+
+

बजारको फेसनअनुसार आफू होइन, शरीरअनुसार फेसन बदल्ने हो

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन १८ गते ६:२०

काठमाडौं । बजारमा चलेका लुगा प्राय: उस्तै डिजाइनका हुन्छन् । एउटै डिजाइनको हुने भएपछि एक जनाले लगाएको अर्कोसँग नमिल्ने कुरै भएन । अरूले लगाएको भन्दा फरक डिजाइनको लुगा लगाउने चाहना धेरैलाई हुन्छ तर मेसो मिलिरहेको हुँदैन ।

खासमा बजारमा चलेको फेसनअनुसार हामी आफूलाई बदल्न खोज्छौं । मलाई अहिले चलिरहेको फेसनको लुगा त ठीक नै भएन वा राम्रो देखिएन भन्ने कुराले पनि धेरैलाई तनाव दिइरहेको हुन्छ । फेसन डिजाइनर तथा वस्ती नेपालकी सञ्चालिका प्रकृति वस्ती भन्छिन्, ‘फेसनको लागि आफू बदलिने होइन, आफ्नो शरीरअनुसार फेसन परिवर्तन गर्ने हो ।’

कुनै मोडल तथा कलाकारले लगाएको लुगा राम्रो लाग्यो भने त्यही लुगा लगाउने इच्छा धेरैलाई हुन्छ । त्यो लुगा आफूलाई सुहाउँछ कि सुहाउँदैन भन्ने कुरा भन्ने थाहा हुँदैन । मोडललाई सुहाएको लुगा अरूलाई नसुहाउन पनि सक्छ । त्यसैले आफ्नो शरीरअनुसारको फेसन गर्नुपर्ने प्रकृति सुझाउँछिन् ।

शरीरअनुसार कसरी गर्ने फेसन ?

प्रकृति भन्छिन्, ‘हामी सामान्यतया शरीरलाई मोटो,  पातलो, अग्लो र होचो भन्ने गर्छौं । तर फेसनको भाषामा शरीरलाई मुख्यतया चार ढाँचामा विभाजन गरिएको छ । ‘रेक्ट्यान्गल’, ‘ट्रेन्गल’, ‘इन्भरटेन्ड ट्रेन्गल’ र ‘आवरग्लास’ ।’ यसभन्दा बाहेकलाई अन्यमा राखिएको छ ।

यी चार ढाँचामध्ये आफ्नो शरीर कस्तो ढाँचाको हो भन्ने कुरा पहिले पत्ता लगाउनुपर्छ । शरीरको ढाँचा पत्ता लगाउन गाह्रो भयो फेसन डिजाइनरको सल्लाह पनि लिन सकिने प्रकृति सुझाउँछिन् । ‘शरीरको ढाँचा पत्ता लगाएपछि आफ्नो शरीरको राम्रो पाटोलाई हाइलाइट गर्नेगरी लुगा लगाइयो भने स्टाइलिस्ट र फेसनेबल देखिन्छ,’ उनी भन्छिन्, ‘उदाहरणको लागि शरीरको कम्मरमाथिको भाग भन्दा तलको भाग ठूलो छ भने माथिको भागमा अलि ठूलो लुगा लगाइयो भने शरीरको ढाँचा मिल्न जान्छ ।’

ठूलो शरीर भएको मान्छेले ठूलो शरीर छोप्न खाली ठूलै लुगा लगाउने गर्छन्, यसले गर्दा त्यो व्यक्तिको ठूलो शरीर छोपिने भन्दा झन् ठूलो देखिन्छ । त्यसैले शरीरको ढाँचा पत्ता लगाएर शरीर जस्तो छ, त्यही अनुसार फेसन गरियो भने फेसनेबल र स्टाइलिस्ट समेत देखिन सकिने प्रकृतिले बताइन् ।

लुगालाई मोडिफा गरेर लगाउन सकिन्छ

बजारबाट ल्याएको लुगा पनि मोडिफाइ गरेर अरूभन्दा फरक बनाउन सकियो भने अरू भन्दा फरक देखिन पनि सकिन्छ । त्यसैले अरूभन्दा फरक र स्टाइलिस्ट देखिने इच्छा छ भने बजारबाट ल्याएको लुगालाई आफैंले मोडिफाइ गरेर विभिन्न डिजाइनमा ढाल्न सकिने प्रकृति बताउँछिन् ।

‘बजारमा पाइने लुगा फेसन हो, त्यसलाई आफ्नो डिजाइनमा ढालेर लगाइयो भने त्यो स्टाइल हो,’ उनी भन्छिन्, ‘बजारमा पाइने लुगा लगभग एउटै हुने भएकाले त्यसलाई आफ्नो स्टाइलमा ढालेर लगाउन सकियो भने अरूभन्दा फरक र स्टाइलिस्ट देखिन्छ ।’

लुगाको लुक्स बदल्ने तरिका

हामीले बजारबाट ल्याएको लुगालाई जस्ताको तस्तै लगायौं भने त्यो ह्याङ्गरमा लुगा झुन्डाएको जस्तो नै हुन्छ । तर  त्यसलाई हामीले केही फरक तरिकाले लगायौं भने लुक्स नै बदलिदिन्छ । ‘मानौं एउटा टिसर्टलाई हामीले यत्तिकै लगाउनुको साटो त्यसमा बेल्ट लगायौं भने फरक देखिन्छ,’ प्रकृति भन्छिन्, ‘अथवा टिसर्टभन्दा माथि कलरफुल आउटर लगाउँदा फरक देखिन्छ ।’

एउटा सेतो सर्टलाई पनि विभिन्न तरिकाले लगाउन सकिने उनी बताउँछिन् । ‘सादा सेतो सर्टलाई लेहेंगामा पनि लगाउन सकिन्छ, प्यान्टसँग, स्कर्टसँग पनि लगाउन सकिन्छ । साथै त्यसमा मिल्ने ज्वेलरी पनि लगाउन सकिन्छ,’ भन्छिन् ।

लुगालाई नै मोडिफा गर्ने तरिका

लुगा लगाउने तरिका परिवर्तन गर्नुका साथै हामीले बजारबाट ल्याएको लुगालाई नै पनि मोडिफाइ गर्न सकिने प्रकृति सुझाउँछिन् ।

‘कुनै पुरानो लुगाको बुट्टा मन परेको छ भने त्यसलाई काटेर राख्नेबारे हामीले कहिल्यै सोचेका हुँदैनौं,’ उनी भन्छिन् ‘तर पुरानो लुगामा भएको मनपर्ने बुट्टालाई काटेर राख्यौं भने त्यो बुट्टालाई नयाँ लुगामा ‘फेब्रिक ग्लु’ लुगामा टाँस्ने गमको सहायताले टाँसेर मोडिफाइ गर्‍यौं भने त्यो कपडा फरक हुन्छ र स्टाइलिस्ट पनि ।’

बजारबाट कुनै सादा कपडा किनेर ल्याएर त्यसलाई पनि मोडिफाइ गर्न सकिन्छ । बजारमा विभिन्न प्रकारका पत्थर तथा पोते पाइन्छ । स्टोनलाई पनि फेब्रिक ग्लुको सहायताले त्यो सादा कपडामा टाँसेर नयाँ डिजाइनको बनाउन सकिने प्रकृति बताउँछिन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?