+
+

मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले भने : राम्रो काम नगरे जिम्मेवारी फेरिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १५:२९

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको कामप्रति आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा उनले सुधारका केही प्रतिबिम्ब देखिए पनि सन्तुष्ट हुने अवस्था नरहेको बताए ।

उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरुको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिए ।

‘अब विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ ।’

पहिलो मन्त्रिपरिषद्को बैंठकबाट सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवाप्रवाहलाई सरल, पहुँचयोग्य र झन्झटमुक्त गराउने तथा विकाससम्वन्धी काममा तीव्रता दिने निर्णय भएको उनले स्मरण गरे ।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १८ र १९ गते सबै मन्त्रालय तथा केन्द्रीय स्तरका कार्यालयका सचिव र कार्यालय प्रमुखहरूसँग छलफलका क्रममा सेवा प्रवाहलाई चुस्त बनाउने तथा विकास निर्माणको गतिलाई तिब्रता दिने निर्देशन दिएको पनि उनले बताए ।

‘मबाट निर्देशन भएका विषय, गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजनाअनुरूप मन्त्रालय तथा निकायहरूबाट भएका कामहरूबाट आ–आफ्नो क्षेत्रमा सुधारका सांकेतिक प्रतिविम्वहरू देखिएका छन्,’ उनले भने, ‘तर पनि यतिमा सन्तुष्ट हुने अवस्था भने छैन । गत आर्थिक वर्षको योजना र कार्यप्रणालीमा उत्साहजनक सुधार हुन नसकेको यथार्थ हामीसामु छ ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा छिटो छरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले हुने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

उनले कार्यसम्पादन कमजोर हुनुको कारण के हो भन्ने प्रश्न गर्दै कार्यशैली, कार्यप्रणाली, कानुनी वा प्रक्रियागत झञ्झट जुनसुकै कारणले भएपनि पहिचान र गहन विश्लेषण गरेर अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिए ।

‘के हामीले हाम्रो प्रणाली सुधार गर्ने सामर्थ्य राख्न सक्दैनौं ? के हामी यथास्थितिबाट माथि उठ्न सक्दैनौं,’ उनले भने,‘ कि हाम्रो नियतमा नै खोट हुनुपर्‍यो कि हामीसँग कार्यान्वयन गर्ने कार्यदक्षताको कमी छ भन्ने स्वीकार गर्नुपर्‍यो जबकि अवस्था यो कदापि होइन ।’

नेपालको कर्मचारीतन्त्रले तदर्थवादी शैलीले काम गर्ने यो परिवर्तनको वेगलाई आत्मसात गर्छ भन्ने पुष्टि गर्नुपर्ने पनि उनले बताए । ‘सरकारले केही गर्न सक्दैन भन्ने जननिराशा र ‘यस्तै हो, यस्तैं चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँड्ने कि ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने’, उनले प्रश्न गरे ।

उनले सरकारका भ्रष्टाचार विरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएको र अत्ताल्लिएको पनि बताए । ‘मुलुकको विकास तथा समृद्धिको ठूलो रोग भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?