+
+

दाह्रीजुँगा काट्ने आधुनिक मेसिन : कस्तो डिजाइन, कति मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १६:२३

काठमाडौं । दाह्रीले पुरुष सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । तर दाह्रीलाई चटक्क मिलाउन भने धेरैलाई झन्झट लाग्न सक्छ । स्मार्ट देखिन मन त हुन्छ, तर दाह्री मिलाउन पार्लर जाने समय छैन भने के गर्ने ?

अहिले बजारमा यस्ता सामग्री छन्, जसबारे जानकारी लिएमा घरमै सैलुनमै बनाएको जस्तो चटक्क मिलेको दाह्री र जुँगा बनाउन सकिन्छ ।

आवश्यक सामग्री

सेभिङ क्रिम र सेभिङ फोम

दाह्री काट्न सबैभन्दा पहिला सेभिङ क्रिम लगाउनुपर्छ । सेभिङ क्रिमले दाह्री, जुँगाको रौं र त्यहाँको छालालाई मोइस्चर राख्न मद्दत गर्छ, जसकारण यो नरम हुन्छ । काट्न सजिलो बनाउँछ । र, काट्नका लागि धेरै बल लगाउनु पनि पर्दैन ।

निभिया, डेटोल, बोम्बे सेभिङ क्रिम, भिजोन ब्राण्डका सेभिङ क्रिम बजारमा उपलब्ध छन् । जसको मूल्य ३००-४०० रुपैयाँ पर्छ । त्यस्तै, सेभिङ फोमले पनि दाह्रीलाई नरम बनाउँछ । क्रिमलाई सेट गर्न सेभिङ फोमले काम गर्छ । सेभिङ फोम जिलेट, सेभिङ, डेनिम, बोम्बे ब्राण्डको बजारमा उपलब्ध छ । फोमको मूल्य र सेभिङ क्रिमको मूल्य लगभग उस्तै पर्छ ।

ब्रस, कैची र नोज ट्रिमर

सेभिङ क्रिम होस् वा दाह्री काटेपछि लगाउने आफ्टर सेभिङ । यी क्रिम लगाउन ब्रस चाहिन्छ । यसले कुनाकाप्चा एकैनासले चाहिने क्रिम पुर्‍याउँछ । पमाकेयर प्लाटिनम  सेभिङ ब्रस, वाइल्ड स्टोन सेभिङ ब्रस, भेगा सेभिङ ब्रस र गुल नेचुरल ब्रिसटल सेभिङ ब्रस बजारमा छन् ।

त्यस्तै, दाह्री काट्न छुटाउन नहुने प्रोडक्ट हो, कैंची । यो कपाल काट्ने  कैंचीजस्तो ठूलो हुँदैन । यसले उठेको कपाललाई डिजाइन दिने काम गर्छ ।

क्लासिक सेभिङ सिजर, मोर्डन सेभिङ सिजर, इसेन्सियल सेभिङ सिजर, क्याजुयल सेभिङ सिजर नामका कैंची बजारमा पाइन्छ । यसको मूल्य ७५ रुपैयाँदेखि सुरु हुन्छ । दाह्रीसँगै नाकमा आउने रौंलाई नोज ट्रिमरले काट्न सकिन्छ । नोज ट्रिमर फिल्पिसको राम्रो छ । नोज ट्रिमर दाह्री ट्रिमरसँग पनि आउने गर्छ ।

रेजर

रेजरले दाह्री र जुँगालाई क्लिन सेभ दिने काम गर्छ । रेजर विभिन्न ब्राण्डका बजारमा छन् ।

जिलेट गार्ड रेजर ब्लेड

लेट ब्राण्डको रेजर सबैभन्दा चलेको छ । भारतबाट आउने अर्को रेजर हो, जिलेट गार्ड रेजर ब्लेड । यो दाह्री काट्न सुरक्षित छ । यसमा हुने ब्लेडको धारले क्लिन सेभ गर्न मद्दत गर्छ । जिलेट गार्ड रेजर ब्लेडको प्याकेटमा १२ वटा ब्लेड हुन्छ । यो समात्दा हलका हुनुका साथै यसको ग्रिप पनि एकदमै राम्रो हुन्छ । यसमा एउटा मात्र धार भएको ब्लेड हुन्छ । यसको एउटा पिसको मूल्य ५० रुपैयाँ पर्छ ।

जिलेट फ्युजन फाइभ

यसको विशषता भनेको दाह्री काट्न धेरै बल लगाउनु पर्दैन ।  यसमा हुने पाँचवटा ब्लेडले कुनै रौं पनि बाँकी राख्दैन । लचिलो कम्फर्ट गार्डमा १५ माइक्रोफिन हुन्छन् । अनुहारको रूपरेखाअनुसार आरामसँग दाह्री काट्न सहज हुन्छ । जिलेट फ्युजन रेजरमा एर्गोनोमिक ह्यान्डल छ । जुन ब्लेडको दुवै छेउमा प्रयोग गर्दा सुरक्षित हुने किसिमको डिजाइन गरिएको हो । यसको मूल्य ९०० रुपैयाँबाट सुरु हुन्छ ।

जिलेटको ब्लेड ७ ओ कल्क

यो ब्लेड सस्तो पनि रहेको हुँदा धेरैको रोजाइमा पर्छ । यो स्टेनलेस स्टील ब्लेड हो । यसको ब्लेड निकै तिखो हुन्छ र  लामो समयसम्म प्रयोग गर्न मिल्छ । यसमा ७ वटा ब्लेड हुन्छन् ।

भेक्टर रेजर

भेक्टर रेजरको विशेषता भनेको एकदमै छालाको नजिकबाट रौं सफा गरी काट्छ । यसमा हुने लुब्रिकेसन स्ट्रिपले  दाह्री काट्दा छाला रातो हुने र काटिने सम्भावना कम हुन्छ । यसले छालालाई तन्काएर रौं सजिलै काट्न मद्दत गर्छ । भेक्टर रेजर एकदेखि १० पटकसम्म प्रयोग गर्न मिल्छ । यसको मूल्य ३०० रुपैयाँबाट सुरु हुन्छ ।

भीजोन

अन्यको तुलनामा भी-जोन सस्तो पर्छ । यो डिस्पोजल रेजरको मूल्य ७५ देखि एक सय रुपैयाँसम्म पर्न सक्छ । यसमा डबल ब्लेड हुन्छ । हतारको समयमा दाह्री काट्न यो उपयोगी हुन सक्छ ।

दाह्री ट्रिमर

घरमा सैलुनको जस्तो परिणाम दिन ट्रिमर र रेजरले मद्दत गर्छ । बजारमा आधुनिक र नयाँ–नयाँ ट्रिमर तथा रेजर मेसिनहरु छन् । क्लिन सेभ गर्न होस् वा छोटो बनाएर स्टाइल दिन यी मेसिन उपयोगी हुन सक्छन् । ट्रिमर लगाउँदा सेभिङ क्रिमको आवश्यक पर्दैन ।

द फिलिप्स नोर्लेको एमजी७७५०

द फिलिप्स नोर्लेको एमजी-७७५० पुरुषहरुको रोजाइमा पर्छ । किनकि यो मेसिन हातमा लिएर काट्न सहज हुन्छ । र,  दाह्री, कपाल र शरीरमा भएको अनावश्यक रौं हटाउँछ । यस दाह्री ट्रिमरको विशेषता भनेको आवश्यक मात्रामा पावर दिन्छ । बाक्लो रौंलाई छिटो खौरिन सकिन्छ तर अलिकति चिप्लोले दाह्री वा जुँगाको ठूलो भाग भने हटाउन सक्दैन । यसमा १४ गाइड दाँत,  तीन चौडाइमा ट्रिमर हेड, सानो फोइल सेभर हेड र नाकको रौं हटाउने ट्रिमर समावेश हुन्छ । यो एकपटक चार्ज गरेपछि पाँच घण्टासम्म चल्छ । यसमा हुने स्टिल ब्लेडहरू तिखो हुन्छ । यसको मूल्य तीन हजार रुपैयाँबाट सुरु हुन्छ ।

द वाहल एकवा ब्लेड९८९९   

वाहल ब्रान्डको ‘द वाहल एकवा ब्लेड-९८९९’ पनि दाह्री काट्ने उत्कृष्ट मेसिन हो । यो हेर्दा ठूलो र यसमा हुने सुरक्षित ग्रिपले सानो रौं ट्रिमिङ गर्न सजिलो हुन्छ । दाह्री वा जुँगाका लागि वाहल ब्राण्डले धेरै उपकरण ल्याएका छन् । जसको नेपालमा तीन हजारदेखि १० हजारमाथिसम्म मेसिनको क्षमताअनुसार मूल्य पर्न आउँछ ।

जेमिइ मेसिन

जेमिइको मेसिनमा अनावश्यक रौं, नाकको रौं र दाह्री जुँगा हटाउने तीनवटा ब्लेड समावेश हुन्छ । यसमा स्टेनलेस ब्लेड हुन्छ भने बोक्न पनि हलुका हुन्छ । त्यस्तै, तीनवटामध्ये एक–एकबाट यसमा भएको ब्लेडले दाह्री र जुँगालाई हल्कासँगले आकारप्रकार दिन पनि मद्दत गर्छ । साथै यसमा ब्याट्रीको क्षमता पनि राम्रो हुन्छ । बजारमा यसको मूल्य ७०० देखि सुरु हुन्छ ।

प्यानासोनीक इआर–२०७–डब्लुके–४४बी 

पातलो र रिचार्जेबल ट्रिमर खोज्दै हुनुहुन्छ भने प्यानासोनिक इआर–२०७–डब्लुके–४४ बी बजारमा सहजै उपलब्ध छन् । यो ट्रिमर कर्ड र ताररहित दुवै प्रयोग गर्न सकिन्छ । यो ट्रिमर जापानी प्रविधिबाट स्टेनलेस स्टील ब्लेड प्रयोग गरी बनाइएको छ ।

यो ट्रिमरमा फराकिलो ब्लेड कटरहरू फिट गरिएको हुन्छ । यसले १२ फरक सेटिङमा दाह्री ट्रिम गर्न सक्छ । जुन यसको मुख्य आकर्षण पनि हो । कम्पनीले दुई वर्षको वारेन्टी पनि प्रदान गर्छ ।

नोवा एनएचटी१०७१ ट्रिमर

नोभा कम्पनीको यो ट्रिमरमा उच्च ग्रेडको ब्लेड छ । यसले अनुहारको जुनसुकै रौं सजिलै निकाल्नुका साथै डिजाइनअनुसारको लम्बाइमा ट्रिम गर्न सक्छ । यस ट्रिमरमा लिफ्ट एण्ड ट्रिम प्रविधिको प्रयोग गरिएको छ । ट्रिमरमा रौंलाई ठ्याक्कै छाँटकाँट गर्ने र जरा नजिकैको कपाल काट्ने गर्छ । यो ट्रिमरमा चाहना अनुसार कपाल तथा दाह्री  काट्नको लागि नौ फरक सेटिङहरू छन् । यसको मूल्य १४ सय रुपैयाँजति पर्न जान्छ ।

आफ्टर सेभिङ क्रिम

दाह्री काटिसकेपछि आफ्टर सेभ क्रिम लगाउनुपर्छ । सेभिङ क्रिमले ब्लेडले छालामा बनाएको रातोपन,  पोल्ने र काट्ने जोखिमलाई कम गर्छ । यो लगाउनाले छाला सुख्खा पनि हुन पाउँदैन । बजारमा निभिया, डेनिम, जिलेट्सका ब्रान्डका आफ्टर सेभिङ क्रिम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?