+
+

बजार छेउमै खाल्डो खनेर पुर्न थालियो पोखराको फोहोर

विकास रोकामगर विकास रोकामगर
२०८० साउन २० गते १९:५७

२० साउन, पोखरा । स्थानीय बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरपालिकाले शनिबारदेखि दमकल शाखामै खाल्डो खनेर फोहोरको अस्थायी व्यवस्थापन गर्न थालेको छ ।

फोहोर राखिएको गाडी भरिएको र ल्यान्डफिल साइटसम्म पुग्न नपाएपछि पोखराको मुख्य बजारदेखि केही पर नयाँबजारस्थित दमकल शाखाको खाली जग्गामै खाल्डो खनेर पुर्न थालिएको महानगरले जनाएको छ । दमकल शाखा पोखरा महानगरपालिका कार्यालयको नजिकै पर्छ र यहाँ फोहोर बोक्ने र पुराना गाडीहरु राख्ने गरिएको छ ।

पोखरा महानगरपालिका–३२, लामेआहालमा बनाइएको अस्थायी ल्यान्डफिल साइट क्षेत्रका बासिन्दा अवरोधका कारण १० दिनदेखि महानगरको फोहोर उठ्न बन्द भएको छ । फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न नपाएका कारण बजार क्षेत्रका सडक र चोकमा दुर्गन्ध फैलिन थालेपछि अल्पकालीन रुपमा फोहोर व्यवस्थापनको उपाय खोजिएको सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

‘स्थानीयसँग हामी वार्ता र समन्वयमै छौं । जबर्जस्ती नगरी सहमतिबाटै फोहोर फाल्ने हाम्रो योजना छ । त्यसो गर्दा केही दिन लाग्ने भयो’, बरालले भनिन्, ‘अहिले फोहोर भरिएका गाडी भरिएको र फेरि बजारका फोहोर पनि उठाउनुपर्ने भएकाले दमकलमै व्यवस्थापन गरिएको हो ।’

बरालका अनुसार हाल मुख्य बजार क्षेत्रका फोहोरमात्रै उठाइएको छ । अस्थायी ल्यान्डफिल साइटमा पुग्न सक्ने अवस्था नरहेकाले हाललाई मुख्य बजार क्षेत्रका फोहोर उठाइएको भए पनि भित्री बस्तीका फोहोर भने उठाइएको छैन ।

फोहोर नउठाएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि महानगरले मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोर संकलन गरेका गाडी आइतबारदेखि दमकल शाखामा राख्न थालेको हो । तर, ती गाडीसमेत भरिन थालेपछि खाल्डो खनेर अस्थायी व्यवस्थापन गरिएको हो ।

पोखराको न्यूरोड, नयाँबजार, पृथ्वीचोकलगायत मुख्य बजार क्षेत्रका फोहोर उठाएर गाडीमै राख्न थालिए पनि अन्य ठाउँको फोहोर भने उठाइएको छैन । आन्दोलित स्थानीयसँग वार्ता गर्न महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली पुगेको थियो ।

तर, स्थानीयले आफूहरुले फोहोर फाल्न नदिने अडान नछोडेपछि वार्ता बिना निष्कर्ष टुंगिएको थियो । त्यसक्रममा स्थानीय बासिन्दाले नाराबाजी गर्दै कालोझन्डासमेत देखाएका थिए ।

फोहोर फाल्न नदिन स्थानीय सहमत नभएपछि शुक्रबार सर्वदलीय बैठक बसेको थियो  । सर्वदलीय बैठकले समेत निष्कर्ष नदिएको महानगर प्रवक्ता मोती तिम्सिनाले जानकारी दिए ।

‘सहमतिअनुसार स्थानीयको माग अधिकांश पूरा भइसकेका छन्, केही काम सुरु भएका छन् । मुख्यगरी उहाँहरु दुर्गन्ध फैलिएको भन्नुभएको छ । त्यो पनि पूरा गर्न तयार छौं’, उनले भने, ‘सकभर वार्ताबाटै टुंग्याउने गरी सबैसँग छलफल र समन्वय गरिरहेका छौं ।’

स्थानीय बासिन्दालाई रोजगारी दिनुपर्नेमा व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले आफ्नो छोरा नातेदारलाई भर्ती गरेको र सहमतिविपरीत ल्यान्डफिल साइटमा फोहोर वर्गीकरण गरेर बेचविखन गर्न दिएकोसमेत स्थानीयको आरोप छ ।

‘फोहोर फाल्ने ठाउँमा सेग्रिगेसन नगर्ने सहमति थियो । तर, मिलेमतोमा सेग्रिगेसन गरियो, त्यसको दुर्गन्ध हामीले व्यहोर्नु परिरहेको छ’, संघर्ष समितिका संयोजक इच्छा गुरुङले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि चराहरु धेरै आउने भन्दै पोखरा महहानगरपालिका–१४ स्थित बच्छीबडुवाको ल्याण्डफिल साइट हटाइएको थियो ।

महानगरपालिकाले ६ महिनाका लागि भन्दै लामेआहालमा फोहोर फालेको पनि ६ महिना पूरा भइसकेको छ ।

लामेआहालमा सेती नदी किनारमा योजनाबिनै बस्तीको नजिक फोहोर फालिएको भन्दै महानगरविरुद्ध अदालतमा मुद्दा पनि परेको छ । उच्च अदालतले यस विषयमा पोखरा महानगरपालिकासँग लिखित जवाफ मागेको छ ।

महानगर मेयर धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।

‘महानगरबाट सबै प्रक्रिया छिटै हुने गरी निर्णय गरेका थियौं । तर, सरकारी काम एकदमै ढिलो हुने रहेछ । मन्त्रिपरिषद्देखि नै सबै प्रक्रिया पूरा भएर आउँदा ढिलो हुने रहेछ,’ मेयर आचार्यले भने, ‘अब टिमुरपाटामा जग्गा रोक्का भइसकेको छ । केही दिनमा सिडिओ कार्यालयबाट काम हुन्छ । त्यसपछि जग्गाधनी सबैको खातामा पैसा जान्छ ।’

मेयर आचार्यले टिमुरपाटामा अत्याधुनिक तरिकाले फोहोर व्यवस्थापन गर्न ३ वटा कम्पनी छनोट भएको जानकारी दिए । ‘अहिलेलाई महानगरको तर्फबाट ३ वटा कम्पनी छनोट भएका छन् । त्यसबाट एउटाले काम गर्ने हो । विज्ञ टोलीले उहाँहरुको प्रतिवेदनहरु अध्ययन गरिरहनुभएको छ’, मेयर आचार्यले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?