+
+

२०४६ यता सत्तामा भएकाको सम्पत्ति छानबिन गर्न आयोग बनाऔं : गणेशमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १४:१८

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा  भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा नेता पुनले यस्तो प्रस्ताव गरेका हुन् । उनले नेपालको राजनीति, हरेक पार्टी, हरेक तहका नेताहरूलाई  दलालहरूले गाँजेको भन्दै त्यसैले राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण पनि हुने बताए ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन मूलभूत हिसाबले सही भएकोले त्यसको मूल स्पिरिटमा समर्थन गर्ने उनले बताए ।

‘पार्टीमा साँच्चै निराशा र अन्यौलता थियो । हाम्रो नेतृत्वमा बनेको सरकार भ्रष्टाचार विरूद्धको लडाइँ, सुशासन र अन्य पहलकदमीसहित अगाडि बढेपछि आशा पलाएको छ,’ पुनले बैठकमा आफ्नो धारणा राख्ने क्रममा भने, ‘अब माओवादी पार्टी बन्ने वातावरण बनेको छ । तर यसलाई गलत ढंगले अन्यत्र मोड्ने खतरा त्यतिकै छ । यसलाई चिर्न र पार्टी निर्माण गर्न मात्र होइन,  देशकै राजनीतिक भविष्यको आशाको नेतृत्व गर्नमा अधिकतम सफलता हासिल गर्नुपर्दछ ।’

अहिले बनेको वातावरणलाई उपयोग गर्दै कस्तो शिक्षा, कस्तो स्वास्थ्य, कस्तो कृषि, कस्तो रोजगारी भन्ने सैद्धान्तिक ज्ञान र भिजनसहितको पार्टी निर्माणको अभियान चलाउनु पर्ने भन्दै उनले यसबाट समाजवादको आधार बनाउनेतर्फ उद्दत गर्ने बताए ।

स्थानीय स्तरमा कृषिको उत्पादन, पारिवारिक खेती, सहकारी र  समुदायको माध्यमबाट स्थानीय अर्थतन्त्रको प्रवर्धन गर्न ठोस् खाकासहित अभियानमा लाग्नु पर्ने उनको प्रस्ताव छ । सरकारको सम्पूर्ण कार्यक्रमलाई उत्पादन, रोजगारी र औद्योगिकीकरणमा केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।

यसका लागि विधेयकहरूलाई संघीयताको लयमा मिलाउनु पर्ने भन्दै  अहिले कृषि, शिक्षा लगातका विधेयकहरूले संघीयताको लय नपकडेको भनेर आलोचना भइरहेको बारे जानकारी गराए ।

साथै, हङ्ग पार्लियामेन्ट भइरहने भयो भन्ने निहुँमा यतिबेला समानुपातिक हटाउने, प्रदेश हटाउने, संघीयता हटाउने कुरा छलफल चलिरहेको भन्दैसंघीयता सुदृढीकरण गर्न, विशेष स्वायत्त संरक्षित क्षेत्र निर्माण गर्न, प्रदेशको अधिकार क्षेत्र बढाउन र पहिचानको पक्षमा अभियान चलाउन जरूरी रहेको बताए । ‘पहिचान भनेको सभ्यता हो, जातीयता होइन भनेर नयाँ बहस भइरहेको पूर्वको आन्दोलनलाई समर्थन गर्नुपर्दछ,’ उनले भने ।

पर्टीले युवाका एजेण्डा नबोकेका कारण पार्टीमा युवा नभएको भन्दै उनले युवालाई संगठित गर्नेगरी, युवा  र विद्यार्थीहरूलाई छुनेगरी रोजगारी, उद्यम, प्रविधि, वातावरणको क्षेत्रमा युवाहरूलाई परिचालन गर्ने योजना बनाउनु पर्ने आवश्यक्ता औँल्याए ।

उनले प्रतिवेदनले लिएको पार्टीको पुनर्संरचना गर्ने कुरा ठीक रहेको बताए । साथै, विचार, कार्यदिशा, वामपंथ, सामाजिक न्यायको आधारमा विचार मिल्नेहरूबीच एकता, ध्रुबीकरण, मोर्चाबन्दी नगरे नेपालमा वामपंथी आन्दोलन कमजोर हुने हुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?