+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

३ वटै अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट गन्तव्य बनाइने, कानुनी र पूर्वाधार सुधार गर्न सुझाव

अच्युत पुरी अच्युत पुरी
२०८० साउन २१ गते १९:३०

२१ साउन, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई ट्रान्जिट गन्तव्य बनाइने भएको छ । यसका लागि विद्यमान कानुनी व्यवस्था र पूर्वाधारमा सुधार गर्नुपर्ने सुझाव सरकारी अध्ययन समितिले दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल सञ्चालन प्रमुखको संयोजकत्वमा गठित समितिले शुक्रबार आफ्नो प्रतिवेदन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई बुझाएको छ ।

समितिका संयोजक टेकनाथ सिटौलाका अनुसार त्रिभुवन विमानस्थललाई ट्रान्जिट सुविधा सहितको पूर्ण विमानस्थलका रुपमा विकास गर्न सकिनेबारे सरोकारवालाले गर्नुपर्ने काम प्रतिवेदनमा समेटिएको छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थको उपयोगमा टेवा पुग्ने समेत उनले बताए ।

‘काठमाडौंंलाई अहिले पनि वार्षिक हजारौं यात्रुले ट्रान्जिट विमानस्थलका रुपमा उपयोग गरिराख्नु भएको छ,’ उनी भन्छन्, ‘तर यो पूर्ण सुविधा सम्पन्न विमानस्थल बन्न सकेको छैन, त्यसका लागि सरोकारवालाले के गर्न सक्छन् भन्नेबारे हामीले सुझाव दिएका छौं ।’

सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने यात्रुको संख्या ७ हजार ३२५ जना रहेको छ । यो संख्या जनवरीमा मात्र २ हजार १३६ र मार्चमा ३ हजार २६३ जना रहेको विमानस्थलको तथ्यांक छ ।

अहिले भुटानबाट काठमाडौंलाई ट्रान्जिट बनाएर नयाँ दिल्लीमा नियमित उडान भइरहेको छ । अर्कोतर्फ नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत ठूलो संख्यामा ट्रान्जिट यात्रु बोकिरहेको संयोजक सिटौलाले जानकारी दिए । ‘संसारभर ट्रान्जिट गन्तव्यले राम्रो विजनेश पाउने गरेका छन् । सोहीकारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा समेत कानुनी र पूर्वाधारको झन्झट समाधान गरी ट्रान्जिट गन्तव्य विमानस्थल बनाउन सकिने अध्ययनको निष्कर्ष छ ।

भन्सार, अध्यागमन र सुरक्षा निकायबीच समन्वयको खाँचो

विमानस्थलमा दर्जनौं निकायले एक साथ काम गरिरहेका हुन्छन् । सोहीकारण विमानस्थललाई ट्रान्जिट गन्तव्य बनाउन कानुनी प्रावधान, कार्यविधि, पूर्वाधार, उपकरण, प्रस्थान कक्षको पुनर्संरचना, सुरक्षा व्यवस्था, अन्तर निकाय समन्वयको खाँचो रहेको अध्ययनको निष्कर्ष छ ।

संयोजक सिटौला भन्छन्, ‘ट्रान्जिटमा बस्ने यात्रुले अध्यागमन र भन्सार पार गर्नु पर्दैन, तर कुनै उडान रद्द भएर २४ घण्टा भन्दा बढी समय रोकिनु पर्ने अवस्था आयो भने उनीहरुलाई होटेलमा राख्नु पर्ने हुन्छ, त्यो बेला के गर्ने भन्ने बारे कानूनी रुपमै बोल्नु पर्छ ।’

यस्ता प्रावधानलाई आआफ्नो विभागीय मन्त्रालय वा सम्बन्धित निकायबाट निर्णय गराएर कार्यान्वयनमा लैजानु पर्ने सुझाव समेत अध्ययनले दिएको उनले जानकारी दिए । अर्कोतर्फ नेपालले एक दर्जन मुलुकका नागरिकलाई अनअराइभल भिसा दिँदैन । उनीहरुको हकमा ट्रान्जिट यात्रा के हुने जस्ता कानुनी विषय समेत सल्टाउनु पर्ने देखिएको उनले बताए ।

ट्रान्जिट विमानस्थलको फाइदा के ?

ट्रान्जिट विमानस्थल बनाउँदा एयरलाइन्सले धेरै विजनेश पाउँछन् । यात्रु विमानस्थलमा केही बेर रोकिँदा हुने किनमेलले आन्तरिक अर्थतन्त्रलाई समेत टेवा पुग्छ । अर्कोतर्फ ट्रान्जिट हव भएका गन्तव्यमा होटेल विजनेश समेत राम्रो फस्टाउने गरेको छ । यसले विमानस्थलहरुमा समेत व्यापारिक र आर्थिक गतिविधि बढ्ने त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताएका छन् । उनले भनेका छन्, ‘प्रतिवेदनमा उल्लेख विषयमा थप छलफल गरी यसलाई निर्णयको प्रक्रियामा अगाडि बढाइने छ ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?