+
+

बालेनको दबाबपछि महानगर योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

बिहीबार डा. सुमननरिसंह राजभण्डारीलाई नियुक्ति गरिँदै

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन ३१ गते २१:०७

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् ।

खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् ।

योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरलाई बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।

खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।

परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताए । ‘मेयरसँग असझदारी भएर वा अन्य कारणले राजीनामा दिएको होइन,’ खड्काले भने । खड्काकै योजनामा महानगरपालिकाले चालु आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।

राजभण्डारीलाई उपाध्यक्ष बनाइँदै

बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो ।

महानगरको उपाध्यक्ष नियुक्त हुन लागेका डा. सुमननरिसंह राजभण्डारी (बीचमा) । साथमा मेयर बालेन (दायाँ) र महानगरका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल (बायाँ) ।

मेयर बालेनका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि राजभण्डारीनिकट हुन् । सन् २०१९ मा लम्सालले डिबी मल्टी इन्जियिरिङ कन्सल्टमा राजभण्डारीसँगै काम गरेका थिए । सोही बेला कम्पनीले लिभरपुल कलेज, दमक कम्प्लेक्स, पाँचखाल तरकारी बजारलगायतको डिजाइन गरेको थियो ।

राजभण्डारीको नियुक्तिमा स्वार्थको द्वन्द्व नहुने बालेनका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भने बताउँछन् । ‘नेपालमा स्ट्रक्चरल इन्जिनियर थोरै नै छन्, उहाँहरुलाई चिन्नु सामान्य नै हो । काठमाडौं महानगरले विभिन्न आयोजनामा काम गरेका विज्ञलाई नियुक्त गर्नु नौलो कुरा होइन’, लम्सालले भने । मेयर बालेनसँग चिनजान भए पनि उनीहरुले कहिल्यै सँगै काम नगरेको उनले बताए ।

चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । मेयर भएपछि बालेनले आयोगलाई थप बलियो बनाउँदै गएका छन् ।

योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ । महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारीले पाए सरह सेवा सुविधा पाउँछन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?