+
+

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले बैंकरसँग मागे सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते २०:२३

२८ साउन, काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग मागेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुसँगको छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

‘अर्थतन्त्र राम्रो भयो भने बैंक फाइदामा जान्छ, लगानीको वातावरण राम्रो हुन्छ । अर्थतन्त्र वृद्धि हुन्छ,’ उनले भने, ‘यसले सरकारलाई पनि राम्रो गर्छ, राजस्व बढ्छ ।’

सरकार, निजी क्षेत्र र बैंक मिलेरै यस्तो वातावरण बनाउन सकिने उनको भनाइ छ । ‘सबै मिलेर काम गरौं, हामी पनि एक अर्कालाई सघाउने हो,’ उनले भने ।

बैंकरले टास्क फोर्सको माग गरेको सन्दर्भमा उनले सरकारले त्यसलाई मध्यनजर गर्ने बताए । निजी क्षेत्रको गुनासोबारे बोल्दै उनले भने, ‘तरलता छ, पैसा, रेमिट्यान्स बढेको छ, पर्यटक बढेको छ, तर, आर्थिक गतिविधि बढेन, लगानी बढेन ।’

रियल इस्टेटमा गएको लगानी समस्यामा परेको सन्दर्भ निकाल्दै उनले स–साना प्लटिङ धेरैमा लगानी जाँदा समस्या आएको बताए । आफ्नो लागि मात्र जग्गा किन्न नभई डेढ गुणा बढ्छ, दुई गुणा बढ्छ भन्ने लोभमा गरिएका स–साना लगानीले बढी समस्या निम्तिएको उनको भनाइ छ । यसलाई सल्टाउन कित्ताकाट खुला गरिएको उनले बताए ।

निर्माण क्षेत्रको आन्दोलनबारे बोल्दै उनले यसमा भने धेरै समस्या नरहेको बताए । जेठ र असारमा मात्र झण्डै ७० अर्ब भुक्तानी गरिएको र अब ७/८ अर्ब बाँकी रहेको भन्दै उनले यो रकम समेत प्रक्रिया मिलाएर भुक्तानी गरिने उनको भनाइ छ ।

बैंकरसँग के गरे अपेक्षा ?

अर्थमन्त्री डा‍. महतले बैंकर र व्यवसायीसँग दुई चरणमा छलफल गरेका थिए । पहिलो चरणमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैंकर्स स‌ंघका अध्यक्षहरुसँग उनले छलफल गरेका थिए । सो छलफलमा मन्त्रीका अतिरिक्त राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी तथा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकारद्वय डा. पोषराज पाण्डे र डा.  गुणााकर भट्ट पनि थिए । त्यस्तै, दोस्रो बैठकमा मन्त्रीले बैंकका सीईओहरुसँग मात्रै छलफल गरेका थिए ।

अर्थमन्त्री डा. महतले बैंकिङ क्षेत्रबाट अब ‘डिमान्ड इन्करेज’ गर्नु पर्ने अपेक्षा गरे । ‘तपाईंहरुको प्रतिस्पर्धात्मक स्पिड मेन्टेन गरेर, लगानीकर्ताका कन्सर्न सम्बोधन गर्दै अगाडि बढ्नुहोस,’ उनले भने ।

ऋण नतिरौं भन्ने सामाजिक सञ्जालमा उठ्ने अभियानलाई बढावा दिने पक्षमा भने सरकार नरहेको उनको भनाइ छ । राष्ट्र बैंकबाट दिने सुविधामा काम भइरहेको भन्दै उनले पोलिसी रेट घटेको र रियल इस्टेटको डिमाण्डलाई लयमा फर्काउन प्रयास गरिएको बताए । उत्पादनशील क्षेत्रमा लगानी बढाउने, आन्तरिक लगानीमा करको दर र्‍यासनलाइज गरिएको समेत उनले बताए ।

लगानीकर्तामा खर्च गर्ने आत्मविश्वास बढाउन नसकिएको भन्दै उनले वास्तवमै समस्यामा रहेका लगानीकर्तालाई केही सहज अवस्था बनाइदिन उनले बैंकर्ससँग आग्रह गरे । ‘यही मौकामा धितो सकारिहालौं भन्ने नगरौं, सम्पत्ति भएर पनि क्यासमा परिणत गर्न नसकेको गुनासो छ, उनले भने, ‘धेरै एग्रिसिभ नहुनुहोस् ।’

छलफलमा निजी क्षेत्रले उद्योगमा जग्गाको हदबन्दी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत खरिद गरिदिनुपर्ने माग गरेका थिए । साथै कर्जाको ब्याजदर घटाउनुपर्ने, सेयर कर्जा सजिलो बनाउनुपर्ने, कर्जामा आधार दरमा थप गर्ने अधिकतम प्रिमियम तोक्नुपर्ने माग निजी क्षेत्रले राखेका हुन् । पछिल्लो समय बैंकहरुले कर्जा असुलीका लागि आक्रामक रुपमा धितो लिलाम गरेको भन्दै निजी क्षेत्रले त्यसलाई केही समय रोकिदिन माग गरेका थिए ।

अहिले बै‌ंकहरुको ब्याजदर घट्दो क्रममा नै रहेकाले यो सामान्य बन्दै जाने विषयमा आफूहरुले बताएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । ‘अहिले ब्याज कम नै हुँदा पनि ऋण जान सकेको छैन त्यसो हुँदा ब्याज मात्रै समाधान होइन भनेर हामीले भन्यौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?