+
+

२ वर्षको कमाइबाट माछापुच्छ्रे बैंकले साढे १ अर्ब बढी लाभांश बाँड्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:२८

 

१७ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन रकम बढेको छ । तर पनि, आम्दानीमा भएको वृद्धिसँगै नाफा पनि बढेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड ११ लाख ५७ हजार नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा ९ दशमलव ७५ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकले लाभांश बाँड्न पाएको थिएन । त्यसो हुँदा बैंकको चुक्ता पूँजी दुई वर्षदेखि स्थिर छ । त्यसो हुँदा नाफा बढेसँगै बैंकको प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी पनि बढेको छ । चुक्ता पूँजी स्थिर रहँदा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसाबाट बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १२.८४ गुणा छ ।

असार मासान्तमा बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख ५६ हजार छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड ५२ लाख २९ हजार रुपैयाँ छ । गत आर्थिक वर्षमा बैंकले ३७ करोड २ लाख ३१ हजार साधारण जगेडा कोषमा छुट्याएको छ ।

यस्तै, १७ करोड ८२ लाख ३७ हजार रुपैयाँ ब्याज असुल गर्न नसक्दा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ९६ लाख ९१ हजार रुपैयाँ छ । यसमा अघिल्लो वर्षको सञ्चित नाफासमेत जोडेर गत आर्थिक वर्षको अन्तिममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड ८७ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा लाभांश बाँड्न नपाउने भएपछि बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ऋणपत्रको डिबेञ्चर रिडेम्सन रिजर्भमा करिब ४३ करोड रुपैयाँ छुट्याएको थियो । तर, गत आर्थिक वर्षमा भने बैंकले डिबेञ्चर रिडेम्सन रिजर्भमा पैसा छुट्याएको छैन । बैंकले ३ अर्ब र २ अर्ब २५ करोडको २ वटा ऋणपत्र जारी गरेको छ । जसमध्ये एउटाको चालु आर्थिक वर्षदेखि लगातार ४ वर्ष डिबेञ्चार रिडेम्सन रिजर्भमा रकम छुट्याउनुपर्छ भने अर्को ऋणपत्रका लागि आगामी आर्थिक वर्षबाट छुट्याउनुपर्ने हुन्छ ।

प्राथमिक पूँजीकोषको दबाबले गर्दा बैंकको व्यवसाय विस्तारमा समस्या भएको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप ६.३१ प्रतिशतले वृद्धि भएर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी भने १.६४ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाखमा झरेको छ ।

कर्जा विस्तार नभए पनि बैंकले स्प्रेडदर व्यवस्थापन गर्दै खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । आम्दानी बढे पनि बैंकको सम्भावित कर्जा नोक्सानी बापत्को प्रोभिजन ५० करोड १२ लाख ३३ हजारबाट बढेर ८२ करोड ३२ हजार पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ९.९१ प्रतिशतले वृद्धि भएर २ अर्ब ६९ करोड ८३ लाख ३५ हजार पुगेको छ ।

२०७९ असार मसान्तमा १.०४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात गत असार मसान्तमा बढेर २.१२ प्रतिशत पुगेको छ । त्यस्तै बैंकको पूँजीकोष अनुपात १३.३६ प्रतिशतबाट बढेर १३.५७ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.३२ प्रतिशतबाट ८०.६४ प्रतिशतमा झरेको छ । आधार दर ९.८६ प्रतिशतबाट बढेर १०.७४ प्रतिशत पुगेको छ । यस्तै स्प्रेड दर ४.३३ प्रतिशतबाट घटेर ३.९५ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?