+
+

गुठिचौरमा रक्सी पिउन लाइसेन्स अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १४:२६

१६ साउन, काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको छ । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ । पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ ।

सार्वजनिक स्थलबाट ५ सय मिटर टाढा मात्र रक्सी पसल

यस गाउँपालिकामा अब सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय भन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने भएको छ । रक्सी पसलमा यसबाहेक अन्य सामान राख्न नपाइने भएको छ ।

इजाजत पत्र प्राप्त गरेका बिक्री पसलले आफूले बिक्री गरेको मदिराको अभिलेख समेत दुरुस्त राख्नु पर्ने भएको छ । मदिरा होलसेलले बिहान ७ बजेदेखि ५ बजेसम्म मदिरा बिक्री गर्न पाउने छन् ।

खुद्रा पसलले सेवनकर्तालाई बेलुका ६ बजेदेखि राति ९ बजेसम्ममात्र रक्सी बिक्री गर्न पाउने गरी नियम तोकिएको छ ।

कार्डबाहकले दैनिक एउटा बियर वा १८० मिलिलिटर मात्र पिउन पाउने

यस गाउँपालिकामा लाइसेन्स लिएका रक्सी सेवनकर्ताले दैनिक १८० मिलिलिटर रक्सी वा बियरको हकमा १ बोतल मात्र सेवन गर्न सक्ने भएको छ ।

यसका लागि रक्सी सेवनको कार्डको मूल्य वार्षिक ५ सय र यसको नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

नियम नमाने पहिलो पटक १ हजार जरिवाना, त्यसपछि हरेक पटक २ हजार

गाउँपालिकाको नियम नमाने पहिलो पटक १ हजार जरिवाना गरिने भएको छ । सोही व्यक्तिले पटक-पटक नियम तोडेमा भने हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा उल्लेख छ ।

मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा भने पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?