१९ साउन, दाङ । तुलसीपुर–११ कटाहा गाउँकी ४० वर्षीया ललिता डाँगीलाई गत असार २४ गते साँझ पौने सात बजे घरमै गोमन सर्पले डस्यो । तर, उनलाई तत्काल अस्पताल लैजानुको साटो परिवारले विष चुसेर निकाल्न भन्दै तुलसीपुर-१२ स्थित जसपुर पुर्याए । त्यहाँ पुर्याएको करिब २० मिनेटपछि उनी झन् सिकिस्त हुँदै गइन् । त्यसपछि एम्बुलेन्समा सर्पदंश केन्द्र नेपालगञ्ज लगियो । तर त्यतिबेलासम्म झण्डै डेढ घण्टा बितिसकेको थियो । नेपालगञ्ज लैजाँदा लैजाँदै बाटोमै उनको मृत्यु भयो ।
०००
गत असार ८ गते तुलसीपुर–१२ हरिपौराकी १३ वर्षीया बालिका दक्षिणा वली घरमै सुतेको बेला राति १ बजेतिर चिच्याउँदै उठिन् । तर परिवारका सदस्यले शरीरमा दाग केही नदेखिएको भन्दै अस्पताल पुर्याएनन् । त्यसपछि बालिकालाई गाह्रो हुँदै गएपछि बिहान ७ बजेमात्र राप्ती प्रादेशिक अस्पताल पुर्याइयो । अस्पताल पुर्याएपछि मात्र उनलाई सर्पले डसेको थाहा भयो । तर त्यतिञ्जेल ढिला भइसकेकाले अस्पताले उनलाई नेपालगञ्ज रिफर गर्यो । करिब तीन घण्टा लामो यात्रा गरेर अस्पताल पुग्दा ढिला भइसकेको थियो । त्यसैले उनको उपचारकै क्रममा मृत्यु भयो ।
०००
यही साउन ४ गते राति करिब १० बजेतिर शान्तिनगर गाउँपालिका-३ पानेडाँडाका ५० वर्षीय दलबहादुर घर्तीलाई घर बाहिर निस्किँदै गर्दा सर्पले डस्यो । त्यसपछि उनी अस्पताल नगई झारफुकका लागि मित छोरा कहाँ गए । उनले सर्पले टोकेको ठाउँमा खुर्सानी दल्न लगाए । पछि उनलाई गाह्रो हुँदै गएपछि राति एक बजे तुलसीपुरको प्रादेशिक अस्पताल पुर्याइयो । अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
०००
११ वैशाख ०८० मा तुलसीपुर उपमहानगरपालिका १६ की २६ वर्षीय रोशन डाँगीले पनि समयमै अस्पताल पुग्न नपाउँदा ज्यान गुमाए । राति १० बजेतिर घरमै सुतिरहेको बेला विषालु सर्पले दाहिने खुट्टामा डसेको थियो । परिवारले उनलाई अस्पताल नलगेर तुलसीपुर-१४ पहरुवा र खोल्सापुरमा लगेर रातभर झारफुक गराए । झारफुक गराउँदा गराउँदै उनी अचेत अवस्थामा पुगे । त्यसपछि आत्तिएर प्रादेशिक अस्पताल हुँदै बिहान ७ बजेमात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइयो । अस्पताल पुर्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरे ।
०००
गर्मी र बर्खा सुरु भएसँगै दाङ लगायत तराईका जिल्लाहरूमा सर्पदंशका घटना बढी हुने गरेका छन् । हरेक वर्ष गर्मीयाममा जिल्लामा सर्पको डसाइबाट मानिसको मृत्यु हुने गरेको छ । जबकी समयमै अस्पताल पुर्याए जति नै विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिने चिकित्सक बताउँछन् । तर झारफुकको भर पर्दा र समयमै अस्पताल नपुर्याउँदा विरामीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका विज्ञ डा. उमाकान्त तिवारीले सर्पको डसाइबाट मर्नपर्ने स्थिति नरहेको बताउँछन् । ‘समयमै अस्पताल पुर्याउने हो भने सर्पको डसाइबाट कोही पनि मर्नु पर्दैन,’ उनी भन्छन्, ‘तर कतिपयले बिरामीलाई झारफुकमा लैजाने र अन्तिम अवस्थामा अस्पताल ल्याउँदा मृत्यु भएका घटना छन् ।’
त्यसबाहेक सर्पले टोकेको ठाउँभन्दा माथि बाँध्ने, रगत चुस्ने जस्ता गलत प्राथमिक उपचारका कारण पनि विरामी ज्यान जोखिममा परेको उनी बताउँछन् ।
सर्पदंश विज्ञ डा. तिवारीका अनुसार नेपालमा पाइने सर्पमध्ये २० देखि ३० प्रतिशत सर्पमात्र विषालु हुने गरेका छन् । जसमा दाङ, रुकुम, रोल्पा, प्युठान, सल्यान जस्ता जिल्लामा पिट भाइपर, रसेल भाइपर, कोब्रा र करेतका जस्ता विषालु सर्पहरु पाइने गरेका छन् । समान्यतया विषालु सर्पले डसेमा २ देखि ३ घण्टाभित्र अस्पताल पुर्याए विरामी बचाउन सकिन्छ ।
करेत र कोब्राले टोकेमा आधादेखि १ घण्टाभित्र अस्पताल पुर्याए बचाउन सकिने उनी बताउँछन् । यो समय विरामीलाई अस्पताल पुर्याउन प्रयाप्त भएपनि उपचारमा अलमल गर्नाले ज्यान गुमाउनुपरेको उनी सुनाउँछन् ।
पूर्वाधार छ तर रिफर अन्तै
दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र गढवामा सर्पदंश केन्द्रमा सर्पदंशको उपचार हुँदै आएको छ । तर कपितय अवस्थामा विरामीलाई जिल्ला बाहिर रिफर गर्दा पनि बीच बाटोमै ज्यान गुमाएका घटना छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्पदंश विज्ञसहित आईसीयु, भेन्टिलेटरसहितको २४ घण्टे उपचार सेवा दिँदै आएको छ । त्यसबाहेक आवश्यक पर्ने एन्टीस्नेक भेनम पनि पर्याप्त भएको प्रतिष्ठान बताउँछ ।
सर्पदंशका लागि चाहिने पूर्वाधार र जनशक्ति पर्याप्त भएकाले सर्पदंशका विरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था नरहेको प्रतिष्ठान बताउँछ ।
तर जिल्लाकै अर्को अस्पताल राप्ती प्रदेशिक अस्पतालमा भने सर्पदंशका विरामीलाई जिल्ला बाहिर रिफर गर्दै आएको छ । प्रादेशिक अस्पतालमा २०७९ साउनदेखि २०८० असार मसान्तसम्म १३८ जना सर्पदंशका बिरामी आएका थिए ।
तीमध्ये विषालु सर्पले डसेको भनेर छ जनालाई बाहिर रिफर गरिएको थियो । यसरी अढाइ घण्टा टाढाको अस्पतालमा रिफर गर्दा कतिपय विरामीले ज्यान गुमाउने गरेका छन् । तीनै मध्ये एक थिइन्, तुलसीपुर १२ की १३ वर्षीया दक्षिणा वली ।

गत असार ८ गते राति सर्पले डसेपछि उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर अस्पतालले उनलाई शरीरमा विष चढिसकेको भन्दै स्वास्थ्यकर्मीको निगरानी विनै नेपालगञ्जको भेरी अस्पतालमा रिफर गर्यो । करिब तीन घण्टाको लामो बाटो भएकाले अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भयो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भने आईसीयु र भेन्टिलेटरको व्यवस्था नहुँदा सर्पदंश विरुद्धको खोप हुँदाहुँदै पनि बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने परेको बताउँछ । राप्ती प्रादेशिक अस्पतालका इमर्जेन्सी इञ्चार्ज धनबहादुर केसी भन्छन्, ‘गम्भिर केसमा आईसीयू, भेन्टिलेटर पनि चाहिने हुन्छ । हामीकहाँ त्यो सुविधा छैन । त्यही कारण पनि कतिपय बिरामी आफैं यी सुविधा भएका ठाउँमा जानुहुन्छ । कतिपय अवस्थामा हामीले नै रिफर गर्छौं ।
जबकी सर्पदंशका विज्ञहरु स्वास्थ्यकर्मी र अस्पतालको लापरवाहीका कारण पनि बिरामीले ज्यान गुमाउनु परेको बताउँछन् । सर्पदंशको केशका कतिपय केशमा रिफर गर्नाले पनि ढिलो भएर ज्यान गुमाउनु पर्ने अवस्था रहेको सर्पदंशका विज्ञहरु सुनाउँछन् ।
भेरी अस्पतालका सर्पदंश विज्ञ डा. कृष्णप्रसाद आचार्य भन्छन्, ‘बिरामी अस्पताल आउन ढिला भएर मृत्यु हुने एउटा कुरा होला तर अस्पताल आइसकेका बिरामीलाई रिफरको नाममा स्वास्थ्यकर्मीको लापरवाही भएर मृत्यु भएका घटना पनि छन् ।
सर्पदंश केन्द्र भएको, प्रादेशिक तहको अस्पतालले समेत सर्पदंशको बिरामी रेफर गर्नुपर्ने अवस्था साह्रै दुःखद भएको उनी बताउँछन् ।

भन्छन्, ‘गर्नैपर्ने अवस्था भए स्वास्थ्यकर्मी सहित रिफर गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानविना पठाउनै मिल्दैन । विरामीलाई तत्काल स्वास्थ्यकर्मीको निगरानीमा पठाइयो भने श्वासप्रश्वासमा सहज गराइदिन्छन् र उपचारका लागि थप सहज हुन्छ, बिरामीलाई पनि बचाउन सकिन्छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रष्तिठानमा मात्र वैशाखयता २२ जना सर्पदशंका विरामी आएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पछिल्लो एक वर्ष (२०८० असार मसान्तसम्म) १३८ जना सर्पदंशका बिरामी आए ।
जिल्लाका अस्पतालमा हरेक दिन ५ देखि ६ जना सर्पदंशका विरामीहरु अस्पतालमा आउने गरेका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4