+
+

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

रासस रासस
२०८० साउन १६ गते १३:५३

१६ साउन, काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।

सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् ।

बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी-जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो ।

छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन-चारपटक सडक अवरुद्ध हुन्छ । घण्टासम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ ।

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए ।

‘जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ’, उनले भने, ‘सामान्य अवस्था भए बेनीबाट  चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।’

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । ‘यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ’, उनले भने ।

२०७४ साल असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले रु दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए ।

गत शुक्रबारदेखि बेनी-जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।

यसैगरी बेनी-दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन । २०६२ सालमा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।  ‘वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ’, उनले भने, ‘फापरखेतको पहिरो बेनी–दरबाङ सडकको दीर्घरोगजस्तो भएको छ ।’

उनका अनुसार पहिराबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् ।

मङ्गला गाउँपालिका-२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिराले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीय बताउँछन् ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए ।

‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ’, उनले भने, ‘ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?