+
+

साउन र तीजमा कस्तो फेसन चल्तीमा ?

शैलजा अधिकारी, फेसन डिजाइनर शैलजा अधिकारी, फेसन डिजाइनर
२०८० साउन १६ गते ११:५७

अहिले साउनको महिना चलिरहेको छ । केही समयपछि तीज पनि आउँछ । साउन र तीजको प्रसंग किन निकालिएको हो भने यो समयमा महिलाहरु परम्परागत पहिरन र गहनामा सजिन रुचाउँछन् ।

सामान्य दिनमा क्याजुअल र अफिसियल पहिरनमा ठाँटिनेहरु साउनको बेला भने हरियो, रातो, पहेंलो रंगका सारी, कुर्ता, त्यसमाथि हातभरि चुरा, मेहेन्दी, जुत्ता र मेकअपमा सजिन्छन् । तीजमा पनि यसैगरी महिलाहरु सजिन्छन् । फरक साउनमा हरियो र पहेंलो रंगका पहिरन हुन्छन् भने तीजमा रातो रंगका ।

समयसँगै साउन र तीजको फेसन पनि परिमार्जित हुँदै आएको पाइन्छ । आजभोलि पहिला जस्तो भारी लुगा र गरगहना लगाउने चलन खास छैन।  ‘लेस इज मोर’ भन्ने कुरालाई अहिलेका महिलाहरुले पछ्याएको पाइन्छ । अर्थात् थोरै लगाउने तर आकर्षक देखियोस् ।

अहिले साउन र तीजमा कस्तो फेसन शैली चलिरहेका छन् ? यसबारे चर्चा गरौं ।

उज्यालो पहिरन

मुख्यतया साउनको ब्रत र तीजमा सारी नै लगाइन्छ । उज्यालो रातो सादा, थोरै बुट्टा भरेको, बोर्डर मात्र भरेको वा प्रिन्टेट सिम्पल सारी महिलाहरुको रोजाइमा परेका छन् । त्यस्तै अविवाहित युवतीका लागि भने गुलाबी रंगको राम्रो हुन्छ । यस्तो उज्यालो रंगले अनुहार झन् चम्किलो बनाउन मद्दत गर्छ । यसबाहेक रफल सारी, कुर्ता, लेहेंगा, वानपिस, कफ्टान, गाउन लगाउन पनि सकिन्छ ।

पहिला धेरै बुट्टा भरेको सारी रुचाइन्थ्यो भने अहिले कम बुट्टा भएको सारीको फेसन चलेको छ ।

नेक ब्लाउज

आजभोलि भी नेक र भी डिप नेकका ब्लाउज चलेका छन् । त्यस्तै ब्लाउजको बाहुलामा फूल र स्लेभेस फेसनमा छ । हाफ र क्वाटर बाहुला खासै चलेको छैन । यसमा सादा सारी वा कम भरेको सारीमा ब्लाउज अलि हेभी मिलाएर लगाउन सकिन्छ । यसले महिलालाई अझ स्टाइलिस लुक दिन्छ । चुरा कस्तो र कति लगाउने ब्लाउजमा बाहुलामा भर पर्छ । यदि फुल बाहुला भएमा थोरै चुरा लगाउने र स्लेभेस भएमा हातभरि लगाउन सकिन्छ ।

साधारण चुरा

आजभोलि डिजाइनरको विचार पनि लेस इज मोर भन्ने स्लोगन चलेको छ । भारी चुरा, गरगहना लगाउनुभन्दा आफूले लगाएको लुगासँग सुहाउँदो चुरा मिलाएर लगाउनुपर्छ । अविवाहितले केटीहरुले बाला लगाउने फेसन छ भने विवाहित महिलाहरु भने सकेसम्म हातभरि सिसाका चुरा लगाउँछन् । चुरामा पनि हेभी बुट्टा भरेको भन्दा पनि सिम्पल साधारण थोरै बुट्टा भरेका र सादा जुरा फेसनमा चलेको छ । लुगासँग मिलाएर चुरा लगाउँदा महिलाहरु एकदम आकर्षक देखिन्छ । बजारमा चुरा सिसा, प्लास्टिक, मेटलमा विभिन्न डिजाइनका पाइन्छ । जुन इच्छाअनुसार सुहाउने गरी लगाउन सकिन्छ ।

गरगहना

हेभी गरगहना वा धेरै गरगहना लगाउनुभन्दा पनि साधारण एउटा मात्र गहना लगाउने फेसन छ । जुन डाइमण्ड, सुन, क्रिष्टल, मोटी, पोटेबाट बनाइएका डिजाइनर नेकलेस तथा आफूसँग भएको गहगहना मिलाएर लगाउन सकिन्छ । साथै तीजको दिन छड्के तिल्हरी, माइली तिल्हरी भने विवाहित महिलाले अनिवार्य रुपमा लगाउने गरिन्छ । यसलाई फेसनसँग जोड्न मिल्दैन । यो धार्मिक आस्था र संस्कृति हो । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ ।

ओपन सुज

ओपन सुज (जुत्ताको अगाडि वा पछाडि खुल्ला भएको) जुत्ता फेसनमा छन् । अहिले वर्षायाम तथा गर्मीले क्लोज सुज लगाउने खासै चल्दैन । फेसनबल जुत्तामा सुनौलो, गुलाबी, रातो रंगका थोरै हिल भएका जुत्ता पर्दछन् । साथै सोमबारको ब्रत बस्दा तीर्थस्थल घुम्ने र तीजमा महिलाहरु दिनभरि साथीभाइ नातागोतासँग नाच्ने भएका कारण यसबेला हाइ हिल जुत्ता भन्दा पनि सहज ओपन सुजको लगाउन सकिन्छ । यसबाहेक साधारण सुहाउँदो मेकअप गरे झन् राम्रो हुन्छ ।

(अधिकारी आईसी ग्रुपकी प्रबन्ध निर्देशकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?