+
+

विद्युतीय चुल्होको प्रयोग बढ्यो

पहिलो पटक विद्युतीय चुल्होको गुणस्तर मापदण्ड बनाइँदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन २४ गते १८:३०

२४ साउन, काठमाडौं । मुलुकभर विद्युतीय चुल्होको कारोबार बढेको छ । केही वर्ष अघिसम्म वर्षभर एक हजारको हाराहारीमा आयात हुने विद्युतीय चुल्होको संख्या पछिल्ला दिनहरुमा लाखमा पुगेको छ ।

तारे होटल र साना रेष्टुराँदेखि घरका भान्सामा इन्डक्सन र इन्फ्रारेड वैकल्पिक चुल्होको रुपमा प्रयोग भइरहेका छन् । खाना पकाउने ग्याँससँगै विद्युतीय चुल्होको प्रयोग बढ्दै गएकाले यसको आयात र बिक्रीमा उत्साह छाएको व्यवसायीहरुले बताएका छन् ।

वार्षिक आयात २ लाख थान नाघ्यो

आर्थिक वर्ष २०७६/७७ मा  नेपालले १० हजार ४३५ थान इन्डक्सन चुल्हो आयात गरेको थियो । तर, त्यसको तीन आर्थिक वर्षपछि नेपालमा विद्युतीय चुल्होको वाषिर्क आयात २ लाख थान नाघेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालले २ लाख ४ हजार ३९३ थान विद्युतीय चुल्हो नेपालले आयात गरेको छ । यसका लागि नेपालले ४२ करोड ५४ लाख ७४ हजार रुपैयाँ खर्च भएको थियो । जसमा एक लाख ३० हजार ७४५ थान इन्डक्सन चुल्हो रहेका छन् भने ७३ हजार ६४८ थान इन्फ्रारेड चुल्हो नेपालमा आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३२ करोड २८ लाख ४७ हजार रुपैयाँ बराबरको एक लाख ५८ हजार २६४ थान विद्युतीय चुल्हो आयात भएको थियो । जसमा एक लाख १६ हजार ८१० थान इन्डक्सन र ४१ हजार ४५४ थान इन्फ्रारेड चुल्हा थिए ।

यस्तै, आर्थिक वर्ष २०७७/८८ मा २४ करोड ८२ लाख रुपैयाँ बराबरको एक लाख ५४ हजार थान विद्युतीय चुल्हो नेपाल भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । जसमा २४ सय थान इन्फ्रारेड चुल्हो थिए ।

किन बढ्यो विद्युतीय चुल्होको व्यापार ?

पछिल्लो समय विद्युतको नियमिततासँगै मानिसहरु विद्युतीय चुल्होमा आकर्षित हुँदै गएको व्यवसायीहरु बताउँछन् । घरमा ग्याँस चुल्हो भए पनि हरेक घरमा विकल्पमा विद्युतीय चुल्हो राख्ने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

लामो समय खाना तातो बनाएर राख्नु पर्ने पार्टी प्यालेस, होटल र रेष्टुराँमा इन्फ्रारेड चुल्होहरु खर्चका हिसाबले किफायती बन्दा यसको प्रयोग बढ्दै गएको महासंघका अध्यक्ष रमेश देवकोटा बताउँछन् । ‘होटल र रेष्टुराँमा अहिले विद्युतीय चुल्होको प्रयोग बढ्दो छ,’ अध्यक्ष देवकोटाले भने, ‘घरघरमा पनि एउटा वैकल्पिक चुल्हो आवश्यक रहेको भन्दै ग्राहकहरु आउने गरेको देखिएको छ ।’

महासंघका अनुसार हाल बजारमा भएका चुल्होले एक सिलिण्डर ग्याँसको मूल्यका आधारमा विद्युतीय चुल्हो प्रयोग गर्दा ३ देखि ५ सय रुपैयाँ बचत हुने देखिएको छ । तर, गुणस्तरीय विद्युत उपलब्ध नभएका कारण पूर्णरुपमा विद्युतीय चुल्हो प्रयोगमा आउन भने नसकेको देवकोटा बताउँछन् ।

एलपी ग्यासभन्दा विद्युत सस्तो र देश हितमा हुने भएकाले सरकारले विद्युत प्रयोगमा उपभोक्तालाई जागरुक बनाउनुपर्ने ऊर्जाविज्ञ प्राध्यापक डा.जगन्नाथ श्रेष्ठ बताउँछन् । ‘सिलिण्डर ग्याँस किन्न १७ सय खर्च हुन्छ तर उक्त ग्याँस बराबरको खाना पकाउन इन्डक्सनमार्फत विद्युतबाट ९ सय हाराहारीले पुग्छ । अर्कोतर्फ वातावरण प्रदूषणबाट मुक्ति मिल्छ’ उनले भने ।

श्रेष्ठले बिहान-बेलुका खाना बनाउने समयमा बिजुली नियमित आउने वातावरण बनाउनु अपरिहार्य भएको बताए । ‘यसले अर्बौंको बिजुली उपयोग हुने र ग्याँसको खर्च पनि जोगाउने देखिन्छ । स्थानीय बिजुली पूर्वाधार बलियो बनाउन लगानी गरिनु पर्छ ।’ गुणस्तरीय र दुई वा सोभन्दा धेरै मुखे इन्डक्सन र इन्फ्रारेडको प्रयोग बढाउनु पर्नेमा पनि उनले जोड दिए ।

विद्युतीय चुल्होको गुणस्तर मापदण्ड बनाइँदै

विद्युतीय व्यवसायी र सरकार मिलेर नेपालमा प्रयोग हुने चुल्होको नेपाल गुणस्तरको खाका बनाएको छ । कम बिजुली खपत हुने र उपभोक्ताले धेरै लाभ लिन सक्नेगरी नेपाल गुणस्तर मापदण्ड तयार भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विद्युतीय व्यवसायीसँगको समन्वयनमा बनाइएको मापदण्ड अहिले मन्त्रिपरिषद्मा पेश भएको विभागका एक अधिकारीले बताए । मन्त्रिपरिषद्बाट पास भए नेपालमा विद्युतीय चुल्होको पहिलो पटक गुणस्तर मापदण्ड तयार हुने छ । विद्युतीय व्यवसायी महासंघले पनि बजारमा स्तरीय चुल्होको ग्यारेन्टी गर्न गुणस्तर मापदण्ड तयार भएको बताएको छ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?