+
+

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना, सोमबारपछि मौसम क्रमिक सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते ८:५३

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।

मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए । २४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।

अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको मौसमविद झाले जानकारी दिए । ‘पानी त पर्छ तर अहिलेको जस्तो हुँदैन, क्रमिक सुधार हुन्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

सोमबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् ।

यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ ।

१०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?