+
+

नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि

सहदेव चौधरी सहदेव चौधरी
२०८० साउन १५ गते १४:४२

१५ साउन, काठमाडौं । नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ ।

सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको हो ।

सन् २०२२ मा १०६ वटा सूचना प्रविधि कम्पनी र १४ हजार ७२८ स्वतन्त्र निर्यातकर्ता (फ्रिलान्सर) यो सेवा निर्यात गरेका हुन् ।

यस्तै घरमै बसेर ६६ हजार ५०९ जना फ्रिलान्सरहरू डिजिटल प्ल्याटफर्ममा आईटी सेवा निर्यात गरिरहेको अध्ययनले देखाएको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटीको योगदान १.४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा आईटी सेवाको योगदान ५ दशमलव ५ प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ ।

 

आईटी कम्पनीले सन् २०२२ मा २० करोड १० लाख, आईटी फ्रिलान्सरले ६ करोड ९० लाख र सूचना प्रविधि सेवा इनेबल सर्भिस (आईटीईएस) फ्रिलान्सरले २४ करोड ४० लाख अमेरिकी डलर बराबरको सेवा निर्यात गरेको अध्ययनमा उल्लेख छ ।

यस्तै सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा ३१ करोड ३० लाखको आईटी सेवा निर्यात भएको थियो । यस्तै सन् २० सय २० मा ३० करोड ८० लाख बराबरको आईटी सेवा नेपालबाट निर्यात भएको थियो ।

आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।

नेपालमा आईटी सम्बन्धी सीप सीमित मात्रामा रहेको रिपोर्टले देखाएको छ ।नेपालमा आईटी क्षेत्रको विकासका लागि यस क्षेत्रमा जनशक्तिको सीप र क्षमता बढाउनुपर्ने, उच्च गतिको इन्टरनेटको पहुँच बढाउनुपर्ने सुझाव पनि अध्ययनले देखाएको छ ।

नेपाली फ्रिलेयान्सरले वार्षिक कति कमाउँछन् ?

खासमा फ्रिल्यान्सरको रूपमा सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनमा नेपाली फ्रिल्यान्सरहरूको महत्त्वपूर्ण छ योगदान छ । हालसम्‍म सूचना प्रविधि सेवा निर्यात गर्ने फ्रिल्यान्सरको यकिन तथ्याङ्क नेपालसँग थिएन् ।

तर,  आज सर्वाङ्गीन विकास अध्ययन केन्द्र (आईआईडीएस)ले सार्वजनिक गरेको ‍अध्ययनबाट नेपालले सन २०२२ सम्म ६६ हजार ५०९ जना फ्रिल्यान्सर रहेको तथ्याङ्क देखाएको छ ।

आईआईडीएसका अनुसार क्रेरिक एण्ड डेटा इन्ट्रीमा ७ हजार २१२, क्रियटिभ एण्ड मल्टिमिडियामा ७ हजार ३५५, प्रोफेसनल सेवामा २६७, सेल्स एण्ड मार्केटिङ सपोर्टमा ३ हजार ३२६, सफ्टवेयर विकास र प्रविधिमा १४ हजार ७२८, डिजिटल प्लेटफर्ममा लेख्ने र ट्रान्सलेसन गर्नेमा ५ हजार ६६८ जना रहेका छन् ।

यस्तै सन् २०२१ मा आईटी सेवा निर्यात गर्ने ४२ हजार ८४७ रहेकोमा सन् २०२२ मा त्यसको संख्या ६६ हजार पुगेको छ । वार्षिक रुपमा नेपालबाट फ्रिल्यान्सरको रुपमा सेवा प्रदान गर्नेको संख्या बढ्दो छ ।

आईडीआईएसको अध्ययनमा फ्रिल्यान्सरले औषतमा वार्षिक ४ हजार ७२३ अमेरिक डलर अर्थात ६ लाख १३ हजार ९९० रूपैयाँ कमाउने गरेको देखिएको छ ।ती फ्रिल्यान्सर मध्ये ७० प्रतिशतले आईटीसँग सम्बन्धी कोर्ष पूरा गरेका छन् ।

नेपालको जीडीपमा १.४ प्रतिशत योगदान

सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा आईटी सेवा निर्यातले नेपालको जीडीपमा १.४ प्रतिशत योगदान गरेको देखिएको छ ।

नेपालको जीडीपीमा वार्षिक आईटी सेवा सेवा निर्यातको योगदान ०.५ प्रतिशतले बढेको छ । सन् २०२१ मा आईटी सेवा निर्यातले जीडीपीमा ०.९ प्रतिशतको योगदान थियो । त्यस्तै सन् २०२० मा त्यस्तो योगदान १ प्रतिशत मात्रै थियो ।

यतिमात्र होइन आईटी सेवा निर्यातले नेपालको विदेशी मुद्रा सञ्चितिमा साढे ५ प्रतिशतको योगदान गरेको छ । त्‍योभन्दा पनि अनौठो कुरा त के छ भने आईटी कम्पनीको भन्दा पनि फ्रिल्यान्सरले नेपालको जीडीपी र विदेशी मुद्रा सञ्चितिमा बढी योगदान गरेको आईआईडीएसको रिपोर्टमा उल्लेख छ ।

आईआईडीएसका अनुसार जीडीपीतर्फ सन् २०२२ मा आईटी कम्पनीले ०.५ प्रतिशत र फ्रिल्यान्सरले ०.८ प्रतिशत योगदान गरेका छन् भने विदेशी मुद्रा सञ्चितितर्फ आईटी कम्पनीको २.२ प्रतिशत मात्र योगदान छ भने फ्रिल्यान्सरको ३.४ प्रतिशत योगदान रहेको छ । यसले फ्रिल्यान्सरले १.२ प्रतिशतले बढी विदेशी मुद्रा सञ्चितिमा आफ्नो योगदान दिएको पाइएको छ ।

त्यस्तै सन् २०२२ मा मात्रै १०६ वटा सूचना प्रविधि कम्पनी र करिब ६६ हजार ५०९ फ्रिल्यान्सरले ६७ अर्ब बढीको सेवा निर्यात गरेका छन् ।

आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

सेकेण्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लेबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?