस्तो शास्त्रीय र परम्परावादी पार्टीले गगनको प्रस्ताव अनुसार तत्कालै सामाजिक लोकतन्त्रलाई आफ्नो सिद्धान्तका रूपमा अख्तियार गर्ला ? गगनको प्रस्ताव र प्रयास कति सार्थक होला ? त्यो भविष्यले निर्धारण गर्ला। तर पार्टीको सैद्धान्तिक-वैचारिक तथा नीतिगत बहसमा गगनले सशक्त हस्तक्षेप गरेका छन्।

२१औं शताब्दीका जटिल राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चुनौतीको सामना गर्न शास्त्रीय र परम्परागत सिद्धान्त, विचार र नीतिले सम्भव छैन। परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिदृश्यमा कांग्रेसका सिद्धान्त, विचार र नीति पुनः परिभाषा, पुनर्व्याख्या र अद्यावधिक गर्नुपर्ने घडी आएको थियो। त्यसैले गगनको प्रस्तावले कांग्रेसभित्र गम्भीर सैद्धान्तिक-वैचारिक तथा नीतिगत बहसको प्रारम्भ गरेको छ।

हालसम्म गगनको लोकप्रिय, कुशल वक्ता, विद्रोही, संघर्षशील, पार्टीभित्रका स्थायी प्रतिपक्षी नेताको पहिचान र बिम्ब बनेको थियो। तर केन्द्रीय समिति बैठकमा आत्मविश्वासपूर्वक आफ्ना दृष्टिकोण, विचार र एजेण्डा राखेपछि अब भिजनरी नेताको रूपमा स्थापित भएका छन्।

२०४६ मा बहुदलीय लोकतन्त्र स्थापना भएपछिको सत्ता राजनीतिको कालखण्डमा कांग्रेसका वैचारिक नेताहरू प्रदीप गिरी, नरहरि आचार्यहरूले पनि सैद्धान्तिक, वैचारिक र नीतिगत दृष्टिले कांग्रेसमा हस्तक्षेप गर्न प्रयास गरेका थिए। गिरी र आचार्यपछि गगनले गरेका छन्।

जमेको जोडी, मिलेको केमेष्ट्री

पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चहरूमा गगन-विश्वबीच एक-अर्काप्रति सम्मान, आत्मीयता र घनिष्ठतापूर्ण सम्बन्ध प्रतिबिम्बित भएको देखिन्छ। गगन-विश्वबीच नेता र कार्यकर्ताको होइन कि सहकर्मी, सहयात्री र सहयोद्धाको सम्बन्ध भएको प्रतीत हुन्छ। त्यसैले गगन-विश्वको जोडी मात्रै जमेको छैन कि केमेस्ट्री पनि मिलेको देखिन्छ।

गगन-विश्वका केही विशेषता साझा छन् भने केही फरक र विशिष्ट क्षमता छन्। जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरी आफ्ना विचार स्पष्ट रूपमा राखेर जनतालाई कन्भिन्स गर्न सक्ने कुशल वक्ता गगन-विश्व दुवै जनताबीच लोकप्रिय र प्रविधिमैत्री छन्। गगन-विश्व दुवैले लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील, बहुलवादी र समावेशीकरणवादी सैद्धान्तिक-वैचारिक धारको नेतृत्व गर्छन् भने जनताप्रति उत्तरदायी भएर राज्य तथा पार्टी सञ्चालन गर्ने संकल्प गर्दै आइरहेका छन्।

गगनको संघर्ष, विद्रोह र जुझारूप्रधान व्यक्तित्व छ भने विश्वमा शालीनता, भद्रता र भावुकता प्रधान छ। राष्ट्रिय राजनीतिदेखि पार्टीका आन्तरिक मामलामा गगनले साहसिक र जोखिमपूर्ण निर्णय लिन्छन्। तर विश्वले परिस्थिति र परिणामको सूक्ष्म विश्लेषण गरी रणनीतिक निर्णयलाई प्राथमिकता दिन्छन्। त्यसैले गगन रणनीतिक र कार्यनीतिक दुवै दृष्टिले दृढतापूर्वक अडान लिन्छन्। तर समय र परिस्थिति अनुसार रणनीतिक रूपमा अडान लिए पनि कार्यनीतिक दृष्टिले लचक हुने विश्वको छवि बनेको छ।

‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ र ‘दलमा रूपान्तरण, देश रूपान्तरणको अनिवार्य शर्त’ गरी महामन्त्रीको उम्मेदवारको रूपमा विश्वप्रकाशले पनि दुइटा दस्तावेज प्रकाशित गरेका थिए। पार्टी सदस्यता, ल्याटरल इन्ट्री (ज्ञान, योग्यता, क्षमता र अनुभवका आधारमा नियमित प्रक्रिया होइन, विशेष प्रक्रिया अनुसरण गरी पार्टी प्रवेश), क्रियाशील सदस्यहरूबाटै नेतृत्व छनोट, जुनसुकै तहको जनप्रतिनिधि हुन पनि क्रियाशील सदस्यहरूबीच प्राइमरी इलेक्सन जस्ता इन्ट्री पलिसीमा गगनको प्राथमिकता छ भने विश्वप्रकाशको एक्जिट पलिसीमा।

विश्वप्रकाशले आफ्नो एक्जिट पलिसीलाई यसरी सूत्रात्मक रूपमा व्याख्या गरेका छन् – एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसद। विश्वप्रकाशको प्रस्तावप्रति पुरानो पुस्ताका नेतृत्वपंक्ति बाहेक गगन, प्रदीप पौडेल लगायत पार्टीका अधिकांश नेता, कार्यकर्ता र सदस्यहरू सहमत भएको देखिन्छ।

गगनको प्रस्तुति व्याख्यात्मक हुन्छ, विश्वप्रकाशको सूत्रात्मक। गगनको पहिचान संघर्षप्रधान छ भने विश्वको संघर्षका साथै समन्वयकारी। गगनको रुचि सिद्धान्त र विचार छ भने विश्वको प्राथमिकता नीति र रणनीति। त्यसैले नेतृत्व र व्यक्तित्व दुवै दृष्टिले गगन-विश्व एक-अर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक र समपूरक हुन्।

कुनै पनि पार्टीमा एउटै पुस्ताका नेताहरूले एकले अर्कालाई स्वीकार गरेर सहकार्य गरेको पाइँदैन। उनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ, आरोप-प्रत्यारोप छ। तर गगन-विश्वले सहकार्य गरेर कांग्रेसमा मात्र होइन, अन्य दलका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र नजिर स्थापित गरेका छन्।

गगन-विश्वको सहकार्य तत्कालीन, रणनीतिक र अस्थायी हो। तर स्थायी, दीर्घकालीन र वैचारिक होइन। अन्ततः उनीहरूका बीचमा पनि प्रतिस्पर्धा मात्रै होइन, संघर्ष नै हुने आशंकापूर्ण विश्लेषण, प्रक्षेपण वा भविष्यवाणी पनि गरिएका छन्।

सत्ता, शक्ति र पदलाई नै सर्वोच्च प्राथमिकता दिएर धोका, षड्यन्त्र र छलकपटको राजनीति हुँदै आएको पृष्ठभूमिमा त्यस्तो भविष्यवाणी गरिनु अस्वाभाविक पनि होइन। तर उनीहरूबीचको सहकार्य र दीर्घकालीन समझदारीमा नै कांग्रेस र उनीहरूको भविष्य पनि अन्तर्निहित वास्तविकता गगन-विश्व जस्ता स्मार्ट राजनीतिक खेलाडीले नबुझ्ने प्रश्नै भएन।

सामूहिक नेतृत्व, सहकार्यको संस्कार

बीपी जस्तो सर्वस्वीकार्य, करिस्मेटिक र लोकप्रिय नेतृत्व हुँदा पनि कांग्रेसमा एकल होइन, सामूहिक नेतृत्वको अवधारणा थियो। बीपी, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई कांग्रेसका चार तारा भनिन्थ्यो। २०३४ सालको पटना सम्मेलनबाट बीपीले नै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालाई त्रय नेताको सामूहिक नेतृत्वको अवधारणा अनुसार कांग्रेसको नेतृत्व सुम्पिएका थिए।

यही सामूहिक नेतृत्वको कारणले नै कांग्रेसलाई पुनर्जीवन दिएको थियो र २०४६ को ऐतिहासिक जनआन्दोलन सफल भई बहुदलीय लोकतन्त्र स्थापना भएको थियो। २०४८ पछि सिंह, भट्टराई, कोइरालाबीच शक्ति संघर्ष चर्किएपछि त्रय नेताबीच सहमति कायम गर्ने तथा कांग्रेसलाई संकटबाट जोगाउने उद्देश्यले रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य (आरएसएस) को अर्को त्रय नेताको समूह बनेको थियो। आरएसएसले पनि तत्कालीन सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गरेर पार्टीलाई दुर्घटनाबाट जोगाउन प्रयास गर्दै आएका थिए।

गगनलाई संसदीय दलको नेता बनाउन विश्वप्रकाशले सारथिको भूमिका निर्वाह गरेपछि तथा प्रदीप पौडेलले गगनको समर्थक भएपछि पुन: युवा पुस्ताका त्रय नेताको रूपमा चित्रण गरी पार्टीका कार्यकर्ताका साथै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत व्यापक चर्चा गरिएको थियो।

नेपालको सन्दर्भमा मात्रै होइन, सामूहिक नेतृत्वको अवधारणा र अभ्यास विश्वका अन्य देशहरूमा पनि छ। बेलायतको लेवर पार्टीका टोनी ब्लेयर र गोर्डन ब्राउनको जोडी पनि यस्तै थियो। ब्लेयर र ब्राउनको सहनेतृत्व र सहकार्यमा नै लेवर पार्टीलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी नयाँ लेवरको रूपमा स्थापित गर्न सफल भएका थिए।

राजनीति र उमेर दुवै दृष्टिले ब्लेयर भन्दा ब्राउन सिनियर थिए। तर ब्लेयरको भिजन, लोकप्रियता र संगठन गर्न सक्ने क्षमता भएको कारणले ब्राउनले नै ब्लेयरलाई नेताको रूपमा प्रस्ताव गरेका थिए। शायद ब्राउनले ब्लेयरलाई अगाडि सारे जस्तै भिजन, लोकप्रियता र छविको मूल्याङ्कन गरेर होला, उदारतापूर्वक विश्वप्रकाशले पनि गगनलाई संसदीय दलको नेताको रूपमा सहर्ष स्वीकार गरेको देखिन्छ, जुन संस्कार अनुकरणीय छ।

अहिले भारतमा नरेन्द्र मोदी र अमित शाहको जोडीले पनि बीजेपीलाई नयाँ राजनीतिक उचाइमा पुर्‍याउन सफल भएका छन्। इतिहासको कुनै कालखण्डमा प्रचण्ड र बाबुराम भट्टराईबीच पनि यस्तै सम्बन्ध थियो। माओवादी पार्टी र सशस्त्र विद्रोहले जुन उचाइ हासिल गर्‍यो, त्यो प्रचण्ड-बाबुरामको सहकार्यको प्रतिफल थियो।

दुई ताराको चुनौती, चार ताराको अवसर

तर गगन र विश्व दुवै चुनौतीरहित तथा कमजोरीरहित छैनन्। पार्टी भित्र र बाहिर दुवैतिरबाट उनीहरूलाई चुनौती छन्। अब गगन-विश्व माथि थप चौतर्फी आक्रमण हुनेछन। सम्भव भएसम्म गगन-विश्वलाई विभाजित गर्ने, यदि सम्भव नभए दुवैलाई किनारा लगाउने रणनीति पार्टीका प्रतिस्पर्धी नेताहरूले अख्तियार गर्नेछन्। उदीयमान नेता भएकाले एमाले, माओवादी, रास्वपा लगायत सबै प्रमुख पार्टीहरूले गगन-विश्वलाई नै आक्रमणको तारो बनाउने छन्। त्यसैले गगन-विश्वका आगामी दिनहरू थप जटिल, कठिन र चुनौतीपूर्ण छन्।

रास्वपाका सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले तथा काठमाडौंका मेयर बालेन्द्र शाहको उदय र लोकप्रियताले गगन-विश्वलाई पनि चुनौती बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जाल र युवा पुस्ताका बीचको लोकप्रियता कति दिगो रहला ? त्यो भविष्यले निर्धारण गर्ला। तर उनीहरूको उदयले कांग्रेस र गगन-विश्व दुवैलाई अर्थपूर्ण मनोवैज्ञानिक दबाब सृजना भएको छ। त्यसैले रास्वपा र रवि, स्वर्णिम र बालेन्द्रको उदय तथा लोकप्रियताबाट गगन-विश्वले समयमै शिक्षा लिनु स्वयं उनीहरूकै राजनीतिक स्वास्थ्यका दृष्टिले लाभदायक हुनेछ।

लामो राजनीतिक यात्रामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदै आएका उनीहरूको महामन्त्री भएपछि वास्तविक परीक्षा शुरू भएको थियो। अब त अग्निपरीक्षाका लागि बलिवेदीमा नै उत्रिएका छन्

१५औं महाधिवेशनबाट नेतृत्वमा पुग्न आकांक्षी पुरानो पुस्ताका नेताहरूसँगको प्रतिस्पर्धा त स्वाभाविक नै भयो। पुराना पुस्ताका वरिष्ठ नेतृत्वपंक्तिको विश्वास आर्जन गर्नु सबैभन्दा जटिल र चुनौतीपूर्ण हुने देखिएको छ। यसै गरी प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, उदयशमशेर राणा, प्रतिमा गौतम, लीला बोखिम, प्रकाश स्नेही, रञ्‍जित कर्ण, नैनसिंह महर, राजीव ढुंगाना, सुभास पोखरेल, भूपेन्द्रजंग शाही लगायतका आफ्नै पुस्ताका सहकर्मीको राजनीतिक व्यवस्थापन पनि कम जटिल छैन।

समय र राजनीतिक व्यवस्थापन तथा सहज पहुँचका दृष्टिले कांग्रेस पंक्तिमा गगन-विश्वका बारेमा व्यापक गुनासो र टिप्पणी छ। आधुनिक युगका प्रविधिमैत्री गगन-विश्व जस्ता युवा पुस्ताका स्मार्ट नेताहरूले समय र राजनीतिक व्यवस्थापनको बारेमा कार्यकर्ता पंक्तिबाट गुनासो र टिप्पणी हुनु स्वाभाविक होइन। जनता र युवामैत्री गगन-विश्व संचारमाध्यम तथा सामाजिक सञ्जालमैत्री छन्, जुन सकारात्मक हो। तर सरकार र पार्टी प्रमुख हुने आकांक्षा सहित तीव्र गतिमा अगाडि बढेका उदीयमान नेताहरूमा समयको कालखण्डसँगै राजनीतिक ‘म्याच्युरिटी’ पनि विकसित हुनुपर्ने सुझावलाई पनि उपेक्षा गर्नुहुँदैन।

आंशिक भए पनि कार्यकारी अधिकार सहितको महामन्त्री भएको कारणले सुविधा वा सम्झौताको राजनीति गर्न चाहेको भए गगन-विश्व दुवैलाई उत्तम अवसर थियो। यदि सम्झौता गर्न चाहेको भए सम्भवत: पहिलो प्राथमिकता देउवाले पनि गगन-विश्वलाई नै दिने थिए।

राजनीति भनेको केवल सत्ता होइन, सिद्धान्त हो; केवल सम्झौता होइन, संघर्ष हो। सत्ता र सम्झौताको राजनीति सहज हुन्छ। तर सिद्धान्त र संघर्षको राजनीति जटिल, कठिन र चुनौतीपूर्ण हुन्छ। गगन-विश्वले सुविधा, सम्झौता र सत्ताको राजनीति भन्दा सिद्धान्त, संघर्ष र विचारको जटिल र कठिन मार्ग अवलम्बन गरेको देखिन्छ। एउटा सफल राजनीतिज्ञमा सपना, संकल्प र संघर्ष चाहिन्छ, अहिले त्यो सपना, संकल्प र संघर्ष गगन-विश्वको अनुहारमा प्रतिबिम्बित भएको देखिन्छ।

गत महिना गगन-विश्वले आह्वान गरेको जिल्ला सभापतिहरूको बैठक, केन्द्रीय समितिमा गगन-विश्वको ठोस दृष्टिकोण र आत्मविश्वासपूर्ण प्रस्तुति र संसदीय दलको नेतृत्व परिवर्तनका लागि गगनले राखेको स्पष्ट धारणाको आधारमा विश्लेषण गर्दा आगामी दिनमा उनीहरूले पार्टीमा थप नेतृत्वदायी र प्रोएक्टिभ भूमिका निर्वाह गर्न दृढ भएको देखिन्छ ।

उपरोक्त बृहत्तर क्यानभासबाट विश्लेषण गर्दा गगन-विश्वको सहकार्य, सहनेतृत्व र सहअस्तित्वमा नै कांग्रेस र उनीहरूको भविष्य अन्तर्निहित छ। के जनता र कार्यकर्ताको भावनाअनुसार सहअस्तित्वको आधारमा सहकार्य गरेर गगन-विश्वकै शब्दमा बलियो कांग्रेसले बदलिएको नेपालको नेतृत्व गर्ने उनीहरूकै संकल्प साकार पार्न सक्लान् ? लामो राजनीतिक यात्रामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदै आएका उनीहरूको महामन्त्री भएपछि वास्तविक परीक्षा शुरू भएको थियो। अब त अग्निपरीक्षाका लागि बलिवेदीमा नै उत्रिएका छन्।

ट्वीटर: @GejaWagle

लेखकको बारेमा
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?