+
+

बालुवाटारको ‘सहमति’ बानेश्वर पुग्दा विमति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते २१:१८

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच २४ घण्टामा दोस्रो पटक भेट भयो । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित थिए, सोमबार प्रचण्ड र ओली मात्र बसे ।

छलफललगत्तै संसदमा सञ्चालन हुने खबर सभामुख देवराज घिमिरे कहाँ पुग्यो । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले आकस्मिक समय लिएर सुन तस्करीबारे प्रश्न उठाउने र गृहमन्त्रीले जवाफ दिने समझदारी भएको भनियो ।

त्यही खबर गृहमन्त्री कहाँ पनि पुग्यो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थताका कारण आइतबारदेखि नै मन्त्रालय गएका थिएनन् । तर संसदमा जवाफ दिनुपर्ने खबर आएपछि संसद पुगे ।

सभामुखले पनि प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाए । उनले संसद सञ्चालन हुने सहमति भएको खबर आएको जानकारी गराए र शून्य र विशेष समय राख्ने छलफल गरे ।

तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । शून्य र विशेष समयमा जानुअघि सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाउनुपर्ने उनले बताए ।

तर सत्तारुढ दलका प्रमुख सचेतकहरुले गृहमन्त्रीले जवाफ दिने सहमति भएको बताए । यदि एमाले त्यो सहमतिमा नअड्ने हो भने पनि सरकारले जवाफ दिन पाउनुपर्ने उनीहरुरुले बताए ।

अघिल्लो बैठकमै प्रतिपक्षी सांसदहरुले सुनको विषय उठाएको भन्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘उहाँहरुले प्रश्न गरेपछि जवाफ दिन त पाउनुपर्‍यो नि !’

त्यसपछि एमाले प्रमुख सचेतक/सचेतक दलमा छलफल गर्ने भन्दै गए । फर्किएर आएपछि एमाले नेताहरुले छानबिन समिति बनाउँछौं भनेर सरकारले भन्नुपर्ने बताए ।

माओवादी प्रमुख सचेतक पाण्डेले सरकारको विषय भएकाले गृहमन्त्रीसँग छलफल गर्न सुझाए ।

सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठसँग छलफल गरे । श्रेष्ठले सत्तारुढ प्रमुख सचेतक/सचेतकहरुलाई ब्रिफिङ गरेअनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार जवाफ दिन आएको बताए । साथै उनले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भएको सहमति भन्दा आफू फरक जान नसक्ने बताए ।

पाण्डे भन्छन्, ‘प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्नुभयो र सल्लाह गर्न जानुभयो ।’

प्रधानमन्त्रीलाई भेटेपछि श्रेष्ठले प्रतिपक्षी दलका नेतासँग जवाफ दिने सहमति भएकाले छानबिन समिति बनाउने प्रतिवद्धता जनाउन नसक्ने खबर पठाए । प्रमुख सचेतकहरुले त्यही सन्देश सभामुखसम्म पुर्‍याए ।

सभामुखले दलहरुबीच सहमति नभएको अवस्थामा सदन चलाउँदा अघिल्लो बैठकभन्दा फरक नहुने भएकाले सूचना टाँसेर बैठक स्थगित गरे ।

बैठकपछि एमाले सांसद गोकुल बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले भोलि मंगलबारसम्म समय मागको बताए ।

‘सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस्’ प्रश्न उठिसकेपछि ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने भन्दै उनले भने, भोलि बनायो भने संसद चल्छ ।’

माओवादीका प्रमुख सचेतक पाण्डे भने आफूहरुले कुनै समय मागेको बताउँछन् । ‘बाहिर उहाँहरुले सरकारले समय माग्यो भनेर प्रचार गर्नु भएको छ, सरकारले कुनै समय मागेको छैन’ उनले भने, ‘कस्तो छानबिन समिति भन्नेमा उहाँहरु नै प्रष्ट हुनुहुन्न । संसदीय हो भन्दा होइन भन्नुहुन्छ । सरकारले त तस्करीको जालो तोड्न आफैं जुटेकै छ ।’

यसअघि एमालेले सहमति गर्ने, त्यसबाट पछि हट्ने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘साँच्चै भन्दा म त आजित भइसकेँ ।’

एमाले सचेतक महेश बर्तौला भने सहमति गरेर बोली फेरेको दाबी गलत भएको बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीले मिलाउनुपर्‍यो भन्नुभएको हो, अध्यक्षज्यूले मिलाएर जाउँ भन्नुभएको हो । कुनै नेगोसिएसन भएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?