+
+

गुलाबी विद्रोह

माइतीघरमा यी र अनेकौं पीडितले न्याय मागिरहँदा पनि आफूलाई ठूलै नारीवादी भन्ने महिलालाई अलिकति पनि छुँदैन। किन होला? अन्तर्राष्ट्रियस्तरमा नेपाली महिलाको प्रतिनिधित्व गर्दा उनीहरूलाई कोही छुटेको वा छुटाएको जस्तो महसुस किन नभएको होला? 

रक्षा बम  रक्षा बम 
२०८० साउन २६ गते ९:००

‘न्याय देव, सरकार!’

माइतीघरमा व्यानर समातेर बसिरहेका केही महिलाको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो।

शब्द पढ्दा काठमाडौंभित्र बोलिने भाषा जस्तो लागेन। यी महिला पक्कै पनि थानकोट पारिको ‘नेपाल’ बाट हुनुपर्छ।

तस्वीरमा ठूला अक्षरमा अर्को वाक्य पनि लेखिएको थियो, ‘न्यायका लागि सरकार खोज्दैछौं।’

राजधानी आएर न्यायको आन्दोलन गर्ने यी साहसी महिलाहरू सीमान्तकृत समुदायका हुन्। अझै मधेशका सीमान्तीकृत समुदाय! यो भनेको नीमको रूखमा बसेर करेला चपाउनु सरह हो।

रक्षा बम 

हुन त राजधानीमा न्यायका लागि सरकार खोज्न थालिएको यो पहिलो पटक त होइन। न्यायका निम्ति जनताले सरकार खोजिरहेका थिए, छन् र मलाई लाग्छ– यदि यस्तै अवस्था रहिरह्यो भने जनताले यसरी नै सरकार खोजिरहने छन्।

यसको पुष्टि गर्न हामी अरू कतै नगई काठमाडौंको माइतीघरमण्डल गए पुग्छ जहाँ अहिले पीडितहरू न्यायका लागि सरकार खोज्दै दिनहुँ जसो धर्नामा बसिरहेको देखिन्छन्।

हेर्नुस त विडम्बना ! देशमा संघीयता आए पनि न्याय खोज्दै काठमाडौं आउनुपर्ने बाध्यता अझै हटेको रहेनछ।

नेपालको इतिहासमा विभिन्न कालखण्डदेखि कैयौं राजनीतिक र सामाजिक आन्दोलनहरू हुँदै आइरहेका छन्। र, त्यस्ता क्रान्तिकारी आन्दोलनले निम्त्याएका परिवर्तन पनि हामीमाझ छर्लंगै छन्।

आन्दोलनमा नेपाली महिलाको योगदान हामी बिर्सिन सक्दैनौं। जनआन्दोलन होस् या बादी आन्दोलन, पैतृक सम्पत्तिमा समान अधिकार होस् या महिला हिंसामा न्याय लगायतका आन्दोलन, नागरिकतामा समान अधिकार होस् या सडकदेखि संसदसम्म समान उपस्थिति, महिलाहरू आफ्नो पहिचान र अधिकारका लागि पटक–पटक सडकमा ओर्लिएका छन्।

महिला अधिकार सुनिश्चित हुनुपर्छ भनेर नेपालमा अहिले पनि महिलाहरू सडकमा आन्दोलन गरिरहेका हुन्छन्। विद्रोह गरिरहेका हुन्छन्।

गुर्दी दिदी भन्थिन्, ‘पाउजु लगाउन सारै मन पर्छ तर यो पनि एउटा बन्देज न हो। महिलाहरू उड्न खोज्दा खुट्टा सधैं जमिनमै भैरहोस् भनेर बाँधेर राखिएको हो।’

न्यायका लागि सरकार खोजिरहेका ती महिलाका आन्दोलन पनि एक किसिमको विद्रोह नै थियो। पितृसत्तामा महिलाहरूले आवाज उठाउनु मात्रै पनि विद्रोह हो जस्तो लाग्छ। त्यसैमाथि सीमान्तकृत समुदायका महिलाहरूले आवाज उठाउनु भनेको त आफैंमा ठूलो क्रान्ति हो।

काठमाडौंको माइतीघरमण्डलमा महिलाहरूको एक जमात दिनहुँ जसो धर्नामा बसेको देखिन्थ्यो। निर्मला कुर्मी लगायत बाँकेका हिंसापीडित महिलालाई न्याय दिलाउन माग गर्दै नेपालगञ्जबाट पहिलो चरणमा २१ दिन पैदल हिंडेर काठमाडौं आइपुगेका रुवी खान लगायतका अभियन्ताहरू पुनः तेस्रो चरणको आन्दोलन लिएर पुस ११ गते काठमाडौं आइपुगेका थिए। उनीहरूको तेस्रो चरणको आन्दोलन ५०औं दिनसम्म लम्बिएको थियो।

हरेक दिन बिहान १० बजे कलंकीबाट पैदल हिंडेर सरकारलाई सुनाउनका निम्ति सिट्ठी बजाएर, न्यायका लागि सरकार खोज्न भनी दिउँसै हातमा लालटिन बोकेर माइतीघरमण्डल आइपुग्थे र बेलुका ५ बजेसम्म धर्ना बस्थे। ४८औं दिनसम्म उनीहरूको यो तालिका निश्चित नै थियो। ४८औं दिनमा सरकारसँग ३ बुँदे सहमति भएसँगै उनीहरू नेपालगञ्ज फर्किएका थिए।

उनीहरूको यस पटकको आन्दोलनलाई मैले नजिकैबाट नियाल्ने मौका पाएँ। आन्दोलनमा म १५औं दिनमा जोडिएकी थिएँ। आन्दोलनरत साहसी महिला देख्दा एक किसिमको छुट्टै ऊर्जाको महसुस हुन्थ्यो। उनीहरूको कथा सुन्दा लाग्थ्यो- कसैका लागि जीवन किन यति कठोर?

पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा आकाशलाई छानो र भुईंलाई बिछ्यौना बनाई, पातलो ब्लाङ्केट ओढेर थरथर काँप्दै उनीहरू धर्नामा बस्थे। ‘म डराएकी छैन’ भन्ने नारालाई आत्मसात् गर्दै आँखामा वास्तवमै सुदृढ संकल्प बोकेर उनीहरू न्यायको माग गर्थे।

उनीहरू अवधी भाषामा भन्थे, ‘सरकार! तुम हमका बन्दुक और लाठी के डर देखावत हो, हम हतेली पर मौत लैके आए हन्। तुम हमका लोहेके सलाखन मा बन्द करेक चाहत हो, हम सोनेके पिजडा तुडके आए हन्।’

अवधी भाषा बोल्ने यी महिलाले खासै नेपाली बुझ्दैनन्। आन्दोलनरत एक महिलालाई सोधें, ‘नेपाली बुझ्नुहुन्छ ?’ उनले भनिन्, ‘बुझ्छु तर फर्काउन भने आउँदैन।’

उनले मलाई प्रश्न गरिन्, ‘तपाईं अवधी बुझ्नु/बोल्नुहुन्छ?’

अलि अलि बुझे पनि बोल्न नआउने बताएँ। उनले मुस्कुराउँदै भनिन्, ‘तपाईंले जस्तै सरकारले पनि हाम्रो भाषा नबुझेको होला है। त्यसैले त हामीले न्यायका लागि यति धेरै कुर्नु परिरहेको छ।’

सेतो पछ्यौरीमा नेपालगञ्जकी ४५ वर्षीया गुर्गी ।

म निःशब्द भएँ।

आन्दोलनकै क्रममा मेरो भेट नेपालगञ्जकी गुर्गी दिदीसँग भयो। नेपालगञ्जकी ४५ वर्षीया गुर्गी दिदी आन्दोलनकारीमध्ये एक थिइन्। उनी धेरैजसो एकान्तमा बस्ने गर्थिन्। गुलाबी पछ्यौरी ओढेर आधा अनुहार देखाउँदै कुनै नयाँ मान्छे देख्नासाथ मुसुक्क मुस्कुराउँथिन्।

उनीसँग गफ गर्न थाल्यो भने दिल खोलेर गफिन्थिन्। उनी थोरै मात्रामा नेपाली बुझ्थिन् र बोल्ने कोसिस पनि गर्थिन्।

गफ गर्ने क्रममा उनले आफू एकल महिला भएको बताइन्। उनकी एउटी छोरीको भारतमा बिहे भएको रहेछ। उनी घरमा एक्लै बस्दिरहिछिन्। जिन्दगीको अनवरत यात्रामा आफूले भोगेका दुःख सम्झेर, आफूले खाएका ठक्करहरू सोचेर कहिलेकाहीं भावुक पनि हुन्थिन्।

उनी यस्ती आमा हुन् जसले आफ्नै ५ सन्तानको निधन देखिन्। ती आमाको पीडा कस्तो होला! बाँकी रहेकी एक सन्तान पनि सीमापारि विवाह गरेर गइन्। उनी भन्थिन्, ‘कोही रोगले मरे, कोही भोकले मरे।’

गुर्गी दिदीसँग म दिनहुँ गफिन्थें। कुरा गरिरहँदा दिन बितेको पत्तै हुँदैनथ्यो। राज्य छ, सरकार छ भन्ने उनले यति लामो र अत्यासलाग्दो जीवनमा कहिल्यै अनुभूति गर्न पाइनन्। मधेशकी ती महिलाले न्याय र अधिकारका लागि राजधानीको मुटुमा विद्रोहको आवाज उठाइन्। यस्तो दृश्य मेरो लागि एउटा अद्भुत र प्रेरणादायी विषय बन्यो।

पहिलो चरणको आन्दोलनमा २१ दिन पैदल हिंडेर राजधानी आइपुगेको कुरा उनी सम्झिंदै भन्थिन्, ‘पहिरोलाई छलेर, नदीनाला नाघेर र कैयौं पहाड काटेर हामी यहाँसम्म आइपुगेका हौं। बरू यो चिसोले ज्यानै लगोस्, तर न्याय नपाएसम्म हामी पछि हट्ने छैनौं ।’

गुर्गी दिदीलाई पाउजुको खुबै शोक रहेछ। उनी आन्दोलनमा पाउजु बजाउँदै दौडन्थिन्। मौका मिल्यो भने त पाउजु बजाउँदै नाँच्थिन् पनि। उनी भन्थिन्, ‘पाउजु लगाउन सारै मन पर्छ तर यो पनि एउटा बन्देज न हो। महिलाहरू उड्न खोज्दा खुट्टा सधैं जमिनमै भैरहोस् भनेर बाँधेर राखिएको हो।’

उनको तर्कले मेरो मनमा खलबली मच्चाइदियो। सधैं स्वतन्त्रता र समानताको कुरा गर्ने म पाउजुलाई केवल श्रृङ्गारका रूपमा चिन्थें। तर आज परम्परागत नारी सोचलाई भत्काउने गरी गुर्गी दिदीले यस्तो कस्तो कुरा गरेकी होलिन् ? प्रश्न जन्मिए।

अनि लाग्यो, ‘पितृसत्ताले श्रृङ्गारलाई फगत श्रृङ्गार नै छोडिदिएको भए पनि त हुन्थ्यो, यी विभिन्न बन्देजहरूको प्रतीक स्वरूप हामीलाई किन बाँधियो ?’

यो लडाईं पक्कै पनि ती सीमान्तकृत महिलाहरूको मात्रै थिएन। महिला हिंसा र अन्याय विरुद्ध उभिने  सम्पूर्ण महिलाहरूको पनि थियो तर विडम्बना सडकमा उनीहरूको सहभागिता फितलो देखियो।

निर्मला कुर्मीको मुद्दा त केवल एक प्रतिनिधि घटना हो। यस्तै कैयौं आवाज अझै पनि माइतीघरमण्डलमा गुन्जिरहेका छन्। अन्याय हुँदा पनि आफूलाई ठूलै नारीवादी भन्ने महिलाहरूलाई अलिकति पनि छुँदैन। किन होला? अन्तर्राष्ट्रियस्तरमा नेपाली महिलाको प्रतिनिधित्व गर्दा उनीहरूलाई कोही छुटेको वा छुटाएको जस्तो महसुस हुँदैन होला र ?

त्यही पछ्यौरी ओढेर उनी भन्थिन्, ‘सरकार, हम नाही डराए हन्। हम लडा करिब, अँधेर यी जमिनमा, न्यायके उजेर नाहोये तक, तुमका ढुडीके खातिर, बगावतके उज्याला बारत रहिब ।’ अनि म मुस्कुराउँदै भन्थे – ‘गुर्गी दिदीको गुलाबी विद्रोह ।’

हुन पनि किन होस् त! यी देहातका सीमान्तकृत महिलाहरूको पहुँच कहाँ नै छ र ? न समाजमा न राजनीतिमा। कहाँ छ उनीहरूको प्रतिनिधित्व? कहाँ छन् उनीहरूका प्रतिनिधि?

काठमाडौं आएर न्याय माग्न थालिएको ३९औं दिन भइसक्दा पनि सरकार पक्ष मौन रहेको अवस्था थियो। त्यसैले आन्दोलन अब चर्काउनुपर्छ भनी आन्दोलनकारी महिला लगायत हामी केही न्यायप्रेमी साथीहरू मिलेर ३९औं दिनदेखि काठमाडौंको गल्लीगल्ली, चोक–चोकमा उभिएर न्यायको अपील गर्न थालेका थियौं।

एक दिन चाबहिल चोकबाट कार्यक्रम सकेर कलंकीतर्फ पैदल जाँदै गर्दा गुर्गी दिदी र म बाटोभरि कुरा गर्दै फर्कियौं। गुर्गी दिदी एउटा होटलतिर हेर्दै टोलाइन्। सायद आफ्ना अतीतका दिनहरू सम्झना आयो होला। भनिन्, ‘म पनि नेपालगञ्जमा नेपाली साहुको यस्तै होटलमा काम गर्थें, भाडा माझ्थें।’

मैले प्रश्न गरिहालें, ‘नेपाली साहु भन्नाले?’

‘अँ, तपाईंहरूकै जातको’, उनले फर्काइन्।

मैले सम्झाएँ, ‘दिदी, पहाडी समुदायको भन्नु न, नेपाली त तपाईं पनि हो नि!’

मेरो कुरा उनले सायद बुझिनन् जस्तो लाग्यो, नसुने झैं गरी आफ्नै कुरा गर्न थालिन्। उनले फेरि भनिन्, ‘धेरै काम गराउँथ्यो तर तलबको नाममा दुई छाक खान मात्रै दिन्थ्यो।’ उनले तल सर्किसकेको आफ्नो गुलाबी रंगको पछ्यौरी माथि तानिन् र मिलाउँदै ओढिन्।

काठमाडौं पुगेको पहिलो दिनदेखि आन्दोलनको अन्तिम दिनसम्म गुर्गी दिदीले त्यही गुलाबी रंगको पछ्यौरी ओढेकी थिइन्। उनको गुलाबी रंगको पछ्यौरीले सधैं सरकारलाई गिज्याइरहन्थ्यो र साथै हाम्रो समाजको अभिजात वर्गका नारीवादी भनाउँदाहरूलाई पनि प्रश्न गर्थ्यो।

त्यो गुलाबी पछ्यौरीको सामर्थ्यले नै हो माइतीघरमा शिर ठाडो पारेर उभिएको नेपालको झण्डालाई समेत ऐक्यबद्धता जनाउन बाध्य बनाउँथ्यो।

र त्यही पछ्यौरी ओढेर उनी भन्थिन्, ‘सरकार, हम नाही डराए हन्। हम लडा करिब, अँधेर यी जमिनमा, न्यायके उजेर नाहोये तक, तुमका ढुडीके खातिर, बगावतके उज्याला बारत रहिब।’

अनि म मुस्कुराउँदै भन्थे – ‘गुर्गी दिदीको गुलाबी विद्रोह।’

गुलाबी रंगलाई सधैं ‘स्त्री-रंग’, कमजोर रंग, सुन्दरताको रंग र समग्रमा नरम रंगका रूपमा इंगित गरियो। तर यही रंगलाई समेटेर विद्रोहको प्रतीक ठान्दै वर्षौंदेखिको दमन र शोषणको जन्जिरलाई चुँडाल्दै अन्याय विरुद्ध ती देहातका सीमान्तकृत महिलाहरूले ‘गुलाबी विद्रोह’ गरेका थिए।

आन्दोलनरत महिलाहरू र सरकारबीच तीनबुँदे सहमति त भयो तर विडम्बना के भइदियो भने सहमति भएको आज लगभग ६ महिनासम्म पनि अनुसन्धानमा केही प्रगति भएको छैन।

अनुसन्धान टोली भन्छ, ‘हामी अनुसन्धान गर्दैछौं।’

योभन्दा ठूलो दुःखको कुरा त अझ के सुन्नमा आएको छ भने निर्मला कुर्मीको हत्या प्रकरणका मुख्य अभियुक्त ठानिएका लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई प्रदेशको मन्त्री बनाउने कुरो छलफल भइरहेको छ रे! कस्तो विडम्बना!

 साँच्चै! यो देशको कानुन दैवले जानून्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?