+
+

देउवाले पेल्न थालेको निचोडसहित गगन-शेखर खुसामद

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन २६ गते २०:०२

२६ साउन, काठमाडौं । शेखर कोइराला र गगन थापाबीच कांग्रेस महाधिवेशनयता झाँगिएको सम्बन्ध पार्टी संसदीय दल चुनावमा बिग्रेको अड्कलबाजी हुँदै आएको थियो । दुवै नेता निकटहरुले पनि सन्देह र गुनासो महसुस हुने टिप्पणीहरु यस बीचमा गर्दै रहे ।

शेखर पछिल्ला दिनमा देउवा निकट हुँदै गएको गगन पक्षको सन्देह, अनि गगनलाई सधैं एकोहोरो सहयोग गर्न नसकिने शेखरको सन्देशबीच संवाद सिलसिला अवरुद्धजस्तै थियो । उनीहरुबीच दूरी छ भन्ने अनुभूति भने पार्टी पंक्तिमा धेरथोर भइरहेकै थियो ।

यस्तैमा महामन्त्री थापा र नेता कोइरालाबीच बिहीबार लामै छलफल हुन पुगेको छ । यसको कारण भने पुरानै छ । अर्थात् सभापति शेरबहादुर पक्षले दुई नेतालाई विभाजित गर्ने, र पार्टीभित्र फरक मतवालाहरुलाई थप पेल्ने आशंका शेखर–गगनमा पैदा भएको छ । देउवाले पेलेरै जाने नीति लिएको प्रष्ट निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रने निचोडमा दुई नेताहरु पुगेका हुन् ।

पछिलो समय पार्टीमा भ्रातृ संस्थाको मनोनयनका विषयले विवाद देखिएको छ । नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउतले संस्थापनइतरका जिल्ला अध्यक्षहरु हटाएको शेखर–गगन पक्षले जनाएको छ । नेपाल विद्यार्थी संघमा सहमति भन्दा बाहिर गएर तदर्थ समिति बनाएको संस्थापनइतरको निचोड छ ।

अनुशासनको कारबाही अर्को विवादित विषय बनेको छ । पर्सा र कैलालीमा पार्टीले दुई जनालाई अनुशासनको कारबाही गरेको छ ।

भ्रातृ संस्थामा मनोनित र जिल्लामा अनुशासनको कारबाहीको विषयमा संस्थापनइतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले बिहीबार छलफल गरेका छन् । शेखर–गगन टाढिएको भनि आएका तर्क हटाउनका लागि भेट भएको भनि प्रचारित भएको थियो ।

छलफल मुख्यतः संस्थापन पक्षले गरेको निर्णय प्रक्रियामा केन्द्रीत रहेको संस्थापनइतरका एक नेताले जानकारी दिए । समूह भित्र आन्तरिक विषयले प्राथमिकता नपाएको उनले सुनाए ।

‘उहाँ दुईमा बेलाबखत कुराकानी भइरहेको हुन्छ । सम्बन्ध विग्रेकै होइन,’ ति नेताले भने,‘भ्रातृ संस्थामा एकतर्फी गरिएको निर्णय र अनुशासनको कारबाहीका बारेमा छलफल भएको हो ।’ ति बाहेक विषयमा छलफल नै नभएको संस्थापनइतरका नेताको दाबी छ ।

बालुवाटारमा खाना सहितको भेट दुई नेता विच भएको थियो । भेटपछि सभापति देउवा पक्षले गरेका एकलौटी निर्णयको प्रतिवाद गर्ने सहमति दुईमा जुटेको छ । ‘अरु कुरामा छलफल भएको होइन । देउवाको पेलेरै जाने मनस्थिति देखियो । उनका निर्णयको विरुद्धमा लाग्छौं,’ शेखर–गगन पक्षका नेताले भने ।

पार्टी सुदृढीकरणकै बेलामा अनुशासनको डण्डा

पर्सा–१ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्तालाई अनुशासन समितिका केन्द्रीय संयोजक आनन्द ढुंगानाले पत्र लेखेर पार्टी गतिविधिबाट बाहिर राखेका छन् । पार्टी सृदृढीकरणको अभियान सुरु हुनु एकदिन अघि (१९ साउनमा) जिल्ला पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई पत्र लेखेर गुप्ताले निर्वाचनको बेला असहयोग गरेको भन्दै पार्टीका काममा रोक लगाइएको हो । गुप्ता छानविनका क्रममा रहेकाले क्षेत्रीय उपसभापतिलाई आन्तरिक संगठनात्मक क्रियाकलापको जिम्मेवारी दिइएको छ ।

१५ साउनमा जिल्ला अनुशासन समिति पर्साले केन्द्रमा पत्र लेख्दै प्रदेश र प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारलाई गुप्ताले असहयोग गरेको जानकारी गराएको थियो । केन्द्रको पत्र अनुसार जिल्ला सभापति क्षेत्रीले पर्सा १ को कार्यवाहक क्षेत्रीय सभापतिमा अनिल प्रसाद सिंहलाई तोकेका छन् ।

संस्थापन पक्षले पार्टी सृदृढीकरणको समयमा नियोजित रुपमा अर्को पक्षका कार्यकर्तालाई कारबाही गरेको संस्थापनइतरले जनाएका छन् । जिम्मेवारी विहिन भएका गुप्ता भन्छन्,‘निर्वाचनमा असहयोग गरेको भनेर अहिलेसम्म थाहा थिएन । फेसबुकमा हेरेर कारबाही भएको थाहा पाएँ ।’ गत चुनावमा पार्टीका आधिकारिक उम्मेदवार हराउन आफू नलागेको गुप्ताले दाबी गरे ।

कैलाली–४ का नेता एवं तरुण दलका केन्द्रीय सदस्य लोकराज पाण्डे ‘आगो’ लाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको छ । जिल्ला सभापति नारायणदत्त भट्टले पाण्डेलाई अनुशासनको कारबाही गरेका हुन् । सभापतिको पत्रले कैलालीमा पार्टीभित्र विवाद बढेको छ । जिल्ला उपसभापति भीम बडुवाल सभापति भट्टको प्रतिवादमा उत्रेका छन् । बिहीबार बडुवालले विज्ञप्ति निकालेर प्रतिरोध साँधेको आरोप लगाएका छन् । कारबाहीमा परेकालाई पार्टी कार्यमा लाग्न निर्देशन दिएका छन् ।

महिला संघमा संस्थापनइतर विरोधमा उत्रियो

महिला संघको केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले जिल्ला सभापतिहरु हटाएर मनोनित गर्न थालेपछि शेखर–गगन पक्ष विरोधमा उत्रेको छ । साउन २२ मा पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन संस्थापनइतरले अध्यक्ष मिश्रलाई चेतावनी दिएको छ । मिश्रले सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सन्जेल, महोत्तरीकी अध्यक्ष विना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएकी थिइन् ।

अर्को पक्षका महिला संघको अध्यक्ष हटाएर मिश्रले संस्थापन पक्षीयलाई स्थान दिएकी छन् । जिम्मेवारी पाउनेहरुमा ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा, महोत्तरीमा अनिता शर्मा, सोलुखुम्बुमा सरला नाछिरिङ राई, सिरहामा संगिता कुमारी चौधरी, कलावति देवी पासवान र पर्सामा किरण कुमारी शर्मा छन् । २० जना केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति निकालेर हटाएकालाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन् । संस्थापनइतरले दिएको तिन दिनको अल्टिमेटम भने सकिसकेको छ ।

संस्थापनइतरका नेताहरुका अनुसार शेखर–गगनको निर्देशन अनुसार नै उनीहरु विरोधमा निस्किएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि राख्न शेखरले आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई सुझाव दिएका थिए । शेखरको सुझाव अनुसार देउवालाई उनीहरुले भेटेर पत्रकार सम्मेलन गरेका थिए ।

‘५५१ जनाको सहमति गरेर ७१० ल्याइयो’ ः संस्थापनले नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउँदा चलाखीपूर्ण तरिकाले मनोमानी गरेको संस्थापनइतरको ठहर छ । नेविसंघमा ५५१ जना ल्याउने सहमति दुई पक्षमा भएको तर अप्रत्यासित रुपमा ७१० जना सहितको तदर्थ समिति बनेपछि संस्थापनइतर आश्चर्यमा परेको छ । ‘हामीसँग ५५१ जना ल्याउने सहमति भएको हो । तर, ७१० जना बनाइयो,’ संस्थापनइतरकी विद्यार्थी नेता प्रेमिका रानामगरले भनिन्, ‘डेढ सय बढी थप्दा पनि हामीले दिएका नाम काटिएको छ ।’

गत सोमबार तदर्थ समिति बनाइएको थियो । त्यस विरुद्ध संस्थापनइतरका विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षधरका विद्यार्थी नेताहरुको अगुवाईमा बुधबार केन्द्रीय कार्यालय अघि प्रदर्शन गरिएको थियो । संस्थापनइतर असन्तुष्ट देखिएपछि नेविसंघको तदर्थ समितिमा केही संख्या थपिने संकेत संस्थापनले गरेको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?