+
+
पुस्तक समीक्षा :

वन, समुदाय र म : एक नेपाली वनकर्मीको संघर्ष गाथा

पुस्तकमा सामुदायिक वन कार्यक्रमलाई सफल बनाउन खेलेको योगदानको मात्रै चर्चा छैन, नेपालको सरकारी सेवामा रहँदा के कस्ता शासकीय प्रवृत्तिको चेपुवामा परी अनेकौं चुनौती सामना गर्नुपर्‍यो भन्ने फेहरिस्त पनि छ ।

डा. यम मल्ल डा. यम मल्ल
२०८० साउन २७ गते १८:४६

डा. जगदीशचन्द्र बरालद्वारा लिखित ‘वन, समुदाय र म’ पुस्तकमा एउटा सरकारी वनविज्ञले आफ्नो ३२ वर्षको कार्यानुभव, विशेषगरी सामुदायिक वनका क्षेत्रमा काम गर्दा संगालेको अनुभव र चुनौती समेट्ने प्रयास गरिएको छ ।

लेखकले नेपाल सरकारका विभिन्न वनसँग सम्बन्धित वन मन्त्रालय, मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखा, राष्ट्रिय योजना आयोग, वन विभाग, क्षेत्रीय वन निर्देशनालय, विभिन्न जिल्ला वन कार्यलयहरू, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण विभागजस्ता निकायमा काम गर्दाका अनुभव पुस्तकमा राख्नुभएको छ ।

तर, लेखकलाई सामुदायिक वन विकासमा काम गर्दाको जस्तो आनन्द अरु वन कार्य गर्दा आउन नसकेको कुरा यो पुस्तकमा झल्किन्छ ।

लेखकले आफ्नो जागिरको दौरानमा विभिन्न दातृ संस्थाहरूको सहयोगमा संचालित सामुदायिक वन आयोजनामा संलग्न हुँदा र विदेशी मुलुकमा (भारत, बेलायत र अस्ट्रेलिया) फरेस्ट्री बिषयमा डिप्लोमा, एमएस्सी र पीएचडी पढ्न जाँदा र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाको अनुभव पनि समेटिएका छन् ।

उपसंहार खण्डमा अवकाश प्राप्त गरिसके पछिका १०-१२ वर्षमा देखिएका सामाजिक-आर्थिक परिवर्तन र नेपालको सामुदायिक वन विकासमा देखा परेको विचलनबारे छोटकरीमा टिप्पणी गर्दै भविष्यको बाटो सुझाउनुभएको छ ।

लेखकको सामुदायिक वनसम्बन्धी काम उहाँ पहिलोपटक डीएफओ भएर धनकुटा जिल्लामा गएपछि सुरु भएको रहेछ । त्यहाँ बेलायत सरकारको खार्डेप प्रोजेक्टको सहयोगमा सामुदायिक वन कार्यक्रम संचालन भइरहेको रहेछ ।

उक्त परियोजना र जिल्ला वन कार्यालयका सहकर्मीसँग मिली सिल्ढुंगा नाम गरेको वनको उपभोक्ता पहिचान गरी वन समूह बनाउनुभएको रहेछ । उहाँले सामुदायिक वनको रूपमा त्यसलाई समुदायमा हस्तान्तरण गर्न सफल हुनुभएको रहेछ । त्यो सामुदायिक वन उदाहरणीय हुन गएको प्रसंग उहाँले निकै रोचक ढंगले प्रस्तुत गर्नुभएको छ ।

त्यसपछि लेखकको सरुवा अछाम जिल्लामा हुन्छ । त्यहाँ विश्वबैंक, खाद्य तथा कृषि कार्यक्रम र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनाबाट सामुदायिक वन कार्यक्रमलाई सहयोग मिलिरहेको थियो । तर त्यहाँ धनकुटामा जस्तो नाङ्गा क्षेत्र भने थिएनन् । बरु जतासुकै हरिया वनहरू थिए र ती वनहरू स्थानीय बासिन्दाले आपसमा मिलेर हेरचाह गरेका थिए ।

त्यसले लेखकलाई निकै नै उत्साहित बनायो । त्यसरी जसले वन संरक्षण गरेका छन्, उनीहरूलाई नै कार्ययोजना बनाएर औपचारिक रूपमा सामुदायिक वनको रूपमा हस्तान्तरण गर्ने सोच उहाँले बनाउनुभएको र त्यही अनुसार लागु गर्नुभएको देखिन्छ ।

त्यसपछि लेखकको सरुवा पाल्पा जिल्लामा हुन्छ जहाँ जर्मन सरकारको जीटीजेडको सहयोगमा सामुदायिक कार्यक्रम लागु भइरहेको थियो । पाल्पासम्म आइपुग्दा लेखकसँग धनकुटा र अछाम जिल्लाको अनुभव थियो । कसरी नाङ्गो जमिनमा वृक्षारोपण गर्ने र कसरी स्थानीयलाई नै वन व्यवस्थापन गर्न दिनेगरी सामुदायिक वनको रूपमा हस्तान्तरण गर्ने भनेर । उहाँले यही कामलाई आफ्नो प्राथमिकतामा राख्नुभयो ।

लेखकले आफूले गरेको यस्ता काम र अनुभवहरू प्रकाशित गरेपछि उहाँको कामले अझ बढी चर्चा पाउन थाल्यो । र, उहाँलाई विश्वबैंकको छात्रवृत्तिमा अस्ट्रेलियामा पीएचडी पढ्न जान अवसर समेत प्राप्त भयो ।

सफल सामुदायिक वनका लागि कुनै निश्चित सुत्र प्रयोग गर्नुभन्दा ‘गर्दै जाउ, सिक्दै जाउ’ भन्ने व्यवहारिक सुत्रको आवश्यक्ता पर्छ भन्ने लेखकको मूल मान्यता पुस्तकमा प्रस्ट झल्किन्छ । सरकारी कार्यक्रम हुबहु लागु गर्नुभन्दा केही जोखिम नै मोलेर भए पनि जनसहभागितामूलक काम गर्ने उहाँको झुकाव निश्चय पनि प्रशंसनीय छ । यसरी पुस्तकमा एक सरकारी वन विज्ञको हैसियतले धनकुटा, अछाम र पाल्पाका गाउँहरूमा सामुदायिक वन विकास गर्न गरेका सहयोगी कामहरूको उदाहरणीय विवरण पाइन्छ ।

पुस्तकमा सामुदायिक वन कार्यक्रमलाई सफल बनाउन खेलेको योगदानको मात्रै चर्चा छैन, नेपालको सरकारी सेवामा रहँदा के कस्ता शासकीय प्रवृत्तिको चेपुवामा परी अनेकौं चुनौती सामना गर्नुपर्‍यो भन्ने फेहरिस्त पनि छ । खासगरी एक इमान्दार वन अधिकृतले के-कस्ता आरोह-अवरोध पार गर्नुपर्ने रहेछ भन्ने प्रसंग पनि रोचक रूपमा उल्लेख गरिएको पाइन्छ ।

प्रायः सरकारी वनका कर्मचारीहरूको सामाजिक छवि गाउँले-किसानहरूको पक्षमा काम गर्ने भन्दा पनि हुकुमी शासन चलाउने भन्ने कसिमको छ । त्यस्तै वन प्रशासनलाई एउटा शक्ति केन्द्रको रूपमा हेर्ने चलन छ ।

लेखकले आफ्नो कामद्वारा वन अधिकृतहरू स्थानीय समुदायको सेवा र सशाक्तीकरणको लागि एउटा सबल सहजकर्ता र सल्लाहकार हुन सक्छन् भन्ने कामद्वारा प्रमाणित गर्नुभएको थियो । यो सन्देश पुस्तकले पनि दिन्छ । वन कर्मचारीहरूप्रति जनताको छवि सुधार गर्न पनि यो पुस्तक महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ।

नेपालमा एउटा सरकारी सेवामा कार्यरत वन अधिकृतले थुप्रै किसिमका काम गर्नुपर्ने हुन्छ । वन प्राविधिक, वन प्रशासक, अर्ध-न्यायिक निकायका न्यायाधीश, राजस्व उठाउने कर प्रशासक, काठ/दाउरा/जडिबुटी उत्पादन र बिक्री गर्ने सरकारी व्यापारी, वन गस्ती गर्ने वन प्रहरी, वन अपराध सम्बन्धी मुद्दाको अनुसन्धान र तहकिकात गर्ने निकाय, सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण र जगेर्ना गर्ने पहरेदार र अरू पनि थुप्रै जिम्मेवारीहरू ।

यी सबै काम गरेर पनि लेखकले आफ्नो भूमिकालाई स्थानीय समुदायको सल्लाहकार र सहजकर्ताको रूपमा कसरी रुपान्तरित गर्न सकिन्छ भन्ने कुराको विस्तृत बयान पुस्तकमा गरेका छन् । पुस्तकको यो अर्को बलियो पक्ष हो ।

कुनै एउटा सरकारी वनकर्मीले आफ्नो सम्पूर्ण सेवा अवधिभरमा प्राप्त अनुभव यसरी सविस्तार बयान गरेको पुस्तक यसभन्दा पहिले पढ्न पाइएको थिएन । निश्चय पनि वनका क्षेत्र र सरकारी सेवाप्रति रुची भएका पाठकका लागि यो निकै महत्वपूर्ण सन्दर्भ सामग्री हुनेछ ।

लेखकले गरेजस्तै अनुभव अरु सरकारी वनकर्मीहरूले पनि हासिल गरेका होलान् । यस पुस्तकले उनीहरूलाई पनि आफ्ना अनुभव लेखेर प्रकाशन गर्न प्रेरित गर्नेछ ।

सामुदायिक वन विशेषज्ञ डा. मल्ल आईयूसीएनको पूर्व कन्ट्री रिप्रिजेन्टेटिभ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?