+
+

विश्व घुमेर नयाँ टिभी सिरिज ल्याउँदै राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १२:५१

काठमाडौं । अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किए । त्यसक्रममा उनले कैयौं अमेरिकी राज्य घुमेर नेपाली समुदायलाई भेटघाट गरे ।

सम्भवतः पछिल्लो पटकको अमेरिका भ्रमणबाट प्रेरित हमालले नयाँ टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका छन् । यो टिभी सिरिजमा हमालले विदेशमा बसोबास गर्ने नेपालीको सफलताको कथा प्रस्तुत गर्नेछन् ।

हिमालय टिभी एचडीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै हमालले विश्व घुमेर आफूले उक्त टिभी सिरिज चाँडै ल्याउन लागेको जानकारी दिए । ‘मेरा लागि मात्र होइन, नेपाली टेलिभिजनकै लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा नेपाली विदेश जानुभएको छ । त्यहाँ उहाँहरुको सफलताको कथा पनि छ । व्यापार, अध्ययन, कला, राजनीति, समाज सबैतिर उहाँहरुले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सफलताको यी कथामा सिरिज बन्नेछ ।’

हमालले अगाडि भने, ‘आफूले छानेको क्षेत्रमा उहाँहरु सक्रिय हुनुभएको छ । यस्ता पृष्ठभूमि बोकेको व्यक्तिको धारणा नेपाली नागरिकमाझ ल्याउने तयारी छ । पक्कै पनि यो प्रेरणादायी र र रोचक हुनेछ ।’

कार्यक्रबारे हमालले भने, ‘विदेशमा नेपालीले शून्यबाटै थालनी गर्नुभएको हो । नेपालबाट प्लेन चढेर जाँदा उहाँहरु सक्सेस हुनुहुन्छ भन्ने पनि लागेको नहुन सक्छ । नेपालमै बसेको भए के त्यही किसिमको सक्सेस स्टोरी पाउनुहुन्थ्यो ? मैले दुई-तीन वर्षमा विदेशमा बसेका नेपालीको अवस्था देखेको छु । उहाँहरु स्थिर हुनुहुन्छ । व्यवसायको मालिक बनेर निस्कनुभएको छ । जीवनलाई राम्रो बनाइरहनुभएको छ । कोभिडपछि अमेरिकामा जाँदा धेरै नेपालीले सफलतापूर्वक व्यवसाय चलाएर बसेको देखें । हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । यसका लागि उहाँहरु दक्ष हुनुहुन्छ । नेपाली व्यक्ति भएर अन्तर्राष्ट्रिय कुजिन बनाउन सक्नुहुन्छ ।’

हमाल प्रश्न गर्छन्, ‘के उहाँहरु नेपालमै बसेको भए त्यो सफलताको कथा सिर्जना गर्न सक्नुहुन्थ्यो ?’

अंग्रेजी भाषाको फिल्मको काममा व्यस्त हमाल

हमाल यतिबेला अंग्रेजी भाषाको नेपाली फिल्म ‘मायाको माया’मा व्यस्त छन् । ८० प्रतिशत छायांकन सम्पन्न भइसकेको फिल्मको बाँकी सुटिङ रारा तालमा गर्ने योजना छ । यसका लागि हमाल चाँडै रारातर्फ प्रस्थान गर्दैछन् ।

अंग्रेजी भाषामा बनिरहेको यो फिल्मलाई हमालले आफ्नो करिअरकै ‘इभोलुसनरी प्रोसेस’को रुपमा व्याख्या गरे । ‘मैले फिल्म थाल्दा एउटा बनेपछि अर्को कहिले बन्छ भन्ने टुंगो थिएन । अहिले आएर यस्तो फिल्म गरेको छु, जुन विशेष समूहलाई लक्षित गरिएको होला । मासलाई पनि टार्गेट होइन,’ उनले भने, ‘जसको परिवार परम्परागत फिल्मसँग आबद्ध छैन । उसले नै यौनिक र मनोवैज्ञानिक कथावस्तुमा उदार भएर फिल्म बनाइरहेको छ ।’

‘नितान्त नेपाली सब्जेक्ट उहाँहरुले उठाइरहनुभएको छ,’ हमालले भने, ‘हामी सबै जना कलाकार अंग्रेजीमै बोलिरहेका छौं । त्यो भए पनि यो फिल्म चाहिं नेपाली हो ।’ यो फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?