+
+

स्प्रेड रेट व्यवस्थापन गर्दा २५ प्रतिशतले बढायो सानिमा बैंकले नाफा

कति दिन सक्छ लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १२:४४

१९ साउन काठमाडौं । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था प्रोभिजन रकम पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा सानिमा बैंकको प्राभिजन रकम बढ्दा पनि नाफा उलेख्य बढेको छ ।

व्यवसाय उल्लेख्य विस्तार नभएपनि बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) लाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले गर्दा प्रोभिजन बढ्दा पनि बैंकको नाफामा उल्लेख्य सुधार भएको हो ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा २५.१३ प्रतिशले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा बोनस सेयर मार्फत चुक्ता पूँजी १० प्रतिशतले बढाएर १२ अर्ब ४६ करोड १ लाख पुर्‍याएको छ ।

चुक्ता पूँजी बढाउँदा पनि बैंकको नाफामा भएको वृद्धिले प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १८ रुपैयाँ ४८ पैसा रहेकोमा गत आर्थिक वर्षमा २१ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १२.३९ गुणा छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप ११.५१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ पुग्दा कर्जा लगानी भने ६.५० प्रतिशतले मात्रै वृद्धि भई १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख पुगेको छ ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याज आम्दानीको तुलनामा बैंकको ब्याज खर्च बढेको छ । तर पनि बैंकको खुद ब्याज आम्दानी भने ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड १८ लाख रुपैयाँ मात्रै थियो । २०७९ असार मसान्तमा ३.८६ प्रतिशत रहको बैंकको स्प्रेड दर गत आर्थिक वर्षमा बैंकले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतसम्म पुर्याएको थियो भने असार मसान्तमा आउँद राष्ट्र बैंकले तोकेको ४ प्रतिशतको सीमाभित्र ल्याएको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको हो ।

बैंकको ब्याज आम्दानीमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन ५५ करोड ४४ लाख रुपैयाँबाट बढेर १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तमा ०.३३ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा २०८० असार मसान्तमा आउँदा बढेर १.३० प्रतिशत पुगेको छ । जसले बैंकको प्रोभिजन रकम बढाएको हो ।

खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको प्रोभिजन रकम बढेपनि सञ्चालन नाफा करिब २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ७ लाख पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कति बाँड्ला लाभांश ?

बैंकको गत आर्थिक वर्षमा ऋणपत्रको अवधि पुरा भएको छ । जसले गर्दा बैंकको बैंकको लाभांश क्षमता बढेको छ ।

गत आर्थिक वर्षमा बैंको सञ्चित कोषमा २ अर्ब २० करोड ९६ लाख ७५ हजार छ । असार मसान्तको चुक्ता पूँजीको आधारमा बैंकले रकमबाट १७.७३ प्रतिशत लाभांश बाँड्नसक्ने क्ष्मता राख्छ ।

बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट साधारण जगेडा कोषमा २० प्रतिशतले हुने ५२ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ । बैंकले क्यापीटल रिडेम्सन रिजर्भमा कुनै रकम छुट्याएको छैन ।

बैंकले साधारण जगेडा कोष सहित विदेशी विनिमयका कारोबारबाट हुने जोखिम, कर्मचारी तालिम र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा गरेर करिब ५६ करोड छुट्याएको छ ।

त्यस्तै असार मसान्तमा उठ्नुपर्ने १३ करोड ५२ लाख ब्याज उठाउन नसक्ने त्यसलाई रेगुलेटरी रिजर्भमा छुट्याएको छ । बैंकले लिलाम गरेको धितो बिक्री नहुँदा त्यसलाई सकारेर ७ करोड ३९ लाख सहित रेगुलेटरी रिजर्भमा करिब २७ करोड छुट्याएको छ ।

तर, गत आर्थिक वर्षमा बैंकले जारी गरेको ऋणपत्र परिपक्व भएसँगै डिवेञ्चर रिडेम्सन रिजर्भबाट बैंकको सञ्चित नाफमा ३७ करोड रुपैयाँ आएको छ ।

गत आर्थिक वर्षको १ अर्ब ७८ करोड ९० लाख वितरणयोग्य नाफा डिबेञ्चरबाट आएको ३७ करोड र अघिल्लो साथै बैंकको अन्य सञ्चित कोषबाट बैंकले करिब १८ प्रतिशत लाभांश बाँड्नसक्ने देखिएको हो ।

असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १४.१३ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशतमा झरेको छ ।

अघिल्लो आर्थिक वर्षमा पूँजीकोष अनुपात १३.६६ प्रतिशत र सीडी रेसियो ८६.३६ प्रतिशत थियो । बैंकको आधार दर ७.९१ प्रतितले वृद्धि भएर १०.१५ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?