+
+

सुदूरपश्चिममा आरआईटी पुनःगठन, डीआईजीमाथि प्रश्न

जनक विष्ट जनक विष्ट
२०८० साउन १६ गते १५:००

१६ साउन, धनगढी । नेपाल प्रहरीको सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।

समूहमा प्रहरी सहायक निरीक्षकद्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी सहायक हवलदार तेजबहादुर बोहरा, भरत सिंह, रंजित साउद र प्रहरी जवान कुमेन्द्रकुमार थापा र सुशील अवस्थी रहेका छन् ।

डीआईजी बोहराले अपराध अनुसन्धानमा दख्खल राख्ने र अनुभवी प्रहरी कर्मचारी भन्दा आफू अनुकुुल प्रयोग गर्न मिल्ने व्यक्तिलाई आरआईटीमा राखिएको भन्दै आलोचना भएको छ । अझ प्रहरी संगठनभित्र क्षेत्रीयता र भेगीय पक्षधरता देखाएको आरोप पनि लागेको छ । आरआईटीको नेतृत्वमा छनोट भएका स्वाँर अछामकै भएका कारण पनि बोहरामाथि यस्तो आरोप लागेको हो ।

सुदूरपश्चिमका एक प्रहरी अधिकृत भन्छन्, ‘यसले विगतमा राम्रो काम गरेका प्रहरीहरुको मनोबल खस्केको देखिन्छ । बरु उहाँले समूह खारेज नगरेर जिम्मेवारी हेरफेर गरेको भए राम्रो हुने थियो ।’

सुदूरपश्चिममा २०७० सालमा पहिलो पटक आरआईटी गठन गरिएको थियो । आरआइटीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, जघन्य अपराधको अनुसन्धानको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै बेलाबखत पुरस्कृत हुँदै आएको पनि थियो ।

पछिल्लो समय वरिष्ठ नायब निरीक्षक केशवराज जोशी नेतृत्वमा रहेको आरआईटीमा कार्यरत सहायक हवलदार दीप पाण्डे र जवान हेमराज भट्टले कञ्चनपुर बेलौरीको फेमली रेष्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि आक्रमण गरेको आरोप लागेको थियो । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

त्यसपछि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले आरआईटी खारेज गरिएको र भविष्यमा आवश्यक परेमा पुनः गठन गर्न सकिने प्रतिक्रिया दिएका थिए । डीआईजी बोहराले भने आरआईटी खारेज नगरिएको, जिम्मेवारी मात्र हेरफेर गरिएको बताए ।

‘हामीले आरआईटी खारेज गरेका होइनौँ । धेरै वर्षदेखि बसेका मान्छेहरु फेरिएका मात्रै हुन्’, बोहराले अनलाइनखबरसँग भने, ‘सधै उनै मान्छे बस्नुपर्छ भन्ने हुदैन नि ।’

उनले आरआईटी गठन गर्दा क्षेत्रीयता पनि नहेरेको बताए । ‘भन्नेले जे पनि भन्छ तर हामीले काम गर्ने हो । यो अनुसन्धान टोली भएकाले सूचना आह्वान गर्नुपर्ने, कसैलाई जानकारी गराउनुपर्ने भन्ने पनि हुँदैन’, बोहराले भने, ‘तर यसअघि आन्तरिक परीक्षा लिइएका ३७ जना मध्येकैलाई जिम्मेवारी दिइएको छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?