+
+

मौद्रिक नीतिपछिको पाँच दिनमा १२७ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १५:३६

१४ साउन, काठमाडौं । मौद्रिक नीतिपछिको लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसको प्रभावले गत आइतबार नेप्से ६३.२४ अंकले बढेर पछिल्लो एक वर्ष यताकै उच्च विन्दु २२२७.१६ बन्द भएको थियो ।

तर, सोही दिन आयोजित पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जामा नभई ५० लाख रुपैयाँसम्मको जोखिम भार १०० प्रतिशतमा झार्ने बताएका थिए । त्यसअघि २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेको थियो। ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशतमा झार्ने विषयलाई राष्ट्रबैंकले एकीकृत निर्देशिकामा पनि ल्याइसकेको छ ।

त्यसपछि सोमबारबाट नै नेप्से घट्न सुरु हुँदा ५ दिनमा नेप्सेमा करिब १२७ अंकको गिरावट भएको हो ।

यो साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ ।

इन्ट्रा–डे कारोबारमा ४७.१७ अंकको गिरावट हुँदा नेप्से २०९१.५० को विन्दुसम्म झरेपछि अन्तिम समयमा केही सुधारसहित २१०० भन्दा माथि बन्द भएको हो । आइतबार नेप्सेमा म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.३२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०८ प्रतिशत र व्यापार उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । यता म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा गिरावट सुरु भएसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार र सोमबार ४ अर्ब नाघेको कारोबार रकम मंगलबारबाट ३ अर्ब भन्दा तल भरेको थियो । आइतबार पनि नेप्सेमा ४६ हजार ३२७ वटा कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ५० करोड २९ लाखको कारोबार भएको छ । त्यसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १४ करोड ७९ लाखको कारोबार हुँदा सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २१ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीका सेयर कारोबार भएको छ । त्यसमध्ये १८९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १८ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य भने स्थिर छ । आइतबार कारोबार भएका कम्पनीमा पिपुल्स पावर कम्पनीको सेयरमुल्य सर्वाधिक ३.५८ प्रतिशतले वृद्धि हुँदा सुपरमाई हाइड्रोपावरको सेयरमूल्य ३.६ प्रतिशतले बढेको छ ।

यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?