+
+

वित्तीय विवरण कुर्दै लगानीकर्ता, नेप्से ९ अंकले बढ्दा कारोबार रकम भने खुम्चिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १५:३४

१७ साउन, काठमाडौं । उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ ।

सूचीकृत कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पर्खाइमा सेयर लगानीकर्ताहरु छन् । जसले गर्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि ठूलो उतारचढाव भने छैन । वाणिज्य बै‌ंक, विकास बैंक र वित्त कम्पनीहरूले २१ साउनभित्र गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नु पर्छ । अन्य सूचीकृत कम्पनीहरुले साउन मसान्त भित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित होटल तथा पर्यटन, विकास बैंक र वित्त कम्पनी लगायका उपसूचकमा वृद्धि भएको छ । जसले गर्दा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचकमा गिरावट भएपनि नेप्सेमा वृद्धि भएको हो । वित्त कम्पनी उपसूचक १.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.४० प्रतिशत, विकास बैंक उपसूचक १.०१ प्रतिशत र वाणिज्य बैंकहरुको बैंकिङ उपसूचक ०.८१ प्रतिशतले बढेको छ ।

लघुवित्त उपसूचक ०.२८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

लगानीकर्ता वित्तीय विवरणको पर्खाइमा रहँदा कारोबार रकम पनि सुस्ताएको छ । मौद्रिक नीतिमा सेयर लगानीकर्ता सेयर धितो कर्जाको जोखिम भारको भ्रममा पर्दा नेप्से ७ साउनमा ६३ अंकले बढेपछि त्यसयता लगातार घट्दै गएको थियो । ८ साउन देखिएको कारोबारमा नेप्सेमा करिब १५० अंकले गिरावट भएर बुधबार भने सामान्य वृद्धि देखिएको छ । तर, ७ साउन र ८ साउनमा ४ अर्ब माथिको कारोबार भएको थियो भने त्यसपछि काारेबार रकम ३ अर्ब २ अर्ब हुँदै लगातार बुधबार तेस्रो दिन पनि २ अर्बबाट तल झरेको छ । सोमबार १ अर्ब ८५ करोडको कारोबार भएको बजारमा मंगलबार १ अर्ब ९१ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा ३५ हजार ८३५ वटा कारोबारमा ९३ लाख ६१ हजार ७८६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ११ करोड १९ लाखको कारोबार भएको छ ।

त्यस्तै सानिमा बैंकको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा ८ करोड ८९ लाख ३७ हजार ७५० रुपैयाँको कारोबार भएको छ । प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ८१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १९ कम्पनीको स्थिर छन् । बुधबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सर्वाधिक ४.०३ प्रतिशतले बढेको छ । बैंकले राम्रो वित्तीय विवरण प्रकाशित गर्ने अपेक्षमा लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका हुन् । यस्तै सिंगटी हाइड्रोपावरको सेयरमूल्य ३.८९ प्रतिशशतले बढेको छ । यता सामूहिक लगानी योजनामा आरबीबी म्युचुअल फण्ड १ को इकाइमूल्य ४.१४ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ३.८९ प्रतिशतले बढेको छ ।

बुधबार प्रभु स्मार्ट फण्डको इकाइमूल्य भने १० प्रतिशतले गिरावट भएको छ । एनआईबीएल समृद्धि फण्डको इकाइमूल्य ४.५८ प्रतिशतले गिरावट भएको हो । सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?