काठमाडौं । शरीरको सम्पूर्ण अंगमा रगत र अक्सिजन प्रवाह गर्ने काम नसाको हो । नसाकै कारण अक्सिजन मुटुमा पुग्छ, जसकारण हामी आरामले सास फेर्न सक्छौं । नसा मुटुदेखि दिमागसम्म संकेत आदानप्रदान गर्ने, अंगहरुलाई चलायमान राख्ने काम गर्छ ।
यद्यपि, कुनै कारणले नसामा अवरोध भई न्युरोप्याथीको समस्या आएमा नसाले विस्तारै काम गर्न छाड्छ । समयमै उपचार नहुँदा शरीर अशक्त मात्र होइन ज्यान नै जोखिममा पर्छ । के कारणले न्युरोप्याथी के हो ? कस्तो खालको समस्या हो लगायत विषयमा उपेन्द्र देवकोटा न्युरो मेमोरियल अस्पतालका वरिष्ठ न्युरोलोजिस्ट डा. घनश्याम खरेलसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
न्युरोप्याथी कस्तो खालको समस्या के हो ?
न्युरोप्याथी भनेको नसासम्बन्धी समस्या हो । नसामा केही कारणवश खराबी आएमा नसाले गर्ने काममा अवरोध आउँछ, जसलाई न्युरोप्याथी भनिन्छ ।
शरीरको जुन भागको नसामा अवरोध आउँछ । त्यही भागले काम गर्ने कठिन हुन्छ । जस्तै, आँखामा समस्या भए वरपर हेर्न मुश्किल हुने, कानमा समस्या भए कान सुन्न नसक्ने, हातखुट्टाको नसामा भए चलायमान राख्न गाह्रो हुने समस्या देखिन्छ ।
न्युरोप्याथी हुने कारण के के हुन् ?
नेपालको सन्दर्भमा न्युरोप्याथीको मुख्य कारक मधुमेह हो । त्यस्तै, थाइराइड, उच्च रक्तचाप, कुष्ठरोग, अत्यधिक मदिरा पिउने व्यक्तिमा पनि न्युरोप्याथी हुने सम्भावना बढी हुन्छ । मदिरा पिउने व्यक्तिमा देखिने समस्यालाई अल्कोहलिक न्युरोप्याथी रोग भनिन्छ ।
त्यस्तै, भिटामिनको कमी, मिर्गौला फेल, एचआईभी-एड्स वा केही क्यान्सर औषधिहरूबाट उपचार, जस्तै केमोथेरापी र विकिरण थेरापी प्रयोग, क्यान्सर उपचार प्रणालीमा लुपस एरिथेमेटोसस, अटोइम्युन हेपाटाइटिस, सिकल सेल रोग वा हेमोलाइटिक एनिमिया पर्छन् । जसले रगतमा अक्सिजनको स्तर कम गराउँछ ।
कोलेस्टेरोल घटाउने औषधि, क्यान्सर केमोथेरापी र मधुमेह औषधिहरू, जस्तै मेटफर्मिन वा ग्लुकोफेज र अन्य ओरल हाइपोग्लाइसेमिकसहित केही औषधिले न्युरोप्याथी हुन सक्छ । कहिलेकाही न्युरोप्याथीको कारण पत्ता नलाग्न पनि सक्छ ।
नसालाई मदिरा, कुष्ठरोग जस्ता तत्वले कसरी प्रभाव पार्छ ?
मदिरामा हुने तत्वले नसाको बाहिरी भाग र भित्री मोटो नसालाई पनि असर गर्दै ड्यामेज गर्छ । जसले विस्तारै नसाले काम गर्न छाड्छ । मधुमेहले नसामा जाने रक्तनलीलाई ब्लक गर्छ । जसले गर्दा नसामा रगत पुग्दैन र नसाको भाग मर्न थाल्छ । कुष्ठरोगले नसामा संक्रमण गराउँछ । रगत नपुगेपछि नसा नै पाक्न थाल्छ । नसालाई पनि अन्य अंगजस्तै पोषण चाहिन्छ । जसमा भिटामिन १२ प्रमुख हो । यी पोषणतत्वको अभावले न्युरोप्याथीको समस्या गराउन सक्छ । बुढापाकामा मासु नखाने कारण पोषण अभावले न्युरोप्याथी हुन सक्छ ।
के कस्ता लक्षण देखिन्छ ?
न्युरोप्याथीका लक्षणहरू शरीरको प्रकार र प्रभावित भागको आधारमा भिन्न हुन सक्छन् । हातखुट्टा पोल्ने, कमजोर हुने र झमझमाउने, चलाउन कठिन हुने, दिसापिसाब गर्ने नसामा असर गर्दा दिसापिसाब गर्न नसक्ने, उभिदा लर्खराउने र सिल्का हान्नेजस्ता लक्षण देखिन्छ ।
कस्तो उमेर समूहलाई यसले बढी सताउँछ ?
यसले जुनसुकै उमेरमा सताउँछ । तर शिशु अवस्थामा भने सम्पूर्ण पोषण आमाको दूधबाट पुग्ने भएकाले यसको समस्या त्यति हुँदैन । युवावस्थामा थाइराइड, मधुमेह, मदिरापान र वृद्धावस्थामा भिटामिनको कमी, मदिरा र नसा च्यापिने समस्याले हुन सक्छ । ट्युमरले रसायनिक पदार्थ निकाल्छ, त्यसले पनि नसा च्यापिने समस्या हुन सक्छ ।
न्युरोप्याथीको पहिचान कसरी गरिन्छ ?
मधुमेह, थाइराइड, बाथरोगको जाँचबाट स्तर मापन गरिन्छ । यससँगै लक्षणअनुसारको नसाको जाँच गरिन्छ । जसबाट नसाहरुलाई कतिको असर गरेको छ, बुझ्न सकिन्छ । त्यसबाट पनि स्पष्ट नभए नसाको एमआरआई गरेर हेरिन्छ ।
यसको उपचार कसरी गरिन्छ ?
न्युरोप्याथी हुने धेरै कारण हुन्छन् । त्यसलाई मध्यनजर गर्दै उपचार प्रक्रिया अघि बढाइन्छ । जस्तै, मधुमेह, थाइराइड जस्ता दीर्घरोगले भएको हो भने त्यसलाई नियन्त्रण गर्न आवश्यक हुन्छ । मद्यपानले हो भने पिउन छाड्ने र उनीहरुमा भिटामिन बी-१ को कमी हुने हुँदा त्यसको सप्लिमेन्ट लिने, ट्युमरका कारण हो भने ट्युमरलाई निकाल्न जरुरी हुन्छ । विषादीको कारणले हो भने त्यसको एक्सपोजरबाट टाढा रहने, संक्रमण भएकालाई एन्टिबायोटिक औषधि दिने गरिन्छ । संक्रमणका साथै नसालाई कमजोर पारिरहेको छ भने प्लाज्मा एक्सचेन्ज गर्नुपर्छ । त्यस्तै, सिल्का हान्ने, हातखुट्टा झमझमाउने लक्षणलाई औषधि दिई कम गरिन्छ ।
उपचार नहुँदा देखिने जटिलताहरु पनि छन् कि ?
उपचार नहुँदा मधुमेह भएकालाई पटक–पटक सिल्का हान्दा दुख्ने, पोल्ने हुँदै बस्न, सुत्न समेत कठिन बनाउँदै लैजान्छ । दैनिक कार्य गर्न नसक्ने, कुष्ठरोग भएकाले उपचार नपाए हातखुट्टा लाटो हुने मात्र होइन खस्ने, काटिने समेत हुन सक्छ ।
संक्रमणको समस्याको उपचार नभए श्वासप्रश्वासमा समस्या भएर भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउँछ रोगको पहिचान नहुँदा मृत्यु हुन सक्ने सम्भावना हुन्छ । अल्कोहलिक न्युरोप्याथीका समस्या भएकाहरुमा स्मरण शक्ति घट्दै जाने, दिसापिसाब गरेकोसम्म होस् नहुने हुन सक्छ ।
यसलाई रोकथाम वा लाग्न नदिने उपाय के–के छन् ?
दीर्घरोग नियन्त्रण गर्ने, हातखुट्टा लाटो भएकोजस्तो अनुभव भएमा तुरुन्त चिकित्सकलाई देखाउने, मद्यपान नगर्ने र शारीरिक व्यायामलाई प्राथमिकता दिन सकेमा यो समस्याबाट बच्न काफी हदसम्म सकिन्छ ।
तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4